
म्याग्दी जिल्लाको धवलागिरी र मालिका गाउँपालिकामा गएको पहिरोमा बेपत्तामध्ये १७ जनाको शव भेटिएको छ भने ३ घाइतेको हेलिकोप्टरमार्फत उद्धार गरी अस्पताल पठाइएको छ ।
अविरल वर्षापछि शुक्रवार आएको पहिरोमा परी बेपत्ता मालिका गाउँपालिका–७ बिम दुलेबाट ७ जना र धवलागिरी गाउँपालिका–६ मराङ रिखाबाट १० जनाको शव फेला परेको छ ।
मालिकाबाट स्थानीय विष्णु पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, विष्णु नेपाली, सन्दीप नेपाली, वीरबहादुर नेपाली र वीरबहादुरका ३ महिने छोराको शव फेला परेको छ ।
मराङको पहिरोबाट स्थानीय सुकुना लामगादे, आशीष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र प्रकाश केसी (जनिमा केसीका १८ वर्षे छोरा) को शव निकालिएको छ ।
पहिरोबाट घाइते अवस्थामा उद्धार गरी मालिका–७ बस्ने ३६ वर्षीय पूर्णबहादुर नेपाली, धवलागिरी–६ बस्ने २२ वर्षीया मञ्जिता श्रीपाली र ७ वर्षीय सफल नेपालीलाई अस्पताल लगिएको छ । तीमध्ये पूर्णबहादुरको बेनी अस्पतलामा उपचार भइरहेको छ, उनी बोल्न सक्दैनन् ।
मञ्जिता र सफलको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि रेफर गरिएको छ । गर्भवती समेत रहेकी मञ्जिताको ढाँडमा समस्या देखिएको छ ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, जिल्ला प्रहरी प्रमख प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर लगायत नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली पुगी पहिरोमा बेपत्ता भएका व्यक्तिलाई स्थानीयको सहयोगमा खोजतलास गरेको थियो ।
पहिरोमा परेर घाइते भेटिएकाहरूलाई प्रभू एयरको हेलिकोप्टरमार्फत बेनी अस्पताल र पोखरा पठाइएको हो । अन्य बेपत्ताको खोजीकार्य जारी रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
धवलागिरी गाउँपालिका–६ का वडाध्यक्ष राजाराम सुवेदीले गाउँमा करीब ५०/६० ठाउँमा पहिरो गएको र उद्धारमा कठिनाइ भएको बताए । लोकान्तरसँगको कुराकानीमा उनले विपद्को घडीमा सघाउन सम्पूर्णमा आग्रह गरे ।
म्याग्दीका विभिन्न स्थानमा पहिरोको उच्च जोखिम भएका २२० जना मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । रघुगंगा गाउँपालिका–३ गलेशवर राहुँघाटखोला नजिकको बस्ती जोखिममा रहेका २१ घरधुरीका ८५ जनाको परिवारलाई नजिकैको गायत्री मन्दिरमा सारिएको छ ।
धवलागिरी–६ कल्लेरी जहरे बस्ने ८९ जना व्यक्तिको उद्धार गरी ५० जनालाई वडा नम्बर–७ शिवलिङ्गस्थित हेम मावि आश्रय दिइएको छ भने बाँकी आफन्तको आश्रयमा गएका छन् ।
मालिका गाउँपालिका–५ देवीस्थानका ३ घरधुरीका १३ जना र वडा नम्बर–६ दरबारचाउटाका ६ घरधुरीका ३३ जना गरी ४६ जनालाई जनप्रिय मावि दरबाङ सारिएको प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
भौगोलिक विकटता र प्रतिकुल मौसमसँगै उद्धारमा कठिनाइ र ढिलाइ भएको प्रहरीले जनाएको छ । शुक्रवार पनि त्यस स्थानमा उद्धारका लागि उडेको हेलिकप्टर मौसम खराबीले भिजिविलिटी अभावमा २ पटकसम्म फर्केको थियो ।