
बुटवल । प्रदेश–५ को मन्त्रिपरिषद् बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको थियो । सो बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले क्याबिनेटका मन्त्रीहरुलाई नै आश्चर्यचकित बनाउने गरी प्रदेश राजधानी र नामकरणको प्रस्ताव ल्याए ।
मुख्यमन्त्रीले ल्याएको प्रस्तावका विषयमा अन्य मन्त्रीले प्रतिवाद गर्न सकेनन् । उसो त त्यतिबेलासम्म अन्य मन्त्रीहरुलाई एकाएक राजधानी र नामकरणको विषय कसरी आयो भन्ने कुुरा समेत थाहा थिएन ।
बिहीबार नै प्रदेश स्थायी राजधानी दाङको देउखुुरी बनाउने नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएअनुसार मुख्यमन्त्रीले प्रस्ताव अगाडि बढाएको बताइएको छ ।
सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले पार्टीले दाङलाई राजधानी बनाउने निर्णय गरेअनुसार मुख्यमन्त्रीले क्याबिनेटमा प्रस्ताव ल्याएको बताए । यद्यपी उनले एकाएक ल्याइएको प्रस्तावप्रति असन्तुष्टि जनाएका छन् ।
उनले भने, ‘पार्टी अध्यक्षद्वयले सहमति गरेपछि त्यही अनुसार मुख्यमन्त्रीले एकाएक राजधानी र नामकरणको प्रस्ताव क्याबिनेटमा लैजानुभएको रहेछ ।’
उनले थपे, ‘मुख्यमन्त्रीले क्याबिनेटमा ल्याएको प्रस्ताव किन आयो भनेर विरोध गर्न पाइएन । म मन्त्री भए पनि एउटा सांसद पनि हुँ । मेरो धारणा संसदमा राख्छु ।’ क्याबिनेट बैठकपछि प्रदेशसभामा समेत प्रस्तुत भइसकेको प्रस्तावको विषयमा सोमबार छलफल हुनेछ ।
नेकपा संसदीय दलको बैठक शनिबार
प्रदेश राजधानीको विषयले राजनीतिक माहोल तातिइरहेको बेला नेकपा संसदीय दलको बैंक शनिबार बस्ने बताइएको छ । राजधानीका विषयमा सत्तारुढ नेकपाभित्र अन्तरविरोध रहेका कारण शनिबारको बैठकलाई महत्वका साथ हेरिएको छ । यद्यपी पार्टीकै निर्णय भएकाले बागमती प्रदेशमै जस्तो अन्तिममा भोटिङ हुने बेला विद्रोह हुने सम्भावना कम रहेको पनि कतिपयको भनाइ छ । नेकपामा अहिले दुुई तिहाई बहुमत छ । ८७ सांसद रहेको प्रदेशसभामा ६० सांसद नेकपामा छन् ।
स्थायी राजधानीको प्रस्ताव आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले प्रदेशसभामा पेश गरेका थिए । प्रस्ताव आएसँगै विरोधका स्वरहरु समेत सुनिन थालेका छन् ।
प्रमुख प्रतिपक्षी दल कांग्रेस पूर्ववर्ती सरकारले घोषणा गरेको ठाउँ बुटवलमै राजधानी हुनुपर्ने पक्षमा रहेको छ भने उसले आन्दोलनमा उत्रिने समेत जनाएको छ । उसो काँग्रेसको भ्रातृ संगठन नेवि संघ आन्दोलनमा उत्रिसकेको छ ।
बुटवलमा विरोध भइरहँदा दाङमा भने खुसीयाली छाएको छ । विगतमा अस्थायी राजधानी तोक्ने समयमा समेत बुटवल र दाङमा आन्दोलन चर्किएको थियो ।