
देशका विभिन्न ठाउँमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार भइरहँदा पोखरामा समेत यो प्रविधिबाट उपचार हुने भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार कोरोना संक्रमितहरुको प्लाज्मा थेरापी विधिबाट उपचार शुरू हुने भएको हो ।
प्रतिष्ठानका निर्देशक सह प्राडा अर्जुन आचार्यले बिहीबार सूचना जारी गर्दै विश्वव्यापी परीक्षणको रुपमा रहेको प्लाज्मा थेरापी प्रविधि प्रतिष्ठानमा समेत सुरु हुन लागेको जानकारी दिँदै रक्तदान गर्न अनुरोध गरेका छन् ।
कोभिड– १९ बाट निसङ्क्रमित भएकाहरुले आफ्नो रिर्पोट नेगेटिभ आएको २ हप्तामा रक्तदान गर्न सक्ने बताउँदै उनले सो कार्यमा सहयोग गर्न आग्रह गरेका हुन् ।
रगतको सेता रक्तकोष, राता रक्तकोष, प्लेटलेस छुट्याएर बाँकी चिप्लो तरल पदार्थमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ । त्यसको प्रयोगबाट गरिने उपचार नै प्लाज्मा थेरापी हो ।