
कोभिड–१९ विरुद्धको खोप उत्पादक देश अमेरिका, चीन र बेलायतले मानवीय सहयोगअन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई निःशुल्क खोप प्रदान गर्न शुरुआत गरेका छन् । यस क्रममा सोसाइटीलाई चिनियाँ रेडक्रस सोसाइटीले एक लाख मात्रा भेरोसेल खोप प्रदान गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई सोसाइटीका पदाधिकारीले मन्त्रालयमा आज यहाँ आयोजित कार्यक्रममा सो खोप हस्तान्तरण गरे ।
सो अवसरमा सोसाइटीका महामन्त्री पिताम्बर अर्याल र कार्यकारी निर्देशक उमेश ढकालले सोसाइटीका मानवीय सेवाको गतिविधिका बारेमा राज्यमन्त्री श्रेष्ठलाई संक्षिप्त जानकारी दिएका थिए ।
राज्यमन्त्री श्रेष्ठले महामारी नियन्त्रणमा नेपाल रेडक्रसले सरकारलाई पु¥याएको निरन्तर सहयोगप्रति धन्यवाद दिँदै अगामी चैतसम्म सबै नागरिकलाई खोप लगाउने सरकारको लक्ष्यलाई सहयोग गर्न आग्रह गरे ।
अमेरिकाले हालै कोभ्याक्सअन्तर्गत जनसन खोप नेपाललाई प्रदान गरेको थियो भने जापानले १६ लाख मात्रा एष्ट्राजेनेका प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । रासस