
नेपाली सन्तोष साह मास्टर सेफ बीबीसी प्रोफेसनलको सेमिफाइनलमा पुगेका छन् । नेपाली खानालाई विश्व बजारमा चिनाउने सोचका साथ लागेका साहले लन्डनमै बसेर विगत ५ वर्षदेखि नेपाली परम्परागत खानाको सोध तथा अनुसन्धान शुरू गरेका थिए ।
उनी जुन प्रतिस्पर्धामा भिडिरहेका छन्, त्यहाँ खानालाई आधुनिक शैलीमा प्रस्तुत गरिएको छ, जसले गर्दा निर्णायकको मन छोएको छ ।
उनले सिस्नो, कर्कलाको पात, भाङको अचार, टिमुर, सिस्नो, आलुको तरकारी, भेडाको मासु, पोलेको माछा, खसीको मासु, थेबेको साग, तामाको अचार, गहुँको रोटी, ढुम्रीभित्र आलुको अचार राखेर नेपाली परिकार, तराईको बुनिया, जेरी लगायतका खाना पस्केका थिए । जुन अत्यन्त नौलो र भिन्न देखियो, कलात्मक पनि देखियो ।
दर्जनौं विदेशी सेफहरूलाई पछाडि पारेर जसरी उनले सेमिफाइनल प्रवेश गरे, तब सर्वत्र विश्वभर उनको नाम चर्चा शुरू भयो । उनले प्रतियोगितामा जुन आट र साहस लिएर नेपाली खानाको प्रचारप्रसार र प्रबद्र्धन गरे, अहिले विश्वभरका नेपालीले उनको सराहना गरेका छन् र भनेका छन् । उनले यो स्थान हासिल गर्नु भनेको उनले प्रतियोगिता जिते बराबर भएको छ । प्रतियोगितामा साहले आफ्नो पाक–कलाको सर्वश्रेष्ठ नजिता दिन सफल भएका छन् ।
साहले प्रतियोगितामा जानको लागि विगत ५ वर्षदेखि अभ्यासरत थिए । ‘मैले विगत २ दशकदेखि भारतीय खाना र अन्य देशको खानाको सोध र अनुसन्धानमा बिताएँ । अब मैले आफ्नो देशका लागि पनि केही गर्नुपर्छ भन्ने लागेर शुरू गरेको हुँ । म निरन्तर मेरो देशको खानाको सोध, अनुसन्धानमा लागेर हाम्रो खानालाई चिनाउने प्रयास गर्छु,’ उनले लन्डनबाट फोनमा भने ।
खाना भन्ने कुरा आफ्नो देशको कला संस्कृतिसँग प्रत्यक्ष सम्बन्ध राख्ने हुँदा हामीले हाम्रो देशको स्वाद विश्वलाई चखाउनु पनि अतिआवश्यक छ । नेपाल कला संस्कृतिमा जति धनी छ, त्यतिकै खानामा पनि धनी देश हो । मात्र हाम्रो खाना विश्वसामु चिनाउन सकिएको थिएन । सन्तोष साहको कदमले धेरै हदसम्म नेपाली खाना विश्व बजारमा चिनिने आशा राखिएको छ ।
उनले बनाएको करेलाको चटनीलाई एक चिजमा ५ थरिको स्वाद भएको चटनी भनेर स्टार चटनीको नाम दिइएको छ । नेपाली मूलका ब्रिटेनमा बसोबास गर्ने सेफ सन्तोष बीबीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठित हस्पिटालिटी क्षेत्रको टीभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेसनल यूके प्रतियोगिता २०२०’को १६ औं संस्करणमा सेमिफाइनलमा पुग्ने सम्भवतः पहिलो नेपाली हुन् ।

को हुन् सन्तोष साह ?
नेपालको सिरहा जिल्लामा जन्मिएका सन्तोष साह आफ्नो आर्थिक अवस्थाको कारण गाउँमै पाउरोटी, प्लास्टिकको झोला बेचेर गुजारा गर्थे । एसएलसीमा फेल भएका साह १४ वर्षको कलिलो उमेरमा कामको सिलसिलामा भारत छिरेका थिए । तर आफ्नो साहस र मेहनतका कारण ‘किचन पोर्टर’बाट रोजगारी थालेका साहले १० वर्षभन्दा कम अवधिमा ‘इन्स्टिच्यूट अफ क्याटरिङ एण्ड होटल म्यानेजमेन्टबाट ‘डिप्लोमा इन होटल एण्ड क्याटरिङ म्यानेजमेन्ट’ कोर्स मात्र गरेनन्, भारतीय कम्पनीमा करीब ८० कामदारको हेड सेफ समेत बनेर काम गरेका थिए ।
सन् २०१० मा उनलाई ‘वर्क परमिट’सहित बेलायत जाने अवसर मिल्यो । उनले त्यहाँ भारतीय रेस्टुरेन्ट तथा होटलमा थप १० वर्ष काम गर्ने अवसर मिल्यो । पछिल्लो समयमा आएर नेपाली खानाको खोज तथा अनुसन्धान गर्नुपर्छ भनेर लागेका साहले पहिलो पटकमै विश्वलाई चकित तुल्याए । नेपाली परम्परागत खानालाई मोडर्न तरिकाबाट पस्कन सिपालु भएका कारण उनले सफलता पाउन कुनै गाह्रो भएन । यो प्रतियोगितामा पनि उनले बनाएको करेलाको नेपाली चटनीलाई एउटै चिजमा ५ स्वाद पाइएको भनी स्टार सेफ मोनिकाले स्टार चटनी भनी नाम दिइएकी छिन् ।
नेपालका विविध परिकारहरू बनाएर बेलायतका प्रख्यात ‘फूड क्रिटिक’हरू टम पार्कर र ग्रेस डेन्टलाई चखाएपछि विश्व चकित भएको थियो । अब विश्वले नेपाली पाक–कला र खानाका विषयमा हेर्ने नजर पनि फेरिएको छ । तपाईंले यूकेको किचनमा नेपाल ल्याउनुभयो भनी निर्णायकहरू दंग परेका थिए । उनी यहाँसम्म आइपुग्दा पनि आफूलाई सफल भएको मान्छन् । ‘मेरो सपना भनेको नेपाली खाना विश्वसामु चिनाउनु थियो, चिनाउन सकेकोमा खुशी छु,’ उनले भने ।
आफ्नो मेहनत, लगन, सधैं अरुलाई सम्मान गर्ने र कहिल्यै ठूलो नहुने गुणले नै यति कलिलो उमेरमा सफल सेफ बनेर देशको नाम उँचो राख्न साह सफल भएका छन् ।