२२ असार २०८३, सोमबार

माधव नेपालबाट धोका भयो भन्न चाहन्नँ, भर्खर पनि कुरा भयो, कुनै ठाउँमा फेरि भेट हुन्छ– प्रचण्ड

बैशाख ३१, २०७८
माधव नेपालबाट धोका भयो भन्न चाहन्नँ, भर्खर पनि कुरा भयो, कुनै ठाउँमा फेरि भेट हुन्छ– प्रचण्ड
फाइल फोटो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको संघर्ष जारी रहने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारविरुद्ध वैकल्पिक सरकार गठनको प्रयासमा लागेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओली पुन प्रधानमन्त्री बनेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया संविधान र लोकतन्त्रको पक्षमा निरन्तर खबरदारी गर्ने बताएका हुन् ।

उनले प्रतिपक्षीको हैसियतले सरकारबाट भएका गलत कामको आलोचना गर्दै जनतालाई राहत दिने  र संविधान र राष्ट्रको बचाउको पक्षमा निरन्तर संघर्ष गर्ने उल्लेख गरे ।

सरकार गठनमा नेकपा एमालेको नेपाल खनाल समूहबाट धोका भएको हो भन्ने जिज्ञासामा उनले अहिले नै धोका भयो भनेर टिप्पणी गर्न नचाहेको प्रतिक्रिया दिए ।

'अहिले म धोका भन्ने शब्द त प्रयोग गर्न चाहन्नँ, किनभने अहिले भर्खर पनि हामी कुरा गर्दैछौं । उहाँहरू भित्र केही समस्या पक्कै पनि भए होलान् । उहाँहरू आफू पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षरत नै हुनुभएकाले अहिले नै धोका दिनुभयो भन्ने शब्द बढी हुन्छ भन्ने लागेको छ । म आशा गर्छु उहाँहरू सत्यको पक्षमा, लोकतन्त्रको पक्षमा, संविधानको पक्षमा संघर्ष अगाडि बढाउनुहुन्छ र हाम्रो एक ठाउँमा फेरि पनि भेट हुन्छ, भन्ने म ठान्छु ।'

उनले असंवैधानिक ढंगले हुने निर्वाचनको विरोध गर्ने बताए ।

'संवैधानिक ढंगले हुने कुनै पनि निर्वाचनका निम्ति पार्टी जहिले पनि तयार हुन्छ । संविधानविरोधी भयो भने मात्रै हाम्रो विरोध हुने हो, आलोचना हुने हो ।  संविधान अनुसार हुने चुनावमा हाम्रो सहभागिता हुन्छ,' प्रचण्डले भने ।

उनले संविधान र लोकतन्त्रको रक्षाका लागि निरन्तर लडिरहने बताए ।

उनले भने, 'चूनौतीपूर्ण पनि छ, सम्भावना पनि छ । हामी आफ्नो ढंगले अघि बढ्छौं, संविधान र लोकतन्त्र रक्षाका निम्ति । संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको हाम्रो संघर्ष जारी रहन्छ । प्रतिपक्षीको हैसियतले गलत कामको आलोचना हुन्छ । जनताको राहत दिने र संविधान र राष्ट्रको बचाउका पक्षमा निरन्तर संघर्ष हुन्छ ।'


 
 

salt training

कमेन्ट गर्नुहोस्