ढुक्क हुनुहोस् कोरोना षड्यन्त्र होइन, महामारी नै हो : डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

जनस्वास्थ्य विज्ञ पाण्डे लोकान्तरका नियमित स्तम्भकार हुन् ।

चीनको वुहानमा गत डिसेम्बरमा सिटी स्क्यानबाट पत्ता लागेको कोरोना संक्रमणको महामारी विश्वका सबैजसो देशमा फैलिएको छ । हालसम्म करीब २ करोड ६१ लाख ८४ हजार ५ सय १२ व्यक्ति संक्रमित भएका छन् भने करीब ९ लाख व्यक्तिको मृत्यु भएको छ ।

कोरोना महामारीको कारण संसार अहिले भाइरस विरुद्धको युद्धमा होमिएको छ । महामारी नियन्त्रण गर्न विश्वका हरेक राष्ट्रले चालेका कदमको कारण एकातर्फ स्पेनिश फ्लूको महामारीमा जस्तो ठूलो मानवीय क्षति भएको छैन भने अर्कोतर्फ आर्थिक रूपमा विश्व ठूलो संकटमा फसेको छ ।


Advertisement

दैनिक काम गरेर परिवार पाल्ने आममानिस कोरोना महामारीको कारण अद्वितीय संकटमा फसेका छन् । यसको पार्श्वप्रभाव स्वरूप मनोसामाजिक असर तथा ‘कन्स्पिरेसी थ्योरी’को अर्को महामारी शुरू भएको छ । कैयौं व्यक्तिहरू कोभिडको कारण श्वास फेर्न नसकेर जीवन र मरणको दोधारमा छन् भने केही व्यक्तिले चर्चामा आउने मेलो वा यूट्युबबाट कमाउने धन्दामा रातलाई दिन भनेर आफ्नो मूर्खता प्रदर्शन गरिरहेका छन् ।

‘यो महामारी होइन, बहुराष्ट्रिय कम्पनीको षड्यन्त्र हो, पीसीआर टेस्टको काम छैन ...’ भन्ने लगायतका धेरै भ्रमको प्रचार शुरू भएको छ । यो प्रचारको कारण महामारीको त्रासमा रहेका व्यक्तिलाई थप संशय उत्पन्न भएको छ । यस्तो भ्रम किन र कसले फैलाएको छ भन्ने तथ्य बुझ्नु जरुरी छ । बहुराष्ट्रिय कम्पनीले अहिले एकाध डाक्टर (?) तथा जनस्वास्थ्य नबुझेका व्यक्तिलाई प्रयोग गरेर अनेक पुस्तक तथा पर्चा छपाएका छन् । उनीहरूले आफ्नो मार्केटिङ टीमलाई अनेक भ्रमका काल्पनिक प्रमाण पेश गरेर ‘ब्रेन वास’ गर्ने प्रयास गरेका छन् र यसमा केही हदसम्म सफल पनि भएका छन् । यो भ्रमको कारण उनीहरूको कम्पनीमा काम गर्ने मजदुरलाई मास्क तथा स्यानिटाइजर दिनुपरेको छैन । व्यक्तिगत दूरीको कारण उत्पादन क्षमतामा असर पर्ने भएकाले उनीहरूले यो पालना गर्नु पर्दैन भनेका छन् । उनीहरूले बजार प्रतिनिधिलाई समेत कोरोना सामान्य रुघाखोकी मात्र हो भनेर काममा लगाएका छन् । यो तथ्य हामीले बुझ्न जरुरी छ । यो ‘कन्स्पिरेसी थ्योरी’ले कसैलाई फाइदा गरेको छ भने बहुराष्ट्रिय कम्पनीलाई फाइदा गरेको छ ।


Advertisement

कुनै पनि रोग महामारी हो कि होइन भन्ने निर्क्योल गर्नको लागि तलका शर्त पूरा भएको हुनुपर्छ -

१. संक्रमण कति टाढासम्म फैलिएको छ ? महामारी धेरै देश, क्षेत्र तथा विश्वका अधिकांश देशमा फैलिएको हुनुपर्छ ।

२.    कति मान्छे प्रभावित भएका छन् ? महामारीमा ठूलो जनसंख्या प्रभावित भएको हुनुपर्दछ ।

३. के यो नयाँ रोग हो ? संक्रमण नयाँ हुनुपर्दछ, जसले गर्दा हाम्रो शरीरले यो रोगविरुद्ध एन्टीबोडी विकास गरेको हुँदैन । त्यसैले तीब्र गतिमा फैलिन्छ ।

त्यस्तै महामारी ठूलो क्षेत्रफलमा फैलिएको, ठूलो जनसंख्यालाई असर गरेको, मान्छे–मान्छेबीच तीब्र गतिमा फैलिएको, प्रायः सबैतिर संक्रमितको सानो वा ठूलो संख्याको मृत्यु भएको, सामाजिक तथा आर्थिक नोक्सानी गरेको हुन्छ ।

यी मापदण्ड पूरा भएको हुँदा कोरोना संक्रमणलाई वैश्विक महामारी भनिएको हो ।

महामारी घोषणा किन गरिन्छ ?

– अहिलेको युगमा विश्व एउटा गाउँजस्तो भएको छ । आज संसारको एउटा कुनामा भएको व्यक्ति भोलि अर्को कुनामा पुग्न सक्छ । हवाइजहाज, पानीजहाज तथा बसको माध्यमले ओहोरदोहोर हुन्छ । देशका सिमाना जोडिएका हुन्छन् । तसर्थ महामारी नियन्त्रणमा हरेक देशको भूमिका अनिवार्य भएकाले महामारी घोषणा गरिन्छ ।
– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थालाई उच्च सतर्कता अपनाएर तयारी तथा रोकथामका अभ्यास गर्नको लागि महामारी घोषणा गरिन्छ ।

– संसारभर फैलिएको महामारी नियन्त्रण एउटा देशको प्रयासले मात्र सम्भव हुँदैन । हरेक राष्ट्रले सामूहिक रुपमा काम गरे मात्र महामारी नियन्त्रण गर्न सकिन्छ । तसर्थ सम्पूर्ण राष्ट्रले जनचेतना प्रसार गर्ने तथा नियन्त्रणका उपाय अवलम्बन गर्ने व्यवस्था मिलाउनको लागि महामारी घोषणा गरिन्छ ।

अहिले यूट्युब तथा सामाजिक सञ्जालमा फैलिएका भ्रम र यसको निवारण 

– अहिलेको प्रतिस्पर्धी युगमा शक्ति राष्ट्रबीच ठूलो अन्तरविरोध छ । कुनै अमुक देश वा व्यक्तिले षड्यन्त्र गरेर संसार ठप्प गर्न सक्दैन । बहुराष्ट्रिय कम्पनीको व्यापार कोरोना महामारीको कारण डुबेको छ । अहिले खानेकुरा र अत्यावश्यक औषधिबाहेक हरेक क्षेत्रको व्यापार छैन । मास्क र स्यानिटाइजर प्रत्येक देशले आफ्नै देशमा उत्पादन गरेका छन् । लकडाउनले बहुराष्ट्रिय कम्पनीको व्यापार टाट पल्टेको छ । तसर्थ यो महामारीमा षड्यन्त्र गर्नुपर्ने र गरेको कुनै आधार छैन ।

– इटलीमा पीसीआर जाँचलाई प्रतिबन्ध लगाइएको भनेर गरिएको प्रचार सरासर गलत हो । अहिले पनि त्यहाँ दैनिक हजारौंको जाँच भइरहेको छ । इटालीमा ८६ लाखभन्दा धेरैको पीसीआर जाँच भएको छ ।

– बहुराष्ट्रिय कम्पनीले आफ्नो उत्पादन तथा बजारीकरणमा मजदुर तथा मार्केटिङ कर्मचारीलाई इटलीले भनेको भन्दै कोरोना ‘ब्याक्टेरिया’ भएको भिडियो भाइरल बनाएका छन् । प्रयोगशाला जाँचबाट कोरोना भाइरस भएको तथा यो सन् २००२ मा चीनमा फैलिएको सार्स र सन् २०१२ मा साउदी अरबमा फैलिएको मर्सकै फेमिली भएको पुष्टि भइसकेको छ । ब्याक्टेरिया भएको भए एन्टिबायोटिकले काम गर्ने थिए र यो महामारीको रूपमा फैलिने थिएन ।

– बुरुण्डी लगायत ५४ देशले डब्ल्यूएचओलाई निष्काशन गरेको तथा पीसीआर टेस्ट बन्द गरेको सत्य होइन । बुरुन्डीमा लगायत अत्यन्तै गरीब अफ्रिकी मुलुकमा परीक्षण दर निकै कम छ । बुरुन्डीमा २४ हजार ६५९ जनाको पीसीआर जाँच भएको छ । तान्जानियामा ५०९ जना संक्रमित छन् भने २१ जनाको कोभिडको कारण मृत्यु भएको छ ।

तुर्केमिनिस्तानमा मास्क प्रयोग गरिँदैन तथा १ जना पनि संक्रमित छैनन् भन्ने हल्ला झूटा हो ।तुर्केमिनिस्तान कडा शासन र बन्द समाज भएको देश हो । त्यहाँको रेडियो अज्यतकका अनुसार निमोनियाका कारण केही चिकित्सक तथा सयौं व्यक्तिको मृत्यु भएको छ । निमोनिया कोरोना भाइरसको कारण भएको भनेर त्यहाँका अधिकारीले जनाएका छन् । तुर्केमिनिस्तानले मास्क, दूरी र सफाइमा कडाइ गरेको छ । गत अप्रिलमा तुर्केमिनिस्तानले ३० हजार ‘टेस्ट किट’ किनेको थियो भने थप ४० हजार किट अर्डर गरेको त्यहाँका अधिकारीले जनाएका छन् । तुर्केमिनिस्तानसँग जोडिएका देशहरू इरान, काजकिस्तान, उज्वेकिस्तान तथा अफगानिस्तानमा कोरोना संक्रमण फैलिएको तथा त्यसको असरले गर्दा तुर्केमिनिस्तानमा पनि कोरोना संक्रमण व्यापक फैलिएकोतर बन्द समाज भएकाले तथ्यांक बाहिर नल्याएको भनेर छिमेकी राष्ट्रहरूले आलोचना गरेका छन् ।

– उत्तर कोरियाले आफ्नो तथ्यांक नदिए पनि गत महिनादेखि त्यहाँ कोरोना महामारी फैलिएको हुँदा स्वास्थ्य संकटकाल लगाइएको छ ।

– तान्जानियामा पीसीआर जाँच गर्दा भेंडा, बाख्रा, मेवा, कटहर आदिमा पोजिटिभ देखिएकाले बन्द गरिएको भनाइ अल्पज्ञानको उपज हो । पीसीआर जाँच कोरोना भाइरसको लागि मात्र गरिँदैन, हरेक वनस्पति, जीवाणु, फलफूल, जनावर, चराचुरुंगी तथा मान्छेको जिन अध्ययन गर्नको लागि प्रयोग गरिन्छ । तरकारी तथा फलफूलको गुणस्तर नियन्त्रणको लागि पनि प्रयोग गरिन्छ । पीसीआर भनेको मशिनमा जे राखिएको छ, त्यसको जाँच गर्ने स्याम्पलको फोटोकपी गर्ने तथा म्याग्निफाई गरेर देखाउने हो । त्यहाँ राखिएको जिन वा जीवाणु स्याम्पलसँग मिल्यो भने भने पोजिटिभ र मिलेन भने नेगेटिभ आउँछ । तान्जानियामा ५०९ जना कोरोना संक्रमित भएको र २१ जनाको मृत्यु भएको बताएको छ ।

– भियतनाममा मास्कलाई प्रतिबन्ध लगाइएको छ तथा त्यहाँ १ जना पनि संक्रमित छैनन् भन्ने भनाइ १००% गलत हो । भियतनाम यस्तो देश हो जहाँ ८८% जनताले मास्क प्रयोग गर्छन् । भियतनाममा अहिलेसम्म १० लाख ९ हजार १४५ जनाको पीसीआर टेस्ट गरिएको छ भने मास्क, दूरी, भीडभाड निषेध आदिको कारण १ हजार ४४ जना मात्र संक्रमित भएका छन् भने कोभिडको कारण ३४ जनाको मात्र मृत्यु भएको छ ।

– कोरोना महामारी सामान्य रुघाखोकी हो, यसको मृत्युदर ०.१ ५ मात्र छ भन्ने भनाइ गलत छ । कोरोना संक्रमणको मृत्युदर इटली र स्पेनमा ९.१२% सम्म पुगेको थियो भने अहिले यसको मृत्युदर औसत २.३% छ । कोरोना संक्रमितलाई भाइरल निमोनिया भएको, शरीरका विभिन्न ठाउँमा रगतको ढिका जमेको, अक्सिजनको कमीले गर्दा भाइटल अर्गान ( मुटु, मस्तिष्क, कलेजो, किड्नी आदि) फेल भएको घटना संसारभर प्रमाणित भएको छ । तसर्थ यसलाई कम आँक्नु जोखिमपूर्ण हुन्छ । 

– यसलाई रुघाखोकी मान्नेले बुझ्नुपर्ने हो, वर्षमा धेरैपटक लाग्ने रुघाखोकीले हालसम्म न यति धेरैको मृत्यु भएको थियो, न त आईसीयू र भेन्टिलेटर प्याक भएका थिए । एकपटक कोभिड बिरामी उपचाररत ठाउँमा गएर हेर्ने हो भने कोभिड कतिसम्म खतरनाक हुन सक्छ, महसूस गर्न सकिन्छ ।

– १९८४ मा पीसीआर मशिन जिनको अनुसन्धान गर्नको लागि आविष्कार भएको हो । त्यसयता पीसीआर मशिनका धेरै संस्करण निस्केका छन् । अहिले रोगको निदान तथा अनुसन्धान दुवैको लागि प्रयोग गरिन्छ । त्यो बेलाको ‘पेटेन्ट राइट’ अनुरूप ‘नट फर मेडिकल युज’ लेख्नुपर्ने हुन्छ । कोरोना संक्रमणको निदान सिटी स्क्यान, भाइरस कल्चर, एन्टीजेन किट, एन्टीबोडी किट आदिबाट पनि गरिन्छ ।

– इटालीले ९९% व्यक्ति अन्य रोगले मृत्यु भएको भनेको छ भन्ने कुरा निर्मम झूट हो । ३५ हजार ४ सय ९७ कोभिडको कारण मृत्यु भएको भनेर अहिले पनि सरकारी वेबसाइटमा हेर्न सकिन्छ ।

– कोरोनाको कारणले कसैको पनि मृत्यु भएको छैन, अन्य रोगले मृत्यु भएको हो । तर त्यसमा कोरोना पोजिटिभ देखिएको भन्ने भनाइ अवैज्ञानिक छ । कोरोना भाइरसले सर्पले टोकेर जस्तो मार्ने होइन, कोरोना भाइरसले हाम्रो प्रतिरक्षा प्रणालीमाथि हमला गर्दछ । प्रतिरक्षा प्रणाली बलियो भएका ९०% व्यक्तिलाई खासै असर देखिँदैन । बाँकी ७% लाई सघन उपचारबाट निको हुन्छ भने मुटु, फोक्सो, कलेजो, किड्नी लगायतका अंग कमजोर वा फेल भएको, क्यान्सरको तेस्रो वा चौथो स्टेजमा पुगेको बिरामी तथा कतिपय अटो इम्युन डिजिज भएका व्यक्तिमा रोगसँग लड्ने क्षमता एकदम कम हुन्छ । उनीहरूलाई कोरोना संक्रमण भएमा पहिले बिग्रिएको अंग फेल भएर मृत्यु हुन्छ । यदि कोभिड नभएको भए उनीहरू थप केही वर्ष वा धेरै वर्ष पनि बाँच्न सक्ने थिए ।

– कोरोनाका कारण नेपालमा १ जनाको पनि मृत्यु भएको छैन । तर लकडाउनको अवधिमा ३ हजारले आत्महत्या गरे भन्ने भनाइ असत्य हो । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार लकडाउन भएयता २ हजार २१८ जनाले आत्महत्या गरेका छन् भने गत वर्षको यही समयमा आत्महत्या गर्नेको संख्या यसको १०% मात्र कम थियो । आत्महत्या गर्ने व्यक्तिको दर हरेक वर्ष बढेको देखिन्छ । तसर्थ आत्महत्या जस्तो संवेदनशील विषयलाई अतिशयोक्तिको रुपमा प्रचार गर्नु हुँदैन ।

– मास्क लगाउँदा हामीले कार्बनडाइअक्साइडभित्र लिन्छौं, यसले गर्दा धेरैको ज्यान गएको छ भन्नु अज्ञानताको पराकाष्ठा हो । मास्कमा अक्सिजन लिने र कार्बनडाइअक्साइड फ्याँक्ने सुगमता हुन्छ । मास्क २४ सै घण्टा लगाउनुपर्ने होइन । घरमा बस्दा, एक्लै हिँड्दा तथा सुत्दा मास्क लगाउनु पर्दैन । कुनै मान्छेसँग भेट्दा मात्र मास्क लगाउने हो । त्यति मात्र होइन, १२–१८ घण्टा लगातार मास्क लगाएर बिरामीको सेवा गर्ने चिकित्सक तथा नर्स कसैको पनि मास्कको कारण मृत्यु भएको छैन ।

– स्यानिटाइजरको प्रयोग साबुनपानी नभएको ठाउँमा मात्र गर्ने हो । कसैकसैलाई एलर्जी हुनेबाहेक स्यानिटाइजरको कुनै असर हुँदैन ।

– जहाँसम्म भ्याक्सिनको व्यापारको कुरा छ, हरेक भ्याक्सिन उत्पादक देशले परल मूल्यमा मात्र खोप उपलब्ध गराउने घोषणा गरेका छन् । बिल गेट्स एण्ड मेलिन्दा फाउन्डेसन (जसले क्षयरोग, एचआईभी/एड्स लगायतका औषधि तथा विभिन्न खोपमा प्रतिवर्ष खर्बाैं दान गरेको छ) ले अल्पविकसित ९२ वटा देशलाई निःशुल्क वा नगण्य शुल्कमा खोप उपलब्ध गराउनको लागि जीएभीआई (ग्लोबल एलाइन्स अफ भ्याक्सिन एण्ड इम्युनिजेसन) लाई अर्बाैं डलर प्रदान गरेको छ । नेपालले पनि जीएभीआईमार्फत निःशुल्क वा ३ डलरमा खोप पाउने छ । खोपले अर्बाैं मानिसको जीवनलाई बचाउने छ । बिल गेट्सले खोपको ९५% खर्च आफूले व्यहोर्ने तथा ५% मूल्य मात्र सम्बन्धित देशले व्यहोर्नुपर्ने बताएका छन् ।

– संसारमा कोरोना संक्रमणको भन्दा मृत्युदर उच्च भएका धेरै रोग छन् । यो सर्वस्वीकार्य तथ्य हो । अहिले कोरोनाको महामारी चलेको हुँदा अन्य मृत्यु ओझेलमा परेका छन् । हामीले कोरोनालाई जस्तै सबै रोगलाई ख्याल गर्नु जरुरी छ ।

– कोरोनाको उपचारमा जडिबुटीको प्रयोगलाई बन्देज लगाइएको भन्ने कुरा गलत हो । चीन, भारत, श्रीलंका, मदागास्कर, नेपाल आदि देशमा आयुर्वेद औषधिको व्यापक प्रयोग र ‘क्लिनिकल ट्रायल’ गरिएको छ । पश्चिमा मुलुकमा पनि हाम्रा परम्परागत मसलाका चिया, क्यान्डी तथा अनेक रेसेपीको प्रयोग भइरहेको छ । बरु कतिपय नक्कली व्यक्तिले अनधिकृत रुपमा आफ्नो नामको अगाडि डा. लेखेर आयुर्वेद उपचारलाई बद्नाम गराउने प्रयास गरेका छन् । आयुर्वेद, योग, ध्यान लगायत अन्य चिकित्सा प्रणालीको आधिकारिक प्रयोग र वैज्ञानिक अनुसन्धानलाई अझै व्यापक गराउनु जरुरी छ ।

– प्रायः नयाँ भाइरसले लामो अवधिसम्म संक्रमण फैलाएको हुन्छ । त्यो संक्रमणले सामाजिक, आर्थिक तथा मानसिक रूपमा क्षति गरेको हुन्छ । महामारीमा रोग कति कडा छ ? मृत्युदर धेरै छ कि थोरै छ ? त्यसले अर्थ राख्दैन । यो कुन गतिमा फैलिएको छ ? त्यसले अर्थ राख्दछ । यो नयाँ रोगको कारण आर्थिक अवस्था नाजुक विन्दुमा पुगेको छ । जनजीवन रोकिएको छ । हाम्रो स्मृतिमा यस्तो संकट यति छिटो समयमा यत्रतत्र कहिल्यै आएको थिएन । यो महामारी कहिले तथा कसरी हट्छ भन्ने कुरामा हामी अनभिज्ञ छौं । त्यसैले हामी अनिश्चितताको भूमरीमा फसेका छौं ।

– लकडाउन वा निषेधाज्ञाको मोडेल संसारका अधिकांश देशले तयारीको लागि वा अचानक भइरहेको वृद्धि रोक्नको लागि प्रयोग गरिरहेका छन् । लकडाउन कोरोना महामारीको समाधान होइन, सरकारले नियन्त्रणको तयारी गर्न, नागरिकले मानसिक तथा भौतिक रुपमा तयार हुन र एक ठाउँमा फैलिएको महामारी अर्को ठाउँमा नपुगोस् भनेर लकडाउन गरिन्छ । लकडाउनका कारण हाम्रो समाजमा दैनिक काम गरेर खाने नागरिकको दयनीय अवस्था आएको छ । नागरिकलाई राहत दिने, जनचेतना विस्तार गर्ने, आम नागरिकले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्ने हो भने लकडाउन तथा निषेधाज्ञाको आवश्यकता हुँदैन । जनताको आर्थिक तथा मनोसामाजिक क्षति रोक्नको लागि वैकल्पिक उपाय अबलम्बन गर्नुको विकल्प छैन । जनतालाई रोग, भोक र शोकबाट बचाउनु सरकार तथा समाजको ठूलो दायित्व हो भने राज्यले तथा विज्ञले दिएका रोकथामका उपाय कडाइका साथ अबलम्बन गर्नु आमनागरिकको दायित्व हो । हामी फुटेर होइन, जुटेर मात्र यो महामारीको सामना गर्न सक्छौं ।

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्