
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले फोहोरबाट मोहोर बनाउन आवश्यक पर्ने श्रोत प्रदेश सरकारबाट पाउने आशा राखेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रदेश सरकारले बजेट कर्णाली प्रदेश सभामा बजेट छलफलकै क्रममा छ ।
वीरेन्द्रनगर नगरपालिकाले नगरमा जम्मा हुने दशौं टन फोहोरलाई मोहोर बनाउन भन्दै ल्याण्डफिल्ड साईट व्यवस्थापन गर्ने भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. एक मा रहेको कृष्ण सामूदायिक वन उपभोक्ता समूहको क्षेत्राधिकारमा पर्ने तारे भीर क्षेत्रमा वीरेन्द्रनगरको फोहोर व्यवस्थापन गर्ने गरी नगरपालिकाले तयारी शुरू गरेको नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।
‘विगतमा वर्षायाममा वीरेन्द्रनगरको फोहोरलाई उक्त स्थानसम्म पुर्याउन असहज हुने गर्दथ्यो । अहिले पहुँचमार्ग सुधार भइसकेको छ,’ उनले भने, ‘सधैं गाडी फस्ने ल्याण्डफिल्ड साइट नजिकैको एक सय ३५ मिटर भिराला सडकको आरसीसि गरेका छौं । यसकालागि नगरपालिकाले ४५ लाख रुपैंयामा टेण्डर आव्हान गरेको थियो । आशिष निर्माण सेवाले ३० लाख ६९ हजार रुपैंयामा ठेक्का लिई ५० मिटर नालासहित उक्त सडकको निर्माण गरेको हो ।’
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले सामुदायिक बन क्षेत्रको जग्गाको भोगाधिकारका लागि नेपाल सरकारसँग माग गरि प्राप्त भइसकेको बताए । ‘हामीले पाँच विगाहा जग्गा भोगाधिकारका लागि सरकारसँग माग गरेका थियौं । उक्त जग्गा हाम्रो भोगाधिकार क्षेत्रमा आइसकेको छ,’ उनले भने, ‘अब थप पूर्वाधार विकासको काममा हामी अघि बढ्नेछौं ।’
नगरपालिकाले ल्याण्डफिल्ड साईट निर्माणको विस्तृत परियोजना (डिपीआर) निर्माण गरिसकेको छ । परियोजनामा तीन वटा चरणमा काम सक्ने गरी योजना बनाइएको छ । यसकालागि ३४ करोड ५४ लाख ९४ हजार १८७ रुपैंया लागत अनुमान गरिएको नगरपालिकाका इन्जिनियर विशाल अधिकारीले बताए ।
उनका अनुसार पहिलो, दोश्रो र तेश्रो गरी तीन चरणमा परियोजना सम्पन्न गर्ने योजना डिपीआरमा बनाइएको छ ।
पहिलो चरणका लागि २ करोड २७ लाख ३३ हजार ४१२ रुपैंया लागत अनुमान गरिएको छ । पहिलो चरणकालागि बजेट प्राप्त भइसकेको नगरपालिकाले जनाएको छ । प्रदेश सरकारले दुइ करोड ३५ लाख, एसएनभी नामक संस्थाले एक करोड र नगरपालिकाले ५० लाख बजेट व्यवस्थापन गरेका छन् । पहिलो चरणमा शौचालयको लेदो फोहोर व्यवस्थापन, कुहिने र नकुहिने फोहोरको व्यवस्थापन र कुहिने फोहोरबाट कम्पोष्ट मल निर्माण कार्य गरिनेछ । प्लाष्टिकजन्य फोहोरलाई डिस्पोजल पनि गरिनेछ ।
दोश्रो चरणमा सेक्यूरिटी गार्ड कार्यालय, पार्कींग स्थल, पाइपलाईन विस्तार, ट्रक एरिया निर्माण गर्ने, विद्युत पुर्याउने जस्ता महत्वपूर्ण भौतिक संरचना निर्माण गर्ने तयारी नगरपालिकाको छ । यसका लागि १९ करोड ९० लाख ८७ हजार ४२५ रुपैयाँ आवश्यक पर्ने देखिएको छ । यो काम अर्को वर्ष शुरू गर्नुपर्ने भएको बताउँदै नगरपालिकाले श्रोतको खोजी गरिरहेको उपप्रमुख मोहनमाया ढकालले बताईन । यस्तै तेश्रो चरणको काम सम्पन्न गर्नकालागि १२ करोड भन्दा बढी रुपैंया आवश्यक पर्ने उनको भनाइ छ ।
‘तेस्रो चरणको काम सम्पन्न गर्न १२ करोड ३७ लाख ७३ हजार ३५० रुपैंया आवश्यक पर्ने डिपीआरमा उल्लेख छ । यो २० बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य हामीले लिएका छौं । यहाँ विभिन्न संरचना बनाउने, फोहोर फाल्ने स्थानलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना पनि हामी यसमा पछि थप गर्नेछौं,’ उनले भनिन्, ‘अहिले हामी बजेटको खोजीमा छौं । नेपाल सरकार, प्रदेश सरकार, अन्य गैरसरकारी निकायसँग श्रोतका लागि सहयोग गर्न आव्हान गरिरहेका छौं । वीरेन्द्रनगरको फोहोरलाई कसरी मोहोरमा रुपान्तरण गर्न सकिन्छ भन्ने तिर हामीले ध्यान बढी केन्द्रीत गरिरहेका छौं ।’
उनले बजेट प्राप्त भएको खण्डमा सुर्खेतको फोहोरलाई पूर्ण रुपमा वैज्ञानिक व्यवस्थापन गर्न सकिने बताइन् । उनले प्रदेश सरकारले राजधानीको फोहोर व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्थापन गर्न तयार हुने अपेक्षा व्यक्त गरिन् ।