
नेकपा एमालेको आन्तरिक विवाद मिलाउन बुधबार भएको छलफलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीर्ले ‘पार्टी एकताको च्याप्टर क्लोज’ भएको बताएपछि आगामी रणनीति बनाउन एमाले वरिष्ठ नेता माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ ।
नेपाल पक्षले आज ११ बजेको लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक दिउँसो एक बजेको लागि सारेर स्थायी कमिटी छलफलमा बस्न लागेको हो ।
‘बुधबार कार्यदलसँगको छलफलमा केपी ओलीले अब ‘पार्टी एकताको च्याप्टर क्लोज’ भयो भने । त्यसपछिको आन्तरिक रणनीति बनाउनको लागि केन्द्रीय कमिटीको बैठक सारेर स्थायी कमिटीको बैठक राखिएको हो’, नेपाल पक्षका एक नेताले भने ।
अहिले बुद्धनगरस्थित क्वालिटी ब्याक्वेटमा नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ ।
पार्टी विवाद समाधनलाई अन्तिम रूप दिनका लागि बुधबार दिनभर नेताहरू छलफलमा जुटेका थिए ।
एमालेको विघटित कार्यदलमा भएका दुवै पक्षका गरी १० जना नेता र माधव नेपालको छुट्टै छलफल भएको थियो । त्यसैगरी, कार्यदलका १० जना नै नेताले पार्टी अध्यक्ष ओलीसँग पनि बुधबार नै छलफल गरेका थिए ।
त्यसअघि, बुधबार विहान कार्यदलका सुवास नेम्वाङ र भीम रावलसँग माधव नेपालले लामो समय छलफल गरेका थिए । त्यसमा पार्टी विवाद समधानको लागि कुनै उपायमा निश्कर्ष निस्कन नसकेकाे एक नेताले बताए ।
दिनभरको छलफलमा कुनै निश्कर्ष नआएपछि ओलीले अब पार्टी एकताको च्याप्टर क्लोज भएको भनेर कार्यदलका नेताहरूलाई विदाई गरेको कार्यदलका एक सदस्यले बताए ।
त्यसपछि, ओलीले एमालेको बैठक नबोलाइएको र एमालेको नाममा अनधिकृत रुपमा बोलाइएको बैठकमा सहभागी नहुन निर्देशन सहितको विज्ञप्ति प्रकाशन गर्न एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तमाङलाई निर्देशन दिएको स्रोत बताउँछ ।
सोही अनुसार बुधबार राती ८ बजे तामाङले विज्ञप्ति प्रकाशन गरेका थिए ।