
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साहित्य समाजको दर्पण भएकाले संसारलाई जोड्न यसले पुलको रूपमा काम गरिरहेको बताएका छन् ।
पत्रकार एवं साहित्यकार वियोगी बुढाथोकीको नियात्रा संग्रह ‘शनैः शनैः यात्रामा’को लोकार्पण समारोहमा उनले उत्कृष्ट साहित्य सिर्जनामा सबै स्रष्टालाई जोड्न मन्त्रालयले कडीका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री कार्कीले भने, ‘सहित्य विधा राजनीतिभन्दा नितान्त भिन्न छ, साहित्यलगायत समाजका हरेक विधा र क्षेत्रमा रहेका चुनौतिलाई अवसरका रूपमा रूपान्तरणका लागि सबैबाट योगदान होस् ।’
उनले निष्ठावान र कर्मयोगी बुढाथोकी जस्ता व्यक्तिबाट मात्रै मुलुक अटल समृद्धिमा जाने मात्र नभई समाजमा देखिएका विभेद अन्त्य हुने बताए । पत्रकार वियोगीको बाल्यकाल, जन्मोथलो, पर्यावरण संरक्षण र स्वदेश तथा विदेश भ्रमणमा देखेका एवम् भोगेका विषयवस्तु समेटिएको कृतिमा २१ वटा लेख समेटिएको छ ।
यात्रामा भोग्नु परेका पीडा, तीता मिठा घटना र पात्र प्रवृत्तिलाई निकै कुशलतापूर्वक प्रस्तुत गरिएको उक्त कृतिमा नेपालका विभिन्न भाग र वर्मासम्मका विषयवस्तु समेटिएको छ ।
सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकूलपति विष्णुविभु घिमिरेले पछिल्ला समय साहित्य र संस्कृति विधामा पनि राजनीतिक चलखेलले विकृत तुल्याएको प्रतिक्रिया दिए ।