३१ असार २०८३, बुधबार
एमाले विवाद

एमाले विवाद : नरम होइन, गरम हुने संकेत !

एमाले विवाद : नरम होइन, गरम हुने संकेत !

सर्वोच्च अदालतको फैसलाले पार्टी सरकारबाहिर पुगेपछि नेकपा एमालेको विवाद मिल्ने भन्दा झन् बल्झने संकेत देखिएको छ । 

आफ्नो नेतृत्वमा रहेको सरकार विस्थापन गर्न माधव नेपालले खेलेको भूमिकाप्रति एमाले अध्यक्ष केपी शर्मा ओली कठोर बन्ने संकेत उनले निजी निवास बालकोट पुगेर गरेका छन् ।

पार्टी विवाद मिलाउन गठित कार्यदलले असार २७ गते राति १० बुँदे सहमति गर्दै एमाले विवाद अन्त्य भएको घोषणा गरेको थियो । 

कार्यदलले असार २७ गते राति १० बुँदे सहमति गर्दै अध्यक्ष केपी शर्मा ओली र माधव नेपाललाई हस्तान्तरण गरेको थियो । तर, दुवै नेताले प्रतिवेदनबारे औपचारिक धारणा व्यक्त गरेका छैनन् । 

कार्यदलमा माधव नेपाल पक्षका एकजना संयोजक भीम रावलले असार २८ गते बसेको एमाले स्थायी कमिटीको अनौपचारिक बैठकमा अध्यक्ष ओलीलाई प्रतिवेदन बुझाएका थिए ।

कार्यदलको प्रस्ताव पार्टीबाट अनुमोदन नहुँदै सर्वोच्च अदालतको आदेशले एमाले विवाद अर्को चरणमा पुगेको छ । 

परिस्थिति बदलिएको भन्दै ओली पक्षले सो सम्झौताको औचित्य सकिएको दाबी गरेको छ ।

‘आइतवारको सहमति माधव नेपालको अनिच्छामा भएको थियो, आफ्नै समूहमा अल्पमतमा परेर स्वीकार गर्नुभएको थियो,’ ओली पक्षका एक स्थायी कमिटी सदस्यले भने, ‘पार्टीको सरकार ढाल्ने कामको अगुवाइ गरेको नेता कसरी एमालेमा फर्किनुहोला र ?’

बुधवार बालुवाटारस्थित सरकारी निवास छाडेर बालकोट पुगेका ओलीले माधव नेपालप्रति निकै आक्रामक अभिव्यक्ति दिए ।

‘माधव नेपाल जस्ता लाज शरम हराएका मान्छेको पछाडि लाग्नेहरू कमी कमजोरी महशुस गरी पार्टीमा आएर काम गर्न चाहे अवसर दिन सकिन्छ, तर माधव नेपालको हकमा गल्ती कमजोरी, आत्मालोचना गर्ने कुनै ठाउँ छैन,’ ओलीले भनेका थिए । 

ओलीले अहिलेको परिस्थिति (एमालेको सरकार गुम्ने अवस्था) निर्माण गर्ने र विकास प्रेमी सरकार ढाल्ने कामको अगुवाइ माधव नेपालले गरेको आरोप लगाए ।

ओलीले यसो भनिरहँदा कार्यकर्ताले माधव नेपाललाई पार्टीबाट निस्कासन गर्नुपर्ने भन्दै हुटिङ गरेका थिए ।

युवा संघका कार्यकर्ताले बालुवाटारदेखि बालकोटसम्म नेता नेपालविरुद्ध चर्का नाराबाजी मात्र गरेनन्, नेपाल निवासनजिक कोटेश्वरमा पुत्ला समेत जलाए । 

ओलीको बुधवारको अभिव्यक्तिले एमाले विवाद बल्झिने संकेत गरेको छ । ओलीपक्षीय कार्यकर्तामा माधव नेपालविरुद्ध आक्रोश चुलिएको छ । सडकको नारादेखि सामाजिक सञ्जालसम्म माधव नेपाल तारो बनेका छन् ।

अध्यक्ष कुल भएपछि एकता हुन्छ– नेपाल पक्ष

पार्टी विवाद समाधानका लागि सक्रिय रहेका माधव नेपालपक्षीय एक स्थायी कमिटी सदस्यले पार्टी विवाद मिल्ने दाबी गरे ।

‘पार्टीको सरकार ढल्दा उहाँमा केही आक्रोश देखिनु स्वाभाविक हो । के झ्वाँकमा त्यस्तो बोल्नु भयो कुन्नि ! तर केही दिनमा पार्टी विवाद मिल्छ,’ कार्यदलमा रहेर सहमति गर्न क्रियाशील ती नेताले भने ।

ती नेताले सर्वोच्च अदालतको आदेशका कारण पनि ओलीले नेपालमाथि कार्वाही गर्न नसक्ने दाबी गरे ।

कमी कमजोरी दुवै पक्षबाट भएकाले आत्मालोचनासहित पार्टीलाई सुदृढ बनाएर चुनावको तयारीमा लाग्नुपर्ने उनले बताए । 

माधव पक्षले देला देउवालाई विश्वासको मत ? 

एमाले विवाद कसरी अगाडि बढ्छ भन्ने कुरा प्रधानमन्त्री शेरबहादुर देउवालाई माधव नेपाल पक्षले विश्वासको मत दिन्छ कि दिँदैन भन्ने कुराले पनि निर्धारण गर्नेछ ।

माधव नेपाल पक्षका २३ जना सांसदले देउवाको पक्षमा हस्ताक्षर गरेका कारण देउवा प्रधानमन्त्री बनेका छन् । नेपाल पक्षका सांसदले देउवालाई प्रधानमन्त्री दाबी गर्न भन्दै सर्वोच्चमा दायर रिटमा हस्ताक्षर गरेका थिए । 

असार २८ गते कांग्रेस र माओवादी सहितको गठबन्धनको बैठकमा माधव नेपालले आफू अलग भएको बताएका थिए ।

सो बैठकमा नेपालले पार्टीमा एकता हुन लागेकोले विश्वासको मतबारे पार्टीमा आधिकारिक निर्णय गर्नुपर्ने बताएका थिए ।  

नेपाल समूहका कतिपय सांसद र नेताहरूले प्रतिनिधि सभा जोगाउन देउवाको पक्षमा मतदान गर्नुपर्ने लबिङ गरिरहेका छन् । 

मंगलवार राष्ट्रपति भवनमा भएको शपथ कार्यक्रममा माधव नेपालले देउवालाई हात मिलाएर बधाई दिएका थिए ।

देउवाले आनाकानी गर्दा पनि हात मिलाउन अग्रसर भएको भन्दै ओलीले नेपालप्रति व्यंग्य समेत गरेका छन् ।

नेपाल पक्षीय केन्द्रीय सदस्य एवं सांसद सोमप्रसाद पाण्डे देउवालाई विश्वासको मत दिने नदिनेबारे पार्टीमा औपचारिक छलफल हुने बताउँछन् ।

‘२०५१ सालमा कांग्रेसले मनमोहन अधिकारीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बसेको उदाहरण पनि छ, यसबारे पार्टीमा छलफल नगरी केही भन्न सकिन्न,’ पाण्डेले लोकान्तरसँग भने । 

विरोध खतिवडा, मेटमणि चौधरीलगायत सांसदहरूले खुलेआम रूपमा देउवालाई विश्वासको मत दिनुपर्ने भन्दै वकालत गरिरहेका छन् ।

संस्थापन पक्षको बुझाइ पनि माधव नेपाल पक्षले विश्वासको मत दिन्छ, भन्ने छ । 

ओलीले मंगलवारको सम्बोधनका क्रममा बढीमा १७ महिनापछि त चुनाव गर्नैपर्छ भन्ने आशयको अभिव्यक्ति दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्