१३ असार २०८३, शनिबार
न्याश्रो नमेटी बिदा भयो दशैं

कोरोनाले खल्लो बनायो दशैं : वृद्धवृद्धाको गुनासो– छोराछोरी तथा आफन्तलाई आऊ भन्न पनि सकिएन !

कात्तिक ११, २०७७
कोरोनाले खल्लो बनायो दशैं : वृद्धवृद्धाको गुनासो– छोराछोरी तथा आफन्तलाई आऊ भन्न पनि सकिएन !

दैलेखको गुराँस गाउँपालिका वडा नं. ८  खनाराका हर्कबहादुर खड्कालाई यो दशैं इतिहासमा कहिल्यै नभएको दशैं जस्तो लाग्यो । उमेरले ७० कटेका खड्कालाई यो पालिको दशैं निकै खल्लो महसूस भयो ।

‘पहिले हामी सानो हुँदा दशैंमा मुखियाले टीका लगाइदिन्थे । पिङ खेल्थ्यौं, दक्षिणा थाप्थ्यौं,’ खड्काले दशैं अनुभव सुनाए, ‘अहिले मुखमा मास्क लगाउनुपर्ने बेला आएको छ । टाढा टीका थाप्न जान डर लाग्ने अवस्था आएको छ । मेरो जीवनमा यस्तो निरस दशैं यो पालि पहिलोपटक आएको हो ।’

छोराबुहारीलाई गाउँ आऊ भन्न पनि डर लागेको उनले सुनाए ।

***

गोपाल वली ७६ वर्षका भए । उतिबेला उनको घरमा चेलीबेटीको लर्को लाग्थ्यो । घटस्थापनादेखि नै उमंग छाउँथ्यो । घरमा नयाँ कपडा बुवाआमाले किन्नुहुन्थ्यो । त्यो कपडा साथीहरूलाई देखाउन पाउँदाको मज्जा बेग्लै हुन्थ्यो । तर यो पालि भने दशैं नै आएजस्तो लागेन रे उनलाई । वलीले लोकान्तरसँग भने, ‘दशैंभन्दा ठूलो ज्यान नै रहेछ भन्ने लाग्यो । त्यसैले यो वर्ष मैले चेलीबेटीलाई बोलाइनँ ।’

उतिबेलाको दशैं मनाउनका लागि तिकुनियामा घिउ बिक्री गर्ने गरेको उनको अनुभव छ । ‘उतिबेला वर्षमा एक दुईपटक हाट जान्थ्यौं । एक कन्टर घिउ तिकुनियामा लगेर ६५ रुपैंयामा बेच्थ्यौं’, उनले भने, ‘उतिबेला एक रुपैंयाको धेरै महत्त्व थियो, तर अहिले भने दशैं मनाउँदा हजारौं खर्च गरेपनि सन्तुष्टि मिल्दैन ।’

दशैंजस्तो महान पर्व परिवारका सबै भेला भएर मनाउन नपाउँदा खल्लो लागेको उनले सुनाए ।

***

वीरेन्द्रनगर नगरपालिका ७ का ८० वर्षीय कमल शाहीको यो दशैं अनुभव भिन्न रह्यो । ‘मैले पनि यो पालिको दशैंमा अनौठो अनुभव लिएँ । विदेशमा बसेको छोरो घर आउन चाहेर पनि आउन सकेन । टीका लगाउन लगाएर मोबाइलबाटै आशीर्वाद दिएँ,’ उनी भन्छन्, कोरोनका कारण आफन्तहरू पनि टिका थाप्न आएनन्, दशैं त कस्तो खल्लो भयो । न्याश्रो लाग्यो ।’

उनले यो पालिको दशैं केही खल्लो भएपनि कोरोनाबाट जोगिन सरकारले गरेको आग्रह ठीकै भएको बताए ।

‘जो जहाँ छौं त्यहीँबाट दशैं मनाउन भनेर सरकारले भनेको रहेछ, यो सरकारको राम्रो काम हो जस्तो लाग्छ,’ उनले भने ।

यसपालिको दशैं किफायती पनि भएको उनको बुझाइ छ ।

लत्ताकपडा खासै किनेनन्, टीकाटाला घरमा मात्रै सीमित भयो सोही कारण खर्च भने तुलनात्मकरूपमा कम भएको शाहीले बताए ।

अब तिहार भने यस्तो नहोस् भन्ने उनको चाहना छ ।

‘तिहार यस्तो नभइदिए हुन्थ्यो, चेलीबेटीको हातबाट फूलमाला लगाउन पाइएला कि नपाइएला भन्ने चिन्ता लागेको छ,’ शाहीले भने ।

यी त प्रतिनिधि पात्र मात्र हुन्, धेरैको दशैं यो पालि भिन्न भएको छ । वृद्धवृद्धाहरू आफ्नो जीवनकालमा यस्तो दशैं कहिल्यै अनुभव नगरेको बताउँछन् ।

कमेन्ट गर्नुहोस्