
बागलुङमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय ६ पुगेको छ। स्वास्थ्य कार्यालयका अनुसार हालसम्म निको हुनेको सङ्ख्या दुई सय ७९ छ भने एक जनाको मृत्यु भएको छ।
आइसोलेसनमा रहेका सङ्क्रमितको सङ्ख्या २६ रहेको छ भने क्वारेन्टिनमा ७२ जना छन्। पछिल्लोपटक आइतबार काठेखोला गाउँपालिकका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
जिल्लामा पहिलो पटक गत चैत १५ गते कोरोना देखिएको थियो। जुन नेपालकै पाँचौ सङ्क्रमणको घटना थियो। त्यसयता अधिकांश भारतबाट आएका व्यक्तिमा कोरोना देखिए पनि पछिल्लो समय समुदायमा पनि सङ्क्रमित भेटिन थालेका छन्।
जिल्लामा अहिलेसम्म झण्डै सात हजारको पिसीआर परीक्षण गरिएको कार्यालयले जनाएको छ। सबैभन्दा बढी बागलुङ नगरपालिकामा ५४ र सबैभन्दा कम तमानखोला गाउँपालिकामा सात जनामा सङ्क्रमण देखिएको छ।