
मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहोरालाई पदबाट हटाएपछि सुदूरपश्चिम प्रदेश सरकारमा पनि सत्ता समीकरणको खेल शुरू भएको छ ।
पर्ख र हेरको अवस्थामा रहेको यहाँको राजनीति मन्त्रीको बर्खास्तगीपछि निकै पेचिलो बन्दै गएको हो ।
नेकपा भित्रका प्रचण्ड–माधव नेपाल र केपी ओली पक्ष दुवै आफूलाई बलियो बनाउने होडबाजीमा छन् ।
भौतिकपछि अर्थमन्त्रीको पालो
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठान बोहरालाई बर्खास्त गरिएको छ ।
नेकपा विभाजित भएपछि मन्त्री बोहरा ओली पक्षमा लागेका थिए । यद्यपि बर्खास्तगीमा परेका मन्त्री बोहराले आफ्नै पद धरापमा रहेका मुख्यमन्त्रीले दबाबमा परेर आफू हटाएको प्रतिक्रिया दिइसकेका छन् ।
अब आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराको पद पनि धरापमा परेको छ । हालसम्म प्रदेश अर्थमन्त्री बोहरा कुनै पनि गुटमा नखुले पनि केपी नेतृत्वको समूहको केन्द्रीय सदस्यमा मन्त्री बोहराको नाम छ ।
स्रोतका अनुसार केपी ओली गुटका भौतिक पूर्वाधार मन्त्रीलाई हटाइएपछि अर्थमन्त्रीलाई पनि हटाउने दबाब मुख्यमन्त्री त्रिलोचन भट्टमाथि परेको छ ।
त्यसो त मन्त्री बोहराले राजीनामा दिने चर्चा पनि चलिरहेको छ ।
यही बेला मुख्यमन्त्री भट्टले उनलाई लाइन क्लियर गर्न निर्देशन दिइसकेको स्रोतले जनाएको छ । मुख्यमन्त्रीको सचिवालयका एक कर्मचारीले भने, ‘अर्थमन्त्री बोहराको जवाफ आएपछि उनलाई के गर्ने भन्ने निर्णय हुनेछ ।’
आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले भने, ‘म दुःखको घडीमा छु, किनकि पार्टीले जनतासामु गरेको प्रतिबद्धता पूरा गर्न सकेन । म कुन खेमातिर भन्ने सबालमा के भन्न चाहन्छु भने अहिले कित्ताको कुरा गौण हो । म अझै पार्टी एकताको पक्षमा छु ।’
सत्ता गिराउने र टिकाउने रणनीति
५३ सदस्यीय प्रदेश सभामा सभामुखसहित नेकपामा ३९ सदस्य छन् । बहुमतका लागि २७ सांसद चाहिन्छ ।
नेकपाका ३९ सांसदमध्ये केही दिन अघिसम्म प्रचण्ड–नेपाल पक्षमा ३४ सांसद थिए । केपी पक्षतिर ५ जना मात्रै सांसद खुलेका थिए ।
पछिल्लो समय नेताहरूले समीकरण परिवर्तन गर्न लागेसँगै ओली समूहमा १४ जना रहेको दाबी गरिँदै आएको छ ।
ओली निकट एक प्रदेश सभा सदस्यले भने, ‘सुदूरपश्चिम सरकार परिवर्तन हुन्छ, यसका लागि गृहकार्य गर्दैछौं । पूर्व माओवादी नेता लेखराज भट्ट ओलीतिर आएकाले फेरबदल हुनसक्छ ।’
अबको दुई–तीन दिनमा यो संख्या १८ पुर्याउने ओली समूहको दाबी छ ।
स्रोतको दाबीलाई विश्वास गर्ने हो भने अनुसार लेखराज पक्षका ९ सांसद ओली पक्षमा लागेका छन्, तर उनीहरू खुलिसकेका भने छैनन् ।
नेकपाका ३९ मध्ये १४ सांसद ओलीतिर जाँदा प्रचण्ड नेपाल पक्षमा २५ सांसद मात्रै हुनेछन्, जसले गर्दा सरकार अल्पमतमा पर्ने देखिएको छ ।
‘सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १२ र राजपाका दुई सांसद छन् । प्रचण्ड–ओली पक्षका मुख्यमन्त्री भट्टलाई सरकार जोगाउन ओली पक्षतिर लाग्न थालेका सांसदलाई रोक्ने वा कांग्रेस र राजपाको समर्थन जुटाउनुपर्नेछ,’ ओली निकट ती सदस्यले भने ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय सांसद कम भए पनि उनीहरूले सरकार बनाउन कांग्रेस र राजपालाई गुहारिरहेका छन् ।
कांग्रेसलाई मुख्यमन्त्री सहितको प्रस्ताव ओली समूहले दिएको छ । सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने उक्त समूहको चाहना छ ।
एक प्रदेश सभा सदस्यले भने, ‘कांग्रेस र जनता समाजवादीसँग सहकार्य गरेर हामी सरकारको नेतृत्व गर्छाैं ।’
त्रिलोचन भट्ट नेतृत्वको सरकार असफल पार्ने रणनीतिमा ओली समूह छ भने आफूतिरका सांसदलाई केपी गुटमा जानबाट रोक्ने रणनीतिमा प्रचण्ड–नेपाल समूह लागिरहेको छ ।
अर्का एक प्रदेश सभा सदस्यले भने, ‘तत्काल अब खाली रहेको भौतिक मन्त्रालयको जिम्मेवारी कसैले पाउँदैन, मुख्यमन्त्री भट्ट सांसदहरूलाई मन्त्री बनाउने आश्वासनमा आफ्नै पक्षमा पारिराख्ने योजनामा छन् ।’
बर्खास्त गरिएका मन्त्रीको विषयमा नयाँ मन्त्री नियुक्तिको बारेमा छलफल हुन बाँकी रहेको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले बताए ।
बोहरा पदमुक्त भएसँगै अब संस्थापन पक्षले भौतिक पूर्वाधार विकास मन्त्री कसलाई बनाउला ? भन्ने चासो बढेको छ ।
नेकपा सुदूरपश्चिमका प्रमुख सचेतक तारा लामा तामाङ, सचेतक अक्कल रावल, पूर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारी लगायतका प्रदेशसभा सदस्यहरू भौतिक पूर्वाधार विकास मन्त्री बन्ने दौडमा छन् ।