
कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ । बैंक तथा वित्तीय संस्थाहरूले सीमित कर्मचारी राखेर काम गरिरहेका छन् ।
कोरोना महामारीको दोस्रो लहरका क्रममा धेरै बैंकर्सहरू संक्रमित भएका छन् ।
यसबीचमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालको परिवारमा पनि कोरोना संक्रमण भयो ।
खुशीको कुरा, अहिले उनको परिवारका सदस्यहरू कोरोना संक्रमणमुक्त भइसकेका छन् ।
निषेधाज्ञा अवधिमा केकस्ता कामहरू गरियो ? सीईओ दाहालले आफ्ना अनुभव यसरी सुनाए :
‘हामीले कुराकानी गर्दा पनि इन्टरनेटको सहायता लिनुपर्ने अवस्था आयो । श्रीमती तथा छोरासँग मैले म्यासेन्जरमा नै नियमित कुरा गरिरहेँ । सँगै बसेर गफ गर्न पाइनँ ।’
लोकान्तरको लकडाउन डायरीका लागि सानिमा बैंकका सीईओ भुवन दाहालसँग लोकान्तरकर्मी परिवर्तन देवकोटाले गरेको कुराकानीको सम्पादित अंश उनकै शब्दमा :
भुवनकुमार दाहाल
सीईओ, सानिमा बैंक
अध्यक्ष, नेपाल बैंकर्स एसोसिएसन
निषेधाज्ञा शुरू भएपछि नै हामीले अफिसका साथीहरूको कार्यविभाजन गर्यौं । कसले घरबाट, कसले अफिसबाट काम गर्ने भन्ने छुट्याइएको छ । यसमा पनि एक–एकजना सिनियर कर्मचारी भने दैनिक रूपमा पालैपालो अफिस जाने कार्यसूची राखिएको छ । अरू कर्मचारीहरू भने घरबाटै काम गरिरहनुभएको छ ।
केही दिन अगाडि मेरो श्रीमती सरिता दाहालमा पनि कोरोना संक्रमण पुष्टि भयो । गत अघिल्लो सोमवार मात्रै उहाँ कोरोनामुक्त हुनुभएको छ ।
उहाँलाई संक्रमण भएपछि म एक हप्ता बिदा लिएर बसें । म पनि क्वारेन्टीनमै बसें ।
परिवारकै सदस्यलाई कोरोना संक्रमण भएपछि हामी चिकित्सक डा. अनुप सुवेदी (ह्याम्स अस्पताल)सँग फोनमा सम्पर्कमा रह्यौं ।
लक्षणसहित संक्रमण भएपनि अस्पताल जानुपरेन ।
यसैबीचमा छोरालाई पनि रुघाखोकी र ज्वरो आएपछि उसलाई आइसोलेसनमा राखियो ।
बैंकमा बिदा लिएपनि एसोसिएसनका केही काममा म आफैं संलग्न भएँ । बिहान बेलुका अफिसको मेलहरू चेक गर्ने गर्छु । अफिसमा के भइरहेको छ, यसमा चासो दिइरहन्छु । त्यसकारण पनि खासै फुर्सद जस्तो महशुस भएको छैन ।
म बिहान ५ बजे अगाडि नै ब्युँझिसक्छु । त्यसपछि उठेर बिहान २ गिलास मनतातो पानी पिउँछु । त्यसपछि सूर्यनमस्कार गर्छु । श्वासप्रश्वासको एक्सरसाइज १० /२० पटक गर्छु । अरू खासै एक्सरसाइज गर्दिनँ ।
कहिलेकाहीँ म छोरासँग घरको छतमा क्रिकेट खेल्छु । फूटबल पनि कहिलेकाहीँ खेल्छु । स्कूले जीवनमा म गोलकिपर भएर फूटबल खेल्थें ।
यसपटक आइसोलेसनमा, क्वारेन्टीनमा बस्दा के गर्नुपर्छ भन्ने विषयमा अध्ययन गर्ने अवसर पाएँ । चीनको कोरोना खोपको साइडइफेक्टमा पनि केही अध्ययन गरेँ ।
हामीले परिवारभित्रै कुराकानी गर्दा पनि इन्टरनेटको सहायता लिनुपर्ने अवस्था आयो ।
श्रीमती तथा छोरासँग मैले म्यासेन्जरमा नै नियमित कुरा गरिरहेँ । सँगै बसेर गफ गर्न पाइएन । घरमै एकअर्कालाई भेट्दा मास्क लगाएर भेट्नुपरेको छ ।
संक्रमणको अवस्थामा हामीले परिवारमा कसरी सकारात्मक सोच ल्याउन सकिन्छ भन्नेतर्फ ध्यान दियौं । म क्वारेन्टीनमा । श्रीमती र छोरा फरक–फरक आइसोलेसनमा थियौं । म्यासेन्जरमा अनुहार चाहिँ देखाइरहन पर्छ है भन्थ्यौं । जोकहरू शेयर गरिरहन्थ्यौं । राम्रा चलचित्र, सफलताका कथाहरू शेयर गर्ने जस्ता काम गरिरह्यौं ।
यसबीचमा सानिमा बैंकका करीब ३ सयजना कर्मचारीमा कोरोना संक्रमण भएको छ । उनीहरू सबैलाई मैले फोन सम्पर्क गर्ने, हौसला दिने काम गरिरहेँ । मेरो घरमा पनि संक्रमित हुनुहुन्छ, आत्तिनु हुन्न, केही हुँदैन भनेर सन्देश दिइरहेको छु ।
निषेधाज्ञाको अवधिमा केही पुस्तक पढ्छु भन्ने लागेको थियो । तयारी पनि गरेको थिएँ, तर नियमित मोबाइल फोन बजिरहने हुनाले त्यता ध्यान दिनै सकिनँ । डीआर अम्बेकरको बुद्धबारे लेखिएको एउटा पुस्तक, श्रीलंकाको भिक्षुको बुद्धबारे लेखिएको पुस्तक डाउनलोड गरेर केही पढेँ पनि । तर फोन र म्यासेजका कारण समय दिन सकिनँ ।
तर यसबीचमा मैले बलिउड चलचित्र पीके, ओ माइगड हेरें । सादीकी पहली रात भन्ने पाकिस्तानी शर्ट मूभी मैले हेरें ।
पीकेमा हाम्रो समाजमा भएका विकृति विसंगतिलाई व्यंग्य हानेको छ भने ओ माइगडमा धार्मिक रूपमा अन्धभक्तता र विसंगतीलाई व्यंग्य हानिएको छ । यस्तै सादीकी पहली रात पनि निकै रमाइलो लाग्यो ।
म आध्यात्मिक व्यक्ति त हैन, तर मलाई बुद्ध र बुद्धका शिक्षाप्रति झुकाव छ । धर्मप्रति रुचि छैन । हिन्दू धर्ममा हुने पूजापाठ त पाखण्ड जस्तै लाग्छ ।
हामीकहाँ खाना पकाउने वा किचेनका काम गर्नका लागि कर्मचारी राखिएको छैन । हामी मिलीजुली नै काम गर्छौं । अहिले परिवारभित्रका सदस्यहरूबाट नै खाना बनाउँछौं ।
मैले अहिले २/४ जनाले खाएको भाँडाकुँडा आफैंले माझ्ने गरेको छु । यसअघि पनि मैले आफूले खाएको भाँडा आफैं माझ्ने गर्थें । अहिले भाडाँकुडा माझ्ने, कोठा सफा गर्ने काम मैले गरिरहेको छु ।
हामी कहीँ न कहीँ स्वास्थ्य मापदण्डमा चुकेकै कारण मेरो परिवारलाई कोरोना संक्रमण भएको हो । त्यसकारण हामीले सिकेको सबैभन्दा महत्त्वपूर्ण कुरा घरमै बस्दा पनि मास्क लगाउनुपर्ने रहेछ । अझै सम्भव भएसम्म एउटा कोठामा एक जनामात्रै बस्ने संस्कार कोभिड रहुञ्जेल बसाल्नुपर्छ जस्तो लाग्छ ।
हाम्रो परिवारमा आमाबाहेक सबैले कोरोना विरुद्धको खोप लगाइसकेका थियौं ।
त्यसकारण हामीलाई कोरोना सर्दैन भन्ने आत्मविश्वास बढाउने काम यसले पनि गर्दोरहेछ । त्यसैले सम्भव भएसम्म सबैले कोरोना खोप लगाउन म आग्रह गर्दछु ।
बैंकमा फ्रन्टलाइनमा काम गर्ने कर्मचारीहरूले स्वास्थ्य मापदण्डको पूरा पालना गरेर, मास्क लगाएर काम गर्ने गर्नुहुन्छ ।
हाम्रै बैंकमा पनि फ्रन्टलाइनमा भन्दा पनि ब्याक अफिसमा काम गर्ने साथीहरूले कम शतर्कता अपनाउनुभयो कि जस्तो देखिन्छ ।
मेरो श्रीमती पनि कृषि विकास बैंकमा काम गर्नुहुन्छ । उहाँ पनि मापदण्डमा कतै चुक्नुभयो जस्तो लाग्छ । त्यसकारण स्वास्थ्य मापदण्डको पूर्ण पालना अहिलेको अनिवार्य आवश्यकता हो ।