पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
फागुन ११, २०७७
चीनले विश्वलाई कुन दृष्टिकोणले हेर्छ र उसको रणनीति के हो भन्ने विषयमा संसारका सबै प्रमुख शक्तिहरूको चासो छ । विशेषगरी संसारको दोस्रो ठूलो अर्थतन्त्र बनिसकेको र छिट्टै नै पहिलो अर्थतन्त्र बन्न लागेको चीनका विषयमा चासो हुनु स्वाभाविक छ ।
चीनको सोच उसका रणनीतिक दस्तावेजहरू अध्ययन गर्दा थोरबहुत भेउ पाइन्छ । त्यसै सन्दर्भमा यही फेब्रुअरी महिनाको आरम्भतिर अमेरिकाको अलाबामा एयर युनिभर्सिटीअन्तर्गत चाइना एयरोस्पेस स्टडीज इन्स्टिच्युटले एक प्रतिवेदन सार्वजनिक गरेको छ । त्यसको शीर्षक छ– सैन्य रणनीतिको विज्ञान (२०१३) । चिनियाँ भाषामा त्यसको शीर्षक ‘चान्ल्वे स्वे’ हो ।
यस प्रतिवेदनलाई चीनको एकेडमी अफ मिलिटरी साइन्सले तयार पारेको चिनियाँ भाषामा लेखिएका रणनीतिक दस्तावेजहरूबाट अंग्रेजीमा अनुवाद गरिएको हो ।
त्यसको विश्लेषण भारतको प्रभावशाली थिंकट्यांक अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ) का कल्पित ए मंकिकर र कार्तिक बोम्मकान्तिले गरेका छन् । मूल प्रतिवेदन र ओआरएफका लेखकहरूको विश्लेषणलाई यहाँ प्रस्तुत गरिँदैछ । यसै विषयमा सन् २०१७ मा भारतका सैन्य ब्रिगेडियर इकबाल सिंह सम्यालले पनि युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डिया जर्नलमा पनि विश्लेषण गरेका छन् ।
प्रतिवेदनमा नेपालको प्रसंग खासै आएको छैन । पृष्ठ ८० मा नेपाल शब्द उल्लेख गरिएको छ । भारतले नेपाललाई आफ्नो सुरक्षाको दृष्टिकोणबाट हेर्ने गरेको प्रसंगमा नेपालको उल्लेख भएको मात्र छ ।
तर यस प्रतिवेदनले भारतको सैन्य रणनीतिका विषयमा गरेको आकलनमा नेपाल लगायत भारतका छिमेकी मुलुकप्रति भारतको दृष्टिकोणका विषयमा बुझ्न मद्दत गर्ने देखिन्छ ।
सन् २०१३ मा निस्केको प्रतिवेदनको चर्चा आठ वर्षपछि गर्नु असान्दर्भिक हुँदैन किनकि प्रतिवेदनले औंल्याएका कतिपय कुराहरू अहिले देखिन थालेका छन् । विशेषगरी चीनले अमेरिका तथा भारत (तथा दक्षिण एसिया) का विषयमा बनाएका धारणाहरूलाई मात्र यहाँ चर्चा गरिँदैछ ।
दोस्रो ठूलो अर्थतन्त्र बनेदेखि चीनले उपयोग गर्ने भाषाशैलीमा परिवर्तन आएको देखिन्छ । चीनका पूर्व राष्ट्रपति हु चिन्ताओले देशको शान्तिपूर्ण उदयमा जोड दिने गरेका थिए भने बहालवाला राष्ट्रपति सी चिनफिङले सैन्य मजबूती तथा आक्रामकतालाई केन्द्रमा राख्ने गरेका छन् ।
राष्ट्रपति बनेदेखि नै सीले चिनियाँ जनमुक्ति सेनालाई युद्धका लागि तयार रहन भन्ने गरेका थिए । नेपाल भ्रमणमा आएका बेलामा उनले सबै किसिमका पृथक्तावादीहरूको जिउ कुच्याउने र हड्डी भाँच्ने भनी निकै आक्रामक अभिव्यक्ति दिएका थिए ।
सन् २०२० को अक्टोबर महिनामा सीले देशको सर्वोच्च सैन्य संस्था सेन्ट्रल मिलिटरी कमिसनलाई चिनियाँ जनमुक्ति सेनाका जवानहरूको तालिममा सुधार ल्याउन निर्देशन दिएका थिए ताकि उनीहरू युद्ध जित्न सफल होऊन् ।
त्यसको एक महिनाअघि चिनियाँ कम्युनिस्ट पार्टीको प्लेनम बैठकमा राष्ट्रिय रक्षा क्षमताको आधुनिकीकरणलाई तीव्रता दिने प्रस्ताव पारित गरिएको थियो ।
त्यसैले पनि प्रतिवेदनको अध्ययन महत्त्वपूर्ण छ किनकि यो प्रकाशित भएकै समयतिर राष्ट्रपति सी चिनफिङ सत्तामा आएका थिए । सीले शक्तिशाली सेनाको समर्थन पाएको बलियो मुलुक बनाउने प्रतिज्ञा गरेका छन् ।
प्रतिवेदनमा उल्लेख गरिएअनुसार, १९औं शताब्दीदेखि अमेरिकी सैन्य रणनीति विस्तार र प्रभुत्वमा केन्द्रित रहेकोे छ । एक्काइसौं शताब्दी शुरू भएदेखि प्रत्येक अमेरिकी राष्ट्रपतिले विश्वव्यापी प्रभुत्वलाई मजबूत बनाउनका लागि प्रयास गरेका छन् । अमेरिकाको सर्वोच्चतालाई चुनौती दिने मुलुकहरूलाई दमन गर्ने काम पनि उनीहरूले गरेका छन् ।
सन् २०१३ को यस प्रतिवेदनमा अमेरिकाले एसिया प्रशान्तमा प्रभुत्व मजबूत बनाउन पूर्वी एसिया तथा पश्चिमी प्रशान्त क्षेत्रमा साझेदारी मजबूत बनाउने पूर्वानुमान गरिएको थियो । त्यसलाई सत्य साबित गर्दै अमेरिका, भारत, जापान र अस्ट्रेलियाबीचको क्वाडले महामारीपछि गति पाएको छ ।
अमेरिकाले हिन्द प्रशान्त क्षेत्रमा प्रभुत्व कायम गर्ने प्रयासका विषयमा चीनको नेतृत्व तथा रणनीतिकारहरू चनाखा छन् । चिनियाँहरूको बुझाइमा विश्व व्यवस्था एकध्रुवीयबाट बहुध्रुवीय बाटोमा गइरहेको छ भने अमेरिकाले साझेदारहरूको सञ्जालमार्फत यसलाई प्रतिकार गर्ने कोशिश गर्दैछ ।
चीनले शक्ति सन्तुलन प्राकृतिक रूपमा पश्चिमबाट पूर्वतर्फ सरेको मानेको छ । तर पूर्वका मुलुकहरूसँग सहकार्य र प्रतिस्पर्धा एकैसाथ गर्ने चीनको रणनीति छ ।
प्रतिवेदनमा उल्लेख भएअनुसार, अमेरिका र चीनबीच सम्बन्ध विच्छेद तथा भिडन्तको सम्भावना छैन जसरी पहिलो शीतयुद्धमा अमेरिका र रुसबीच भएको थियो । चीन र उसका छिमेकी मुलुकहरूसँगका भिन्नतालाई बाहिरी शक्तिले दुरुपयोग गर्न सक्ने सम्भावना चाहिँ चीनले देखेको छ ।
छिमेकमा कुनै संकटको स्थिति आउँदा त्यसलाई रोकथाम, नियन्त्रण र व्वस्थापन गर्ने र त्यस संकटलाई सैन्य द्वन्द्व तथा युद्धमा परिणत हुन नदिने प्रयास चीनले गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । राष्ट्रिय विकासका लागि राम्रो सुरक्षा वातावरण निर्माण गर्नुपर्ने भएकाले युद्धका जोखिमलाई निवारण गर्नुपर्ने त्यसमा लेखिएको छ ।
अनि सैन्य सफलता हासिल गर्नका लागि विशाल स्तरको रणनीतिक आक्रमणमा जोड दिने र त्यसमा जलसेना लगायत सबै सैन्य विभागको संयुक्त प्रयास रहने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अमेरिकापछि भारतका विषयमा चीनले कस्तो दृष्टिकोण राखेको रहेछ भनी चर्चा गरौं ।
प्रतिवेदनका अनुसार, भारतको सैन्य रणनीतिमा चारवटा आधारभूत स्वरूप देखिन्छन् । पहिलो, भारतले आफूलाई एसियाको भूराजनीतिक केन्द्रका रूपमा लिने गरेको छ । बेलायती उपनिवेशबाट स्वतन्त्र भएदेखि नै भारतले आफ्नो राष्ट्रिय स्वार्थलाई भूराजनीतिक सोचमार्फत निर्धारण गर्ने गरेको छ र त्यसैअनुरूप राष्ट्रिय सुरक्षा तथा सैन्य रणनीति बनाउने गरेको छ ।
आफू एसियाको मुटु भएको भनी भारतले जोड दिने गरेको छ र हिन्द महासागर भारतको सागर भएको बताउने गरेको छ । अनि उसले दक्षिण एसियालाई आफ्नो प्रभावक्षेत्रका रूपमा लिने गरेको छ र केही छिमेकी मुलुकहरूले भारतको भूराजनीतिक अभीष्ट हासिल गर्न बाधा गरिरहेको भनी विश्वास गरेको छ ।
उसले आफू केन्द्रमा रहँदै दक्षिण एसियालाई रणनीतिक आधार बनाउन खोजेको छ र यसैमार्फत हिन्द महासागरको व्यवस्थापन तथा नियन्त्रण गर्न चाहेको छ ।
दोस्रो, भारतले बेलायती उपनिवेशबाट विस्तारवादी सोचको विरासतलाई अँगालेको छ । कश्मीर, नेपाल, सिक्किम, भुटान र असमलाई भारतको रक्षारेखा (इन्टरनल लाइन्स अफ डिफेन्स) का रूपमा लिने गरेको छ ।
स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले दक्षिण एसिया र हिन्द महासागरलाई भारतको सुरक्षा घेराका रूपमा लिँदै क्षेत्रीय सुरक्षा नीति अंगीकार गरेका थिए ।
यसका साथै भारतले कौटिल्यको मण्डल नीतिबाट प्रभावित हुँदै छिमेकीहरूलाई शत्रुका रूपमा लिने र मत्स्य न्याय अपनाउने गरेको भनी प्रतिवेदनमा उल्लेख गरिएको छ ।
तेस्रो, भारतले आक्रामक रणनीति अपनाएको प्रतिवेदनमा लेखिएको छ । दक्षिण एसियामा प्रभुत्व जमाउने, हिन्द महासागरलाई नियन्त्रण गर्ने अनि संसारको शीर्ष दर्जाको शक्ति बन्ने अभीष्ट पूरा गर्नका लागि भारतले यो रणनीति अपनाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पाकिस्तानसँगको युद्ध, चीनसँगको सीमाविवाद र श्रीलंकामा तमिल विद्रोह दबाउन सेना पठाउने कामलाई प्रतिवेदनले यस्तो आक्रामक रणनीतिको उदाहरणका रूपमा प्रस्तुत गरेको छ ।
चौथो, साना छिमेकीहरूविरुद्ध भारतले दण्डात्मक निवारण (प्युनिटिभ डिटरेन्स) को नीति बनाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । भारतको स्वार्थविपरीत साना मुलुकहरू नजाऊन् र भारतको नियन्त्रणलाई विनम्र भई स्वीकार गरून् भनी उसले दण्डात्मक निवारणको रणनीति अपनाएको छ । नेपालले चीनसँग हतियार किनेको निहुँमा २०४५ सालमा लगाएको नाकाबन्दीलाई यसै आलोकमा हेर्नुपर्ने हुन्छ ।
चीनसँग भने भारतले निवर्तक (रक्षात्मक) निवारणको रणनीति अपनाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । अर्थात् चीनलाई भारतविरुद्ध सैनिक उपयोग नगराउन उसले कदम चाल्ने गरेको छ र चीनलाई आफ्नो प्रभावक्षेत्र अर्थात् दक्षिण एसियामा प्रवेश गर्न नदिन प्रयास गरेको छ । तर सैन्य शक्ति बढाउँदै लगेमा भारतले चीनविरुद्ध पनि आक्रामक गतिविधि गर्न सक्ने भनी प्रतिवेदनले उल्लेख गरेको छ ।
ओआरएफका मंकिकर र बोम्मकान्तिका अनुसार, भारतले विशाल रणनीति अर्थात् ग्य्रान्ड स्ट्राटेजी अपनाएको र कार्यान्वयन गरिरहेको आकलन चीनले गरेको प्रतिवेदन अध्ययन गर्दा देखिन्छ । तर भारतीय रणनीतिकारहरू आफैंले देशको विशाल रणनीतिमा तदर्थवाद र असंगति अपनाउने गरेका छन् भनी लेखकद्वय आलोचना गर्छन् ।
नेपालले चीन र भारतका रणनीतिहरूको गहन अध्ययन गरी त्यसैअनुरूप आफ्नो परराष्ट्रनीति अपनाउन जरूरी छ । बदलिँदो विश्व परिवेशमा पुरातनपन्थी नीति अपनाएर राष्ट्रिय सुरक्षा स्वार्थ पूरा गर्न सकिँदैन ।
देशको भूराजनीतिक परिस्थितिलाई मद्देनजर गरी छिमेक नीतिमा गतिशीलता ल्याउनका लागि पनि चिनियाँ रणनीतिक प्रतिवेदनको अध्ययनले नेपाललाई झक्झक्याउन सक्छ ।
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...