
जस्मिता कार्की (२२) पोखरामा सञ्चालित एक होटलकी कर्मचारी हुन् । पोखराको मुख्य पर्यटकीयस्थल लेकसाइडको गौरीघाटस्थित सिटी पार्क होटल तीनतारे होटल हो । जस्मिता सो होटलको रिसेप्सनिस्ट पदमा कार्यरत छन् ।
रिसेप्सनिस्टको जिम्मेवारी सम्हालेको १ वर्ष भयो । होटलले उनीजस्तै कर्मचारीलाई उपलब्ध गराउने सेवासुविधा सन्तोषजनक थियो । जस्मिता पनि प्राप्त सेवासुविधामा खुशी नै थिइन् ।
पोखरामा डेराकोठामा बस्दै नोकरी गर्ने उनी महिना दिनमा थापेको तलबले घर व्यवहार चलाउँथिन् । बचेको केही पैसा गाउँ पठाउँथिन् । दिनचर्या ठीकठाकै थियो । यो कुरा हो कोरोनाले पर्यटकीय क्षेत्रमा प्रभाव पार्नु अघिसम्मको ।
तर एकाएक समय फेरियो । उनी अचेल फुर्सदिली भएकी छन् । होटल सञ्चालकले उनीजस्तै अन्य कर्मचारीलाई बेतलबी बिदामा बस्न भनेको छ । ‘केही समय बिदामा बस्नोस् पछि कोरोना महामारी प्रभाव हटेपछि केही महिनामै बोलाउँला’ भनेको ठीक ५ महिना बितिसक्यो । होटल सञ्चालकले पनि बोलाएका छैनन् । राहतको नाममा कहीँकतैबाट केही बुझैकी पनि छैनन् ।
अझ नेपालमा कोरोना संक्रमण दर जसरी बढ्दै गएको छ, जस्मिताको अभाव पनि त्यसैगरी चुलिँदै गएको छ । ‘जागिर नै चैट भयो । कहिले महामारी हट्ने होला खै ?’ जस्मिता गुनासो गर्छिन्, ‘पोखराको महंगीमा आम्दानीको बाटो नभएपछि बाँच्न पनि गाह्रो होला जस्तो छ । अब विकल्प खोज्नुपर्ला ।’
गोरखा जिल्लाको आरुघाटकी जस्मिता काठमाडौंमा ‘प्लस टू’ पढाइ पूरा गरेपछि जागिर खोज्दै गत वर्ष पोखरा आएकी हुन् । ‘प्लस टू’मा होटल म्यानेजमेन्ट पढेकी उनको पहिलेदेखि नै रुचि पनि होटल क्षेत्रमै काम गर्ने थियो । नभन्दै सिटी पार्कले कर्मचारी माग गर्दै खुलाएको विज्ञापनमा दरखास्त हालिन् । आफूले जानेको ज्ञानसीपका कारण लिखित र अन्तर्वार्ता परीक्षा दिइन् । रिसेप्सनिस्ट पदमा सुहाउने कुनै फिल्मको अभिनेत्री जस्ती लाग्ने जस्मिताले थालिन् रुचिको जागिर ।
घरपरिवारका सदस्य पनि छोरीले पोखराको राम्रो मानिने होटलमा जागिर गर्न थालेपछि खुशी बने । केही पैसा पनि आरुघाट रहेकी आमाको नाममा पठाउने गरेको बताइन् । तर जागिर खान थालेको १ वर्ष पनि नबित्दै कोरोना महामारीका कारण अन्यको जस्तै उनको दुर्दशा पनि शुरू भएको हो । पोखरामा बस्दा कोठाभाडा मासिक ५ हजार ५०० रुपैयाँ तिर्नुपर्छ । खानामा मासिक ५ हजार जति खर्च हुन्छ । केटी मान्छे शृङ्गारपटार र लुगाफाटोमा पनि खर्च हुने नै भयो । मोबाइल, इन्टरनेटको खर्च पनि चढ्छ । यसरी मासिक १५ हजार रुपैयाँ खर्च हुने उनको आम्दानी करीब २० हजार थियो । अचेल खर्च नघटे पनि आम्दानीको स्रोत टुटेको छ । कोठाभाडा नै झण्डै ३० हजार तिर्न बाँकी छ । घरधनीले १ महिनाको मात्र छुट गर्ने वचन दिएका छन् ।
‘आफन्त तथा छिमेकी कोही कसैले मायादयाले सँगै खाना खाऔं भन्छन् । सधैं बोलाउने कुरा पनि भएन । वर्ष दिनको तीज पोखरामै बित्यो । निषेधाज्ञाले कतै जान पनि पाइएन, खल्तीमा पैसा पनि भएन । अब गाउँ नै फर्किनुपर्ला जस्तो छ,’ दुःख र पीडासँगै गुनासोेको पहाड बोकेकी कार्कीले भन्छिन्, ‘हेरौं दशैंसम्म के हुन्छ ? होटलले बोलायो भने जानुपर्यो । अहिलेले त टिकटक बनाउनु र मोबाइल चलाउनुबाहेक खासै काम रहेन ।’
यो समस्या जस्मिताको मात्र हैन । पोखरामा उनीजस्ता करीब १५ हजार होटल कर्मचारी तथा कर्मचारीको जागिर कोरोनाका कारण खोसिएको छ । उनी काम गर्ने सिटी पार्क होटल सञ्चालक अशोक भण्डारीले पनि कोरोना महामारीले व्यवसाय नै चौपट भएको गुनासो गर्छन् । होटल खोलेर पुरानै अवस्थामा फर्किन निकै गाह्रो रहेको यही अवस्थाले अझै २ वर्षसम्म चरम संकट व्यहोर्नुपर्ने उनको अनुमान छ । २७ बेड रहेको होटलमा १९ कर्मचारी छन् । ‘केही सीमित कर्मचारी मात्र सरसफाइको लागि राखिएको छ । अन्यलाई सहज परिस्थिति आउँदासम्म कुर्न भनिएको छ,’ भण्डारी भन्छन्, ‘जस्तै कठिन अवस्था भई खानबस्नै नपाएका कर्मचारीलाई सम्पर्क गर्नू भनिएको छ ।’
पर्यटकीय क्षेत्रअन्तर्गत होटल, रेस्टुरेन्ट, ट्राभल, ट्रेकिङ, साहसिक गतिविधि, पर्यटन सवारी लगायत क्षेत्र पर्छन् । पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो लगानी होटल क्षेत्रमा छ । यहाँ पर्यटकीयस्तरका ४०० वटा होटल छन् । ती होटलमा कुल ३० हजार बेड छन् । चैत ११ गतेदेखि शुरू भएको १२० दिने लकडाउन र त्यसपछिको अवस्था समेत ज्यूँका त्यूँ हुँदा व्यवसायी अत्तालिएका छन् । बैंक तथा वित्तीय संस्थाले ऋण चुक्ता गर्न ताकेता गरेपछि देशको विषम परिस्थितिमा अवस्था बुझी दिन र समयसीमा बढाइदिन आग्रह गरेका छन् । पोखरा पर्यटन परिषद् पोखराका पूर्व अध्यक्ष एवं अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले मजदुर तथा कर्मचारी टिकाइराख्न सरकार र निजी क्षेत्र मिलेर जानुपर्ने बताए । उनले राज्यबाट २५ प्रतिशत, निजी क्षेत्रबाट २५ प्रतिशत व्यहोर्ने गरी बाँकी ५० प्रतिशत कर्मचारी तथा मजदुरबाटै तलब सुविधा छोड्ने गरी व्यवस्था मिलाउनुपर्ने बताए ।
कोरोना भाइरस प्रभावका कारण विगत ६ महिनायता पोखराको पर्यटन क्षेत्र नराम्ररी प्रभावित बनेको छ । यहाँको पर्यटन क्षेत्रमा समग्र ४ खर्बको लगानी गरेका व्यवसायीले कोरोनाकै कारण बैंकको किस्ता धान्न नसकेको र कर्मचारीलाई समयमै तलब खुवाउन नसकेको पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचनले बताए । तुलाचनका अनुसार पश्चिमाञ्चल होटल संघको रेकर्डमा यहाँका होटलमा महाप्रबन्धकदेखि कुचिकारसम्म गरी करीब १५ हजार जना कर्मचारी तथा मजदुर आवद्ध छन् । त्यसबाहेक प्रत्यक्ष–अप्रत्यक्ष रूपमा १ हजार ५०० जना कर्मचारी जोडिएको संघको तथ्यांक छ । लकडाउनपछि केही समय आंशिक रूपमा सीमित कर्मचारी राखेर २० प्रतिशत होटल खुले पनि पछिल्लो समय कास्कीमा निषेधाज्ञाका कारण १० दिनसम्म बन्द भए । अब सिजन आउनै लाग्दा पनि आन्तरिक एवं अन्तर्राष्ट्रिय हवाइ उडान नहुनु र लामो दूरीका सवारीसाधन नचल्दा पोखराको पर्यटन क्षेत्र धराशयी कहिलेसम्म हुने हुन्, अनिश्चित छ ।