२८ असार २०८३, आइतबार

उपत्यकामा कोरोना नियन्त्रण प्रयास– कसरी हुँदैछ कन्ट्याक्ट ट्रेसिङ र २६ हजार स्वाब संकलन ?

आइसोलेसन कहाँ बनाउने भन्नेमा उपत्यकाका नगरपालिकाहरू अझै अन्योलमा
भदौ ९, २०७७
उपत्यकामा कोरोना नियन्त्रण प्रयास– कसरी हुँदैछ कन्ट्याक्ट ट्रेसिङ र २६ हजार स्वाब संकलन ?

मंगलवार काठमाडौं जिल्लामा रहेका १ महानगरपालिकासहित अन्य ९ नगरपालिकाका मेयरहरूको बैठक राष्ट्रिय सभागृहमा बसेको छ । 

बैठकले कोरोना संक्रमितका लागि बनाउनुपर्ने आइसोलेसनका बारेमा छलफल गर्दैछ । कुन नगरपालिकामा कति आइसोलेसन बनाउने भन्ने बारेमा छलफल भइरहेको कागेश्वरी महानहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले लोकान्तरलाई बताए । 

गत बिहीवार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौं उपत्यकामा रहेका ३ वटै जिल्लामा ६ हजार आइसोलेसन बेड निर्माण गर्ने निर्णय गरेको थियो । सरकारले निर्णय गरेको ५ दिनपछि उपत्यकाका मेयरहरू बल्ल तातेका छन् । 

'हामीले कहाँ–कहाँ आइसोलेसन बनाउन सकिएला भनेर छलफल गरिरहेका छौं,' कगेश्वरी मनहरा नगरपालिकाका मेयर थापाले भने । सोमवार बसेको उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको थियो । 

उपत्यकामा समुदायस्तरमा कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताएका थिए ।

परीक्षणका साथसाथै आइसोलेसन सेन्टर पनि निर्माण गर्नुपर्ने हुन्छ । केही दिनमा २६ हजारभन्दा बढी परीक्षण गर्ने निर्णय लिएको उपत्यका नगरपालिका फोरमलाई त्यस परीक्षणबाट प्राप्त हुने पोजिटिभ रिपोर्ट भएकालाई तत्काल आइसोलेसनमा राख्नुपर्ने चुनौती पनि छ । 

उपत्यकामा जहाँतहीँ आइसोलेसन निर्माण पनि सहज छैन । कतिपय ठाउँमा स्थानीयले विरोध गर्न सक्ने सम्भावना कायमै देखिन्छ । केही दिनअघि बानेश्वरमा स्थानीयले डाक्टरहरूलाई आफ्नो समुदायमा आउन निषेधसमेत गरेका थिए । 

कसरी हुन्छ २६ हजारको परीक्षण ?

आजबाट नै परीक्षणको प्रक्रिया शुरू भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका एक कर्मचारीले भने, 'परीक्षण प्रक्रिया आजबाट नै शुरू भएको छ । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका १८ वटा पालिकाका लागि एक/एक जना प्राविधिक तय गरिदिएको छ । ती प्राविधिकहरूलाई सम्बन्धित पालिकाको टीमले सहयोग गर्नेछ ।'

प्रत्येक पालिकाको टीमले फोकल पर्सनको नेतृत्वमा काम गर्नेछ । 

कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन भइसकेपछि परीक्षणका लागि पायक पर्ने प्रयोगशालामा लगिन्छ । 

परीक्षणमा संक्रमण भेटिएकालाई आइसोलेसनमा लैजाने प्रक्रिया पनि तत्काल गरिने ती कर्मचारीले बताए । 

त्यसैका लागि मेयरहरू आइसोलेसन सेन्टर निर्माणमा जुटिरहेका छन् । यद्यपि सरकारले ६ हजार आइसोलेसन निर्माण गर्ने भनेर निर्णय गरिसकेको एक साता बित्न लाग्दा पनि यो प्रक्रिया छलफलमै रहनु दुखद् छ । 

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले आफ्नो नगरपालिकामा २ हजारको परीक्षण गरिने बताए ।

'कुनै नगरपालिकामा २ हजार, कुनैमा ३ हजार गरेर परीक्षण गर्ने निर्णय भएको छ, मेरो नगरपालिकामा परीक्षण गर्नुपर्नेमध्ये सबैभन्दा पहिला संक्रमितको सम्पर्कमा आएका हुनेछन् भने दोस्रो प्राथमिकतामा लक्षण देखिएकाहरू पर्नेछन् ।'

उपत्यकामा कहाँ कति संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अद्यावधिक तथ्यांकअनुसार काठमाडौंमा हालसम्म २ हजार ७सय ७६ जना संक्रमित भेटिएका छन् भने यो संख्या ललितपुरमा ४ सय ४४ र भक्तपुरमा २ सय ८६ रहेको छ । 

उपत्यकामा सबैभन्दा बढी संक्रमित भेटिएको काठमाडौंमा हो । त्योमध्ये पनि काठमाडौं महानगरपालिकामा अझ बढी संक्रमित देखिन्छन् । सबैभन्दा बढी प्रभावित क्षेत्र कोटेश्वर र महाराजगञ्ज हो । हालसम्म यी दुवै क्षेत्रमा २ सय ५० भन्दा बढी संक्रमित फेला परिसकेका छन् । 

त्यस्तै काठमाडौंको सोह्रखुट्टे, कलंकी, बानेश्वर, महाबौद्ध, बालुवाटार, कालीमाटी, बागबजार, हाँडीगाउँ, लैनचौर, नक्साल डिल्लीबजार, स्वयम्भु, टेकु, चाबहिलजस्तै अन्य क्षेत्रहरूमा पनि संक्रमितको संख्या दोहोरो अंकमा देखिएको छ । 

देशको राजधानीसमेत भएकाले उपत्याकामा समुदायस्तरमै संक्रमण फैलिन नदिन संघीय सरकारले पनि यथेष्ट प्रयास गरिरहेको छ । कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरमा सदस्य रहेका एक मन्त्रीले देशको अन्य भागभन्दा बढी प्राथमिकता उपत्यकालाई दिनुपर्ने तर्क गरे । 

'उपत्यकामा पनि विशेष गरेर काठमाडौंलाई हामीले विशेष प्राथमिकतामा राखेका छौं,' उनले भने, '६ हजार आइसोलेसनको निर्माण गर्ने निर्णय गरियो । अहिले २५ हजारभन्दा बढी टेस्ट गर्ने प्रक्रिया थालनी भएको छ । उपत्यकामा समुदायस्तरमै कोरोना फैलियो भने नियन्त्रणभन्दा बाहिर जाने डर हुन्छ ।'

१५ गतेपछि केही सकारात्मक नतिजा प्राप्त हुन्छ कि !

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तथा सीसीएमसीका प्रवक्ता महेन्द्र गुरागाईंले पनि कोरोना रोकथाम र नियन्त्रणमा उपत्यकालाई प्राथमिकतामा राखेको बताए । गुरागाईंले लोकान्तरसँग भने, 'परीक्षण र आइसोलेसन निर्माणमा उपत्यकालाई फोकस गरिएको हो ।' 

एक हप्ताको निषेधाज्ञा सकिएपछि बल्ल काम शुरू हुँदैछ, पहिल्यै परीक्षण र आइसोलेसन निर्माणको तयारी किन गरिएन भन्ने लोकान्तरको अर्को प्रश्नमा उनले भने, 'परीक्षण भइरहेको छ । सबै काम सुचारू नै छन् । कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनको काम सबै स्वास्थ्य सेवा विभागले गरिरहेको छ । काम नै भएन भन्ने होइन ।'गुरागाईंले

जनताले चाहेको संख्यामा एकैचोटी परीक्षण गर्न ल्याबले पनि नधान्ने र आइसोलेसनको संख्या पनि पर्याप्त नभएको स्वीकार गरे । 'सबै काम सन्तुलित ढंगबाट नै भइरहेको छ,' उनले भने, 'एक दुई ठाउँबाट गुनासो के आएको छ भने पोजिटिभ भेटियो, अब त्यसको कन्ट्याक्ट ट्रेसिङ चाहिँ समयमै हुन सकेन भन्ने छ । त्यसलाई थप प्रभावकारी बनाउन हामीले निर्देशन दिएका छौं ।'

उनले अहिले पनि कतिपय ठाउँहरूमा सील गरिएको र निषेधाज्ञा जारी गरिएको भएपनि लक-डाउन चाहिँ नभएको बताए ।

'हामीले पटक–पटक भनेका थियौं, जहाँ संक्रमण बढ्छ त्यहाँ सील गरिन्छ । लक-डाउन सबैतिर गर्ने खालको कुरा भएको छैन भन्ने कुरा हामीले पहिलादेखि नै भनेका थियौं । अब थपिने ७ दिनको निषेधाज्ञापछि पहिलाका संक्रमित सबै निको हुन्छन् भन्ने डब्ल्युएचओको पनि भनाइ हो । १५ गतेपछि केही उपलब्धीमूलक सिनेरियो देख्न पाइएला,' उनले भने ।

निषेधाज्ञा थप एक साताका लागि थप्ने तयारी 

यसैबीच निषेधाज्ञाबारे थप निर्णय लिन आजै काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसिरहेको छ । बैठकमा निषेधाज्ञा र कोरोना नियन्त्रण र रोकथामका अन्य उपायका बारेमा छलफल भइरहेको स्रोतले लोकान्तरलाई बतायो ।

प्रमुख जिल्ला अधिकारीहरूको यसअघि भदौ ३ गतेको बैठकले संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ अनुसार एक साताका लागि निषेधाज्ञा जारी गरेको थियो । उक्त निषेधाज्ञा बुधवार रातिदेखि सकिँदैछ । 

स्रोतले दिएको जानकारीअनुसार निषेधाज्ञा थप एक साताका लागि लम्बिन सक्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्