![उहाँहरू चीलतिर औंला देखाएर कुखुरा चोर्ने दाउमा हुनुहुन्छ– घनश्याम भुसाल [अन्तर्वार्ता]](https://lktcdn2.prixacdn.net/media/Ghanshyam_Bhusal_pHC2wMKxCr.jpg)
सत्तारूढ दल नेकपा एमाले यतिबेला विभाजनउन्मुख देखिन्छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार झलनाथ खनाल-माधव नेपाल पक्षलाई खबरै नगरी महत्त्वपूर्ण निर्णय लिएका थिए ।
ओलीले एकलौटीरूपमा महाधिवेशनको मिति तय, केन्द्रीय समितिमा मनोनयन लगायतका निर्णय गरेपछि खनाल-नेपाल पक्ष रुष्ट बनेको छ ।
खनाल-नेपाल पक्षले शनिवार बैठक बोलाएर समानान्तर संगठन निर्माण गरेको छ । समानान्तर संगठन निर्माणका कारण एमाले कानूनी रूपमा एक भएपनि राजनीतिक रूपमा विभाजनको संघारमा पुगेको छ ।
'तपाईंहरूले यत्रो ठूलो पार्टीलाई विभाजन गरेरै छोड्नुहुने भयो है' भनेर लोकान्तरकर्मी ईश्वर अर्यालले खनाल-नेपाल पक्षका नेता घनश्याम भुसाललाई सोधेका थिए ।
भुसालले विभाजनको शुरूआत केपी ओलीबाट नै भएको जिकिर गरे । आफूहरूबाट पार्टी एकजुट राख्न प्रयास भइरहेको भन्दै भुसालले ओली पक्षले न्यूनतम इमान्दारिता देखाउने हो भने पनि पार्टीको समस्या समाधान हुने बताए ।
प्रस्तुत छ, भुसालसँग गरिएको अन्तर्वार्ताको सम्पादित अंश :
नेकपा एमाले विभाजनको दिशातर्फ अग्रसर रहेको जस्तो देखिएको छ । विभाजन हुनै आँटेको हो भन्न मिल्छ?
फुट्ने भन्दा पनि पार्टी फुटाउने प्रयत्न भएको छ । २८ गते ओलीजीले आफ्नो टीमको बैठक बोलाएर विधानविपरीत निर्णयहरू गर्नुभयो । त्यो उहाँको फुट्ने प्रयत्न नै हो ।
यत्रो ठूलो उतारचढाव र असफलतापछाडि समग्रतामा उहाँले एकपटक रियलाइज गरेर फेरि एकताका लागि आह्वान गर्नुहुन्छ भन्ने हाम्रो आशा थियो । त्यसको विपरीत उहाँ पार्टी विभाजनको दिशातर्फ उन्मुख हुनुभयो । यसले चाहिँ खासगरी बाँकी रहेको कम्युनिस्ट आन्दोलन धरासायी बनाउँछ । किनभने संसदमाथि उहाँको आक्रमण, संविधानमाथि उहाँको आक्रमण एकता गठबन्धन बहुमत यो सबैमा उहाँ असफल हुनुभयो । व्यक्तिगत रूपमा उहाँ असफल हुनुभयो, पार्टी असफल भयो । आन्दोलनका रूपमा हामी सबै असफल भयौं ।
अब बाँकी रहेको यो पार्टी थियो, यसलाई पनि फुटाउने उहाँको प्रयास असाध्यै चिन्ताजनक छ । यसलाई सामना गर्नुपर्छ ।
तपाईंहरूले पनि समानान्तर संगठन बनाएर गरेर'टिट फर ट्याट' त गर्नुभयो नि ! विभाजनको एउटा कारण तपाईंहरूको गतिविधि पनि हो भन्न मिल्दैन ?
हामीले अलग पार्टी हो भनेका छैनौं । हामी महाधिवेशनमै दुईवटा टेबल राखेर नोमिनेसनसमेत अलग-अलग गरेका थियौं । माधव समूह र केपी समूह भन्ने थियो । त्यसरी दर्ता गरिएको पार्टी हो । महाधिवेशनदेखि नै एक खालले चलेको थियो । त्यो ठीक थियो या थिएन भन्ने बहस चलिराखेको छ । तर हामीकहाँ त्यो खालको अभ्यास भएर आएको हो ।
फरक के हो भने हामीले उहाँहरूले बैठक बोलाउनुहुन्छ भनेर सोचेका थियौं । नयाँ सन्दर्भमा अध्यक्ष र महासचिव उतै हुनुहुन्छ । हामीले त्यो आशा राखेका थियौं ।
सबै छाडेर ओलीजीले आफ्नो गुटको भेला बोलाउने र पार्टीको बैठक तथा निर्णय भन्ने र त्यसले पार्टीका नाममा लेटरहेडमा प्रेस वक्तव्य जारी गर्ने विषय र एकताका पक्षमा कसरी उभिन सकिन्छ भनेर हामीले गरेका भेलाहरू एकै हुँदै होइनन् ।
२०७१ सालको महाधिवेशनदेखि २०७५ सालको जेठ २ गते नेकपा नबन्दासम्मको समय हेरौं । त्यतिबेला जसरी एमालेमा दुई धार या गुट थियो, ओली र नेपालले त्यसको नेतृत्व गरेका थिए । दुवै नेता मिलेर गुटको व्यवस्थापन गर्न नसक्दा अहिलेको समस्या आएको हो ?
माधव वा केपीको प्रश्नै होइन । महाधिवेशनले जसरी पार्टी निर्णयहरूको कार्यान्वयन गर्न अध्यक्षलाई निर्देशन गर्छ, त्यो निर्देशन अनुसारका कामहरू भएनन् । एउटा महाधिवेशनबाट अर्को महाधिवेशनसम्म पार्टी चलाउन राजनीतिक, सैद्धान्तिक, हिसाबले महाधिवेशनले निर्देशन गर्छ ।
महाधिवेशनको लगत्तै ओलीजीले ती निर्देशनहरू पालना गर्न छाड्नुभएको स्थिति थियो । त्यसो गर्दाखेरि यो केपी या माधव मिलेर, लेनदेन गरेर पार्टीभित्र सौहार्दता कायम गर्न सक्ने प्रश्नै होइन । यो त महाधिवेशनका निर्णयहरू कार्यान्वयन गरेर अघि जानुपर्ने प्रश्न हो । यसलाई व्यक्तिको कुरा नभनौं ।
तपाईंहरूले बारम्बार भन्ने गर्नुभएको छ, महाधिवेशनले नीति एउटाको र नेतृत्व अर्कैको पारित गर्यो भनेर । अहिलेको समस्याको मुख्य कारण त्यही हो ?
महाधिवेशनले नीति एउटा चुन्ने र नेतृत्व अर्कै चुन्ने खालको परिस्थिति बिरलै सिर्जना हुने परिस्थिति हो । हाम्रोमा भयो । नेताले नीति नचिन्ने र नेताले नीति नचिन्ने अवस्था सिर्जना भएकै हो ।
नेकपा एमाले आन्तरिक लोकतन्त्रको अभ्यास गरेर विकसित हुँदै गरेको पार्टी हो । आन्तरिक लोकतन्त्रमा समस्या आए, तर त्यसलाई अझ बढी लोकतान्त्रिक विधिबाट समाधान गर्दै हामी अगाडि बढ्यौं । यो पछिल्लो परिस्थिति खडा भयो, अहिले हेर्दा नीति एउटा र नेतृत्व अर्को मिल्छ कि मिल्दैन भन्ने झन् ठूलो प्रश्न अगाडि आएको छ ।
नेता एउटा र नीति अर्को भएपनि नेताले नीतिको कार्यान्वयन गरेर महाधिवेशनले दिएको कार्यभार पूरा हुन्छ कि भन्ने हामीले सोचेका थियौं । महाधिवेशनको निर्णय नेताले कार्यान्वयन गर्दैनन् भनेर सोचिएन । यसलाई ओलीजीले समाउन सक्नुभएन ।
एमालेको ओली पक्षका नेताहरूले तपाईंहरूमाथि'पेरिसडाँडाको होमवर्क धुम्बाराही आएर गर्न खोजेको' भन्दै कटाक्ष या आरोप लगाउने गरेका छन् नि ?
यो चाहिँ चील आयो भनेर माथि औंला देखाउने र दुनियाँलाई भुलाएर तल कुखुरा चोर्ने तरिका हो, किनभने हामीले उठाएका मुद्दा र त्यसप्रतिको प्रतिबद्धतामा हाम्रो इमान कसैसँग भन्दा कम छैन ।
यसको अर्थ हामी बिजनेस पार्टनर हौं, हिजो बिजनेसमा मिलेका थियौं, बस्यौं । मिलेन फुट्यौं र अरूका बिजनेस इन्ट्रेस्टलाई ल्याएर हाल्दैछौं जस्तो असाध्यै तल्लो स्तरको कुराकानी गर्दै हुनुहुन्छ ।
त्यो उहाँहरूको राजनीतिक स्तरको हिसाबले नमिल्ने कुरा हो । हामी नेकपामा थियौं, अदालतले एउटा फैसला गरिदियो । अन्तिममा हामी बैठक बस्यौं र आफ्नो हिसाबले अलग भयौं । यो राजनीतिक हिसाबले उच्च राजनीतिक संस्कार देखाएका हौँ भन्ने लाग्छ ।
हामी एउटा बाटो हिँडेका थियौं, परिस्थिति बदलियो । त्यसले गर्दा आफ्नै ठाउँमा फर्कौं भन्ने कुरा त असाध्यै स्वाभाविक, प्राकृतिक उच्च राजनीतिक नैतिकताको कुरा हो ।
यसमाथि जसरी उहाँहरूले आक्रमण गर्नुभएको छ, यसले उहाँहरूमा राजनीतिक संस्कार छैन भन्ने देखाउँछ ।
पूर्ववत् पार्टीमै फर्काउने अदालतको निर्णयपछि त ओली समूहले खुशी मनाएको छ नि ! तपाईंहरू खुसी हुनुहुन्छ कि दु:खी ?
यो चाहिँ पेटभरि मासुभात खाएर आत्महत्या गर्ने जस्तो कुरा भयो । आज जे हुँदैछ, सबैको सत्यानासतर्फ जाँदैछौं । तर एकले अर्कालाई गाली गरेर सन्तुष्टि लिँदैछौं । अब सन्तुष्टि लिएको अभिनय लिएका छौं । उहाँहरूले सोच्नुपर्छ, यो भनेको कुनै खुशीको कुरा होइन ।
पार्टी तहसनहस भएको छ । जुन पार्टी एकता भयो भनेर हामीले करीब २ वर्षसम्म गाथा गाएर हिँडयौं, उहाँहरूले गाथा गाउनुभयो । त्यसको नैतिकता चाहिन्छ कि चाहिन्न ? आज त्यो फुट्यो भनेर दीपावली गर्ने कुरा हो ? नैतिक कोणबाट यसमाथि प्रश्न हुँदैन ?
अब ७ गते बोलाइएको बैठकमा तपाईंहरू जानुहुन्छ कि जानुहुन्न?
७ गतेको बैठक फेरि पनि वैधानिक हिसाबले बोलाइएको छैन । नेकपा एमालेको विधान र नियमअनुसार बैठकका एजेण्डाहरू सचिवालयले तय गर्छ । केन्द्रीय कमिटीको बैठकका एजेण्डा स्थायी कमिटीले तय गर्छ । त्यो प्रक्रियाबाट बोलाइएका बैठकमा हामी जतिखेर पनि तयार छौं । हामीले पर्खेर नै बसेका छौं ।
तर बाहिरको संविधान त खाइयो खाइयो, त्यसपछि भित्रको संविधान खाने जुन प्रक्रिया चलिरहेको छ, यसलाई हामीले स्वीकार गर्न सक्दैनौं ।
तपाईंको दृष्टिमा के भयो भने विभाजनउन्मुख पार्टी पुनः एकतातिर लम्केला?
स्वाभावैले कमिटीमा यो अहिले हामीले भोगेको जुन बित्यास छ, यसप्रति थोरै इमान्दार हुने हो भने यसको समाधान हुन शुरू हुन्छ । न्यूनतम इमान्दारिता देखाए मात्र पनि समस्या समाधान हुन्छ ।
अरू तमाम चिज होलान्, तर २०७५ सालको जेठ २ गते हामीलाई अदालतले नै फर्काइदिएको छ भने त्यो कुरामा हामी इमान्दार भयौं भने समाधान हुन्छ ।
त्यहाँ फर्किनका लागि सचिवालयको बैठक बोलाउनुपर्यो, स्थायी कमिटीको बैठक बोलाउनु पर्यो । अनि विधिवत ढंगबाट अघि बढ्नुपर्यो ।