३२ असार २०८३, बिहीबार

पूरा भएन आश्वासन, स्थानीय भन्छन्– प्रचण्डले निराश बनाए

कात्तिक २०, २०७४
पूरा भएन आश्वासन, स्थानीय भन्छन्– प्रचण्डले निराश बनाए

जनकपुरधाम–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समय पहिले सिरहामा आयोजित एक कार्यक्रममा वैदेशिक रोजगारीमा जाने युवाहरूको सुविधाको लागि जनकपुरमा वैदेशिक रोजगार विभागको श्रम कार्यालय सञ्चालन गर्ने घोषणा गरेका थिए । श्रम कार्यालय खोलेपछि वैदेशिक रोजगारीका लागि खाडी लगायतका मुलुकमा जान खोज्ने कामदारले श्रम स्वीकृतिदेखि विभिन्न कामका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य हुने आश्वासन उनले दिएका थिए ।

प्रधानमन्त्रीको उक्त घोषणापछि मध्य तराइका युवाहरूमा खुसी छाएको थियो । तर, प्रधानमन्त्री पदबाट राजीनामा दिएर हाल कामचलाउ प्रधानमन्त्रीमा सीमित भइसक्दा पनि प्रतिवद्वतामुताविक श्रम कार्यालय स्थापनाको हुन नसकेपछि अहिले जनकपुरवासीले सुविधाको आस मारेका छन् ।

कार्यालय स्थापना गर्ने सन्दर्भमा हालसम्म ‘सिन्को भाँचिएको’ छैन । अहिले यहाँका स्थानीय प्रधानमन्त्रीले आश्वासन बाँडेर पूरा नगरेकोमा निराश देखिन्छन् । प्रधानमन्त्रीले प्रतिवद्वता जनाएबमोजिम काम अघि बढेको भए हालसम्म उक्त श्रम कार्यालय सञ्चालनमा आइसकेको हुनेथियो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले श्रम कार्यालय स्थापना सम्बन्धि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट हालसम्म आवश्यक पत्राचार र पहल नभएको बताए । ‘वैदेशिक रोजगार विभागबाट पनि कुनै जानकारी दिइएको छैन,’ उनले भने ।

प्रचण्ड सरकारका कानून मन्त्री अजय शंकर नायक प्रधानमन्त्रीले घोषणा गरे अनुरुप सो कार्यालय जनकपुरमै स्थापना हुने बताउँछन । ‘प्रधानमन्त्रीले घोषणा गर्दा म पनि सहभागी थिएँ । श्रम कार्यालय जनकपुर मै संचालन हुन्छ,’ उनले भने, ‘अहिले पूर्ण बजेट नआएको र थप नयाँ कार्यक्रम पनि नल्याइएकाले पछि त्यो कार्यालय संचालन सन्दर्भमा बजेटमा समावेश गरिनेछ ।’ नायकले लोकान्तरसँग भने ।

अञ्चल श्रम कार्यालय जनकपुरका अनुसार वैशाखको पहिलो साता वैदेशिक रोजगार विभागका कर्मचारीहरूको टोली जनकपुर आएर कार्यालय संचालनका लागि आवश्यक आवासको बारेमा जानकारी लिएको थियो । तर, त्यसयता कुनै पनि काम अघि बढेको छैन । बरु उक्त कार्यालय महोत्तरीको बर्दिवासमा सारिने हल्ला चलेको छ । त्यसले स्थानीयमा निराशा थपेको छ ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही लगायत प्रदेश नम्बर २ का जिल्लाहरूका लागि उक्त कार्यालय जनकपुरमा खोलिने बताइएको थियो । उक्त कार्यालय संचालनमा आए श्रम स्वीकृति लिन र मेडिकल जाँच गराउन राजधानी जानुपर्ने बाध्यता अन्त्य हुन्छ । त्यो कार्यालय संचालनमा आए जनकपुरमा दैनिक ५ सय देखि १ हजार मानिसहरूको आवागमन वढ्ने छ ।

धनुषाबाट मात्र एक लाख वैदेशिक रोजगारीमा 
पछिल्ला वर्षहरूमा मध्य तराइका धनुषा, महोत्तरी, सर्लाही लगायत जिल्लाका अधिकांश परिवारका सदस्य वैदेशिक रोजगारीमा गएका छन् ।

धनुषाबाटमात्रै आर्थिक वर्ष (आव) २०६५/०६६ मा १० हजार ९ सय ५० जना, आव २०६६/०६७ मा ११ हजार ९ सय ४२ जना, आव २०६७/०६८ मा ११ हजार ९ सय २३ जना र आव २०६८/०६९ मा ११ हजार ६ सय ४३ जना वैदेशिक रोजगारीमा गएका थिए ।

त्यस्तै, धनुषाबाटै आव २०६९/०७० मा १८ हजार ८ सय ९४, आव २०७०/०७१ मा २१ हजार ३ सय ५७ जना र आव २०७१/०७२ मा २२ हजार २ सय ५९ जना वैदेशिक रोजगारीमा गएका थिए ।

पछिल्लो ७ वर्षमामात्रै धनुषाबाट १ लाख ८ हजार ९ सय ६८ जना वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका छन् । जसमध्ये १ सय ९० जना महिला पनि छन् । सोही हाराहारीमा तराई मधेसका अन्य जिल्लाहरुबाट पनि वैदेशिक रोजगारीका लागि जाने गरेको तथ्याङ्क छ ।

जनकपुरमा श्रम कार्यालय संचालनमा आए वैदेशिक रोजगारीका लागि हुने प्रक्रियागत झण्झट धेरै कम हुने सेवाग्राही बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्