३२ असार २०८३, बिहीबार
उच्च वायु प्रदुषण

राजस्थानको धुलोले काठमाडौंको आकाश छोप्यो, हवाई उडान प्रभावित

राजस्थानको धुलोले काठमाडौंको आकाश छोप्यो, हवाई उडान प्रभावित

मौसममा बदली भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका अन्य विमानस्थलहरूमा उडान प्रभावित भएका छन् । 

भिजिबिलिटी कम हुँदा दिउँसो २ बजेदेखि उडान प्रभावित भएको त्रिभुवन विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले लोकान्तरलाई जानकारी दिए  । 

उनका अनुसार दिउँसो २ बजेदेखि ८ वटा आन्तरिक उडान 'डाइभर्ट' गरिएका छन् । 

यस्तै १ अन्तराष्ट्रिय जहाज पनि ल्यान्डिङ हुन नसक्दा 'होल्ड'मा बसेको छ । 

मौसम प्रभावित हुँदा विभिन्न एयर कम्पनीहरूले उडान रोकेका छन् ।

बुद्ध एयरले सूचना जारी गर्दै भनेको छ,'काठमाडौंमा भिजिविलिटी समस्या देखिएको छ । हाम्रा उडानहरु पनि प्रभावित भइरहेको छ । असुविधाको लागि क्षमाप्रार्थी छौं । उडान सम्बन्धी अपडेट हाम्रो मोवाइल एपबाट हेर्न सकिन्छ । धन्यवाद ।'

मौसम विभागले भन्यो : अझै केही दिन यस्तै रहन्छ 

केही दिनयता पानी नपर्दा वातावरणमा हावा चलि रहेपनि बग्न नपाउँदा प्रदुषण बढेको मौसम विभागले बताएको छ । पानी नपर्दासम्म यस्तो रहिरहने बताउँदै विभागले केही दिनसम्म यस्तो भइरहने बताएको छ । 

विभागका एक कर्मचारीले लोकान्तरसँग भने,'केही दिनदेखि घाम पनि राम्रोसँग लागेको छैन, त्यसै कारण हावा बग्न पाएन । पानी नपरेसम्म यो समस्या नहट्न सक्छ ।'

ती कर्मचारीका अनुसार, भारतको राजस्थानमा बढ्दै गइरहेको प्रदुषण र नेपालका विभिन्न ठाउँमा बढिरहेको डढेलोको प्रभाव यता देखिएको हो । 

उनले पानी नपरेसम्म केही दिन यो समस्या रहिरहने बताए । उनका अनुसार, अझै केही दिन पानी पर्ने सम्भावना छैन । 

यसअघि २०७६ बैशाख अन्तिम साता पनि राजस्थानको धुलोले काठमाडौं ढाकेको थियो । 

जनस्वास्थ्य विज्ञ भन्छन् : दीर्घकालमा समेत यसको असर पर्न सक्छ

यता, धुलो धुवाँबाट जोगिन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् । 

जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेले स्वासप्रश्वासका विरामीहरूलाई बढी असर गर्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । 

उनले तत्कालिन रूपमा आँखा पोल्ने, आँखा चिलाउने, आँखा रातो हुने लगायतका लक्षणहरू देखिने र पछि दीर्घकालमा समेत असर पर्ने बताएका छन् । 

सकभर घर बाहिर ननिस्कन र निस्किहाले पनि शरीर ढाक्ने कपडा लगाउने, मास्क तथा चस्मा लगाएर निस्किन उनको सुझाव छ । 

 

 

salt training

कमेन्ट गर्नुहोस्