१९ असार २०८३, शुक्रबार

‘साइकल यात्री’ भरतको स्वास्थ्य पुनर्जीवन सँगसँगै नाम र दाम

पुस १८, २०७७
‘साइकल यात्री’ भरतको स्वास्थ्य पुनर्जीवन सँगसँगै नाम र दाम

कैलालीका भरतविक्रम शाह ‘साइकल यात्री’ नामले पनि परिचित छन् । गोदावरी नगरपालिका–८ मजगाउँका ४१ वर्षीय शाह साइकल प्रेमी हुन् ।

देशभित्र हुने दर्जनौं साइकल प्रतियोगितामा उनले भाग लिइसकेका छन् । प्रतियोगितामा मात्रै नभएर उनी दैनिक जीवनमा सबैभन्दा बढी साइकलसँगै नजिक छन् ।

भरतका हरेक गतिविधि साइकलमय हुने गरेका छन् । उनको सामाजिक सञ्जाल पनि साइकलमय छ, तस्वीरमा साइकल, स्टेटसमा साइकल र शेयर पनि साइकलसँगै सम्बन्धित मात्रै हुन्छन् ।

समकक्षीहरू बुलेट बाइकमा हुइँकिदा भरत भने साइकललाई नै आफ्नो सहयात्री भन्छन् । ‘सबैले मोटरसाइकल किन्न हत्ते गर्दा म भने भिन्नभिन्न साइकल किन्न र त्यसैमा यात्रा गर्न रुचाउँथे,’ उनले भने, ‘यसैबाट म आफूलाई र मेरो राष्ट्रलाई चिनाउन चाहन्छु ।’ 

साइकलले दिएको पुनर्जीवन

१२ वर्षअघि भरतलाई ‘प्यारालाइसिस’ भयो । वयस्क उमेरमा उठबस गर्नै नसक्ने भएपछि परिवार र आफन्त सबै चिन्तित भए । गरिखाने उमेरमा न गर्न, न खान सक्ने भए भरत । चिकित्सकले पुरानो अवस्थामा फर्कन निकै कठिन रहेको बताए ।

उनी र उनको परिवारमा भरत निको हुने झिनो आशा बाँकी नै थियो । ‘बैसाखी सहारा बन्ने बेला मेरो सहारा साइकल भयो । बिस्तारै–बिस्तारै साइकलमै सवार हुन थालें । असम्भव पनि सम्भव भयो,’ प्रशन्नता व्यक्ति गर्दै भरतले भने, ‘केही वर्षभित्रै म पहिलेभन्दा बढी स्वस्थ र तन्दुरुस्त भएँ ।’

साइकलले उनको ज्यान मात्रै बचाएन, नाम र दाम कमाउने माध्यम पनि बन्यो । आफैं प्यारालाइसिससँग जुधेका भरत स्वास्थ्यका लागि साइकलको प्रयोग सबैभन्दा उत्तम भएको बताउँछन् । 

उनी भन्छन्, ‘हामी रोगी भयौं भने उपचार शुरू गर्छौं तर रोग नै लाग्न नदिन केही गर्दैनौं । हाम्रै दिनचर्यामा केही सुधार ल्याउन सके रोगबाट टाढा रहन सकिँदो रहेछ ।’

यसरी शुरू भयो साइकल यात्रा

सन् २०१७ मा ‘काठमाडौं कोरा साइकल च्यालेन्ज’मा भरत सहभागी भए । संसारका उत्कृष्ट साइकलिस्टहरूसँग १०० किलोमिटर साइकल चलाएका भरतले यसैलाई आफ्नो गन्तव्य बनाउने सोचे । उनले भने, ‘त्यो नै मेरो पहिलो ठूलो कदम थियो ।’ स्थानीय क्षेत्रमा सामान्य रूपमा साइकल चलाइरहने भरत त्यही बेलादेखि यसैमा समर्पित भए ।

त्यसपछि २०१८ मा हेटौंडामा ७५ किलोमिटर साइकल चलाए । त्यो बेला उनले पहाडी क्षेत्रमा साइकल चलाएका थिए । नेपालगञ्जमा भएको प्रथम मेयर कपमा १९० जनालाई उछिने । ‘मलाई अतिथिको रूपमा बोलाइएको थियो तर साइकल देखेपछि नचलाई रहन सकिनँ,’ उनले भने, ‘म प्रतिस्पर्धीका रूपमा सहभागी भइनँ तर त्यो प्रतियोगितामा प्रथम भएका व्यक्तिलाई मैले ५ किलोमिटर पछाडि छोडेको थिए ।’

नेपालगञ्जबाट कोहलपुर हुँदै फेरि त्यहीँ पुग्ने गरी ३७ किलोमिटरको साइकल यात्रा शुरू गरिएको थियो । भरतले त्योभन्दा पहिले सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्र खप्तडमा साइकल पुर्‍याएका थिए । स्थानीय विवश शर्मा र खगेन्द्रसिंह धामीसँग उनले खप्तडमा पहिलो पटक साइकल पुर्‍याएका हुन् । धनगढीबाट खप्तडको दूरी ३०० किलोमिटर छ । साइकल यात्रीहरू ४ दिनमा खप्तड पुगेका थिए ।

गत मसिंर १ गते उनी आफ्नै घरबाट साइकलमा डोटीको बडिकेदार गाउँपालिकास्थित बडिकेदार धामको दर्शन गर्न पुगे । उनी भन्छन्, ‘म पहिलो पटक २ हजार ९०० फिटको उचाइमा साइकलबाट पुगे । त्यहाँ पुग्न मलाई ४ दिन लाग्यो ।’ 

कैलालीको अत्तरियादेखि बडिकेदारको दूरी १३० किलोमिटर छ । दूरी धेरै नभए पनि भौगोलिक विकटताले त्यहाँसम्म पुग्न सहज छैन । ४ दिनमा खप्तड पुगेका उनी संसारको सबैभन्दा सुन्दर ठाउँमा पुगेको जस्तो लागेको बताउँछन् । निकै कठिन यात्रा गरेर खप्तड पुगेका उनले त्यहाँ पुगेपछि स्वर्गको भूमि पुगेको आभास गरेको बताए ।

त्यसपछि उनी डोटीको बीपीनगरबाट गड्सेरा, जोरायल हुँदै बुडर पुगेका थिए । त्यसलगत्तै उनी डडेल्धुरा पुगे । उनले भने, ‘रावलतोली गुफा, घटाल बाबा, अमरगढी किल्ला, सबै ठाउँमा साइकल पुर्‍याएको छु । साइकलमा धार्मिक क्षेत्रमा पुग्नुको मज्जा नै बेग्लै हुँदो रहेछ ।’

उनी तीर्थराज अवस्थी र सुधीर गुरुङसँग डडेल्धुराको आलितालसम्म साइकलमै पुगे । आफ्नो साइकल यात्रा सम्झँदै उनी भन्छन्, ‘खप्तडमा कहिल्यै साइकल पुगेको थिएन । हामीले पहिलो पटक पुर्‍यायौं । बडिकेदारसम्म अझै धेरै वर्ष अरूले साइकल पुर्‍याउने सोच पनि गर्दैनन् जस्तो लाग्छ । सारै जोखिम छ । ५ घण्टा ठाडो उकालो छ । हिँड्न नै कठिन छ । त्यसैमाथि साइकल बोकेर हिँड्नु कहाँ सजिलो छ र ?’

त्यति मात्रै होइन, उनी बाजुराको बडिमालिका समेत साइकलमै पुगिसकेका छन् । ‘७ दिनसम्म साइकल चलाएर बाजुरा पुगें,’ उनले भने, ‘त्यहाँबाट साइकल बोकेर ४ दिनभित्रै बडिमालिका पनि पुगें ।’

साइकलबाटै पर्यटन प्रवर्द्धन

सुदूरपश्चिम प्रदेशमा साइकलको माध्यमबाट पर्यटन प्रवर्द्धनका प्रयासहरू भइरहेका छन् । सुदूरपश्चिममा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुदूरपश्चिम साइकल यात्रा २०७५’ आयोजना भयो । त्यसमा पनि सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा भरतले अहम् भूमिका खेले ।

हाल बर्सेनि राष्ट्रिय साइकल यात्रा हुने गरेका छन्, तिनमा सहभागिता जनाएर पनि भरतले सुदूरपश्चिमको पर्यटनको प्रचारप्रसार गरिरहेका छन् । उनी साइकलको माध्यमबाट सुदूरपश्चिमलाई चिनाउन सकिने बताउँछन् । ‘यहाँका मठ मन्दिरसम्म पुग्ने सबैभन्दा गतिलो साधन साइकल नै हो । यसको माध्यमबाट तीर्थयात्री बढाउन सकिन्छ,’ उनी भन्छन्, ‘सुदूरका ठूला तीर्थस्थलसम्म ठूला साधन जान नसक्ने हुँदा यसको गतिलो माध्यम साइकल बन्न सक्ने विश्वास छ ।’

‘अहिले पनि देशमा विभिन्न क्षेत्रबाट साइकल टूरको माग बढिरहेको छ । तर यहाँ त्यसको पूर्ण व्यवस्थापन हुन सकिरहेको छैन,’ उनी भन्छन्, ‘सबै निकायको सहयोग भए सुदूरपश्चिम प्रदेश साइक्लिङको लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ । भगवान्को दर्शन पनि गर्न मिल्ने ‘एडभेन्चर’ पनि हुने सुदूरका सबै मन्दिरमा पुग्ने हो भने दुवै फाइदा लिन सकिन्छ ।’

पहिलो चरणमा देशभित्र प्रदेश चिनाउने र त्यसपछि परदेशमा देश चिनाउने भरतको लक्ष्य छ । आगामी योजनाबारे बताउँदै भरतले भने, ‘सुदूरपश्चिम प्रदेशको सबै जिल्ला र ठाउँमा पुग्छु । १५–२० दिन लगाएर साइकलमै सुदूरपश्चिम भ्रमण गर्ने हो भने पूरै देश घुमेकोभन्दा बढी आनन्द आउँछ ।’ 
व्यावसायिक रूपमा सुदूरपश्चिममा साइकल रुट छैन । कतिपय रुटको पहिचान भरतले गरिसकेका छन् । यसबारे सरकारी निकायबाट कुनै पहलकदमी भएकै छैन । भरत भने रुट पहिचानको कामलाई निरन्तरता दिने योजनामा छन् ।

कैलालीको अत्तरिया हुँदै डोटीको बुडरबाट डडेल्धुराको परशुरामधाम हुँदै कञ्चनपुरको बेटकोट, दैजी र त्यहाँबाट पुनः कैलालीको अत्तरिया पुग्न सकिने उनले पहिचान गरेको रुट हो । ३ दिनको लागि यो सबैभन्दा उत्तम रुट हुने भरतको ठम्याइ छ । यसको दूरी करीब १९० किलोमिटर छ । उनी भन्छन् ‘यसलाई अन्तर्राष्ट्रिय रुट बनाउन सके सबैभन्दा सुन्दर र ‘एडभेन्चर’ हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्