२८ असार २०८३, आइतबार
जडिबुटीप्रति जनचेतना

कोरोनाले ल्याएको सचेतना : दैनिक जीवनका सारथि बने बेसारपानी, गुर्जो र तुलसी !

भदौ २६, २०७७
कोरोनाले ल्याएको सचेतना : दैनिक जीवनका सारथि बने बेसारपानी, गुर्जो र तुलसी !

बुटवलका विवश रेग्मीले आजभोलि दैनिकजसो औषधिको गुण भएको गुर्जो पानीमा उमालेर हरेक साँझ एक गिलास पानी पिउँछन् । कोरोना महामारी शुरू हुनुभन्दा अगाडिसम्म जाडो महिना होस् या गर्मी खसी वा ‘मसरूम’ ‘सुप’ खाने उनले अहिले नियमित रूपमा बेसारपानी वा गुर्जोपानी पिउन थालेका छन् । 

मधुमेह र उच्च रक्तचापको समस्या भएका ३८ वर्षीय रेग्मी अहिले अन्य सुपभन्दा जडिबुटीको ‘सुप’ आफैँ बनाएर खाँदा फुर्तिलो बनेका छन् । रेग्मी भन्छन्, ‘कोरोनाभाइरसले दीर्घरोगलाई छिटो असर गर्ने भनेर चिकित्सकहरूले भनेपछि मैले जडीबुटीलाई आयुर्वेद चिकित्सकको सल्लाह अनुसार खान थालेको छु, यी चीजहरू खाँदा फुर्तिलो भएको महसूस आफैँले अनुभव गरें ।’ 

सैनामैनाकी गीता शर्माको पनि आजभोलि दैनिकी फेरिएको छ । बढी तौल भएर दैनिक ‘मर्निङ वाक’ मा निस्किने उनले आजभोलि घरकै छतमा योगा गर्छिन् ।

कहिले सितलचिनी, कहिले गुर्जो त कहिले बेसारपानी नियमितरूपमा सेवन गर्न थालेकी छिन् । उनी भन्छिन्, ‘शुरू–शुरूमा त कोरोना नेपालको पूर्व क्षेत्रमा फैलिँदा डर लागेन । अहिले रुपन्देही नै ‘रेडजोन’ मा परेपछि घरयासी जडिबुटीले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ भनेर घर आँगनमै हुने जडिबुटीलाई मिलाएर सेवन गर्न थालें, नचिनेका जडिबुटीका महत्त्व पनि बुझ्दै गए । स्वास्थ्यलाई पनि निकै फाइदा गर्‍यो ।’ 

बुटवल–११ का उमेश कुँवरलाई पनि तीन हप्ता अगाडि कोरोना संक्रमण देखियो । उनले आइसोलेसनमा बस्दा नियमित रूपमा अश्वगन्धा, गुर्जाे, अमला, लसुन, अदुवा, बेसार, तुल्सी र मह सेवन गरे । यी जडिबुटीले उनलाई खाना रुच्ने, निद्रा लाग्ने भयो र इम्युनिटी पावर त बढ्यो नै ।

उनी भन्छन्, ‘वास्तवमै हामीले जडिबुटीको महत्त्व बुझेका रहेनछौं । अहिले संक्रमणमुक्त भएर घर आएपछि पनि मैले बेसारपानी, गुर्जो, तुलसीपानी नियमित सेवा गरेको छु । यसले शरीरलाई निकै फाइदा पुर्‍याउने रहेछ ।’ 

यी केही उदाहरण मात्र हुन् । पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र रूपमा समुदायस्तरमा फैलिँदा परम्परागत औषधीय गुण भएका जडिबुटीको प्रयोग शहरी क्षेत्रमा बढी हुन थालेको छ । पहाड बाट जडिबुटी मगाएर यहाँका प्रत्येक घरमा खारेर खान थालिएको हो । जडिबुटी युवा होस् वा, वृद्ध/वृद्धाहरू सबैले सेवन गर्न थालेका छन् । 

आयुर्वेद औषधिप्रति चासो बढ्दै गएको छ । खानपिनमा सचेतना बढ्को छ । आधुनिकताका नाममा बढ्दै गएको अस्वस्थ  खानपिनप्रति महामारीले सचेत बनाइदिएको छ । पहाडी उत्पादन बिक्री वितरण गर्दै आएको पैँचो पसल प्रालिले अहिले हरेक दिन गुर्जो, सुठो र बेसार बुटवल ल्याउने गर्छ । प्रालिका सञ्चालक शरण कर्माचार्य भन्छन्, ‘अहिले हामीले दैनिकजसो १ देखि ३ क्विन्टलसम्म गुर्जो ल्याउँछौं । त्यो ल्याउँदाको दिन नै खपत भइहाल्छ । त्यस्तै बेसारको माग पनि बढेको छ । सित्तलचिनी, टिमुर, खुदोको पनि माग बजारमा बढ्दै गएको छ ।’

पैँचौंमा पहाडको तरकारीसँगै जडिबुटीको किन्नेहरूको पनि भीड लाग्ने गर्छ । 

रूपन्देहीमा कोभिड– १९ संक्रमण पुष्टि भएर आइसोलेसन वा होम आइसोलेसनमा रहेकाहरूलाई आयुर्वेदिक औषधि दिन थालिएको छ । ओखतीसँगै योगा ध्यान र जडिबुटीको प्रयोगले लागेको रोग छिटो निको हुन सघाउने आयुर्वेद क्षेत्रका जानकारहरू बताउँछन् । 

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाडौंका कन्सलटेन्ट तथा आयुर्वेद विज्ञ डा. मुमकर्ण थापाले कुनै पनि जडिबुटीले ‘साइड इफेक्ट’ नगर्ने भएकोले मात्रा मिलाएर जोसुकैले पनि खान सक्ने बताए । गुर्जोको मात्रा मिलाएर हरेक साँझ एउटा सानो टुक्रा पानीमा उमालेर खाएमा रक्तचाप कम गराउने र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने गर्छ ।

‘महामारी भएपछि नेपालमा जडिबुटीको खोजी बढ्यो,’ डा. थापाले भने, ‘संक्रमण भएर आइसोलेसनमा बसेकालाई पनि गुर्जो, तुलसी, चिया, तेजपत्ता, सुठो मिलाएर खान दिँदा उनीहरूले एक सातादेखि दश दिनभित्रमा कोरोनाको पीसीआर नेगेटिभ आएको पाइएको छ । राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान तथा तालिम केन्द्रले गरेको अनुसन्धानबाट पनि लक्षण नभएका र सामान्य लक्षण भएकाहरूले आयुर्वेद औषधि चलाएकाहरूले छिट्टै संक्रमण जितेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।’ 

रूपन्देहीका विभिन्न स्थानीय तहले पनि संक्रमितलाई घर–घरमा आयुर्वेद ओखती बोकेर घर–घरमा पुगेर वितरण गरेका छन् । संक्रमितको उपचारबारे विभिन्न देशमा परीक्षण भइरहेका बेला प्रदेश ५ मा आयुर्वेदिक औषधिको परीक्षण गर्ने तयारी छ । 

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले कोरोनाको सामान्य लक्षण देखिएका संक्रमितमा अहिले पनि केही आयुर्वेदिक औषधि दिइएको र औषधिको प्रभावबारे अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को टोली आएको बताए । अहिले खोजी भएका जडिबुटीलाई सबै प्रयोगमा ल्याउन सकेमा मानिसहरूलाई दीर्घरोग रोकथाममा सहयोग पुर्‍याउने काम गर्छ ।  

salt training

कमेन्ट गर्नुहोस्