
आख्यानकार गगनसिंह थापाको सातौं कृति ‘मरुभूमिकी महारानी’ यसै हप्ता सार्वजनिक हुने भएको छ ।
साहित्यकार थापाका नाति सुहिम थापाले कृतिको कभर सार्वजनिक गर्दै सार्वजनिक हुनेबारे जानकारी गराएका हुन् ।
उनले भनेका छन्, ‘मेरो हजुरबुवा मेरो परिवार र समाजका आदर्श हो र मानवता के हो र के हुनुपर्छ भन्ने ज्वलन्त उदाहरण हो । शिक्षा, साहित्य, प्रजातान्त्रिक आन्दोलन, समाज विकास र प्रकृति संरक्षणमा उहाँको योगदान अतुल्य रहेको छ । हाम्रो समाज, सभ्यता र संस्कृतिको ज्ञानको अद्भूत खानी हो र प्रेरणादायी लेखक पनि । एउटा कलम र सादा कपी सँगै उहाँले आफ्ना पाठकहरूलाई मस्तिष्क र आत्माको यात्रामा हिँडाउन सक्ने खुबी राख्नुहुन्छ । मेरो देशको लागि मैले देखेको सपना विषयको अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगिताबाट मैले पाएको पुरस्कार रकम जुन मेरो जीवनको पहिलो आय हो, हजुरबुवाको यो कृति मरुभूमिकी महारानी प्रकाशनमा लगाउन पाएकोमा म साह्रै नै खुशी छु । किनकि मेरो हजुरबुवा मेरो आदर्श हो र म उहाँको एक असल विरासत बन्न चाहन्छु ।’
थापाको लघु उपन्यास स्वरूपको कृतिमा बाल्यकालमा अध्ययनको क्रममा भारतको राजस्थानमा रहँदाका दुःख र संघर्ष अनि बालसखासँगको मनोवैज्ञानिक प्रेमिल आकर्षण र मरुभूमिको रोमाञ्चक वर्णनको कथावस्तु बुनिएको छ ।
विक्रम संवत् २००५ भदौमा अछामको पाटेखेतमा जन्मिएका आख्यानकार थापाका सोह्र सौगात (२०३५), कर्णालीको छेउछाउ (२०७०), पू्र्खाको चिट्ठी (२०७२), मेरो मधुशाला (२०७४), उज्ज्वली (२०७६) र महाप्रलय (२०७७) गरी ६ कृति प्रकाशित छन् भने मरुभूमिकी महारानी र अस्ताञ्चलको ढोकाबाट गरी थप २ कृतिहरू प्रकाशनको क्रममा छन् ।
मूलतः कर्णाली र सुदूरपश्चिम क्षेत्रको भाषा, सभ्यता र संस्कृतिमाथि कलम चलाउने कैलाली टीकापुरका थापा मोबरा साहित्यिक पुरस्कार (२०७३) र सुदूरपश्चिम साहित्य पुरस्कार (२०७६) बाट समेत सम्मानित भइसकेका छन् ।