
अमेरिकाका उच्चतम सैन्य अधिकारी जोइन्ट चीफ्स अफ स्टाफका अध्यक्ष जनरल मार्क मिल्लेले बुधवार राजधानी वाशिङटनमा बदलिँदो विश्व राजनीतिको विशद व्याख्या गरेका छन् । भूराजनीतिक शक्तिको सवालमा निकै ठूलो परिवर्तनको साक्षी अहिलेको पुस्ता बनेको उनले बताए ।
एस्पन सेक्युरिटी फोरम नामक अग्रणी थिंकट्यांकले आयोजना गरेको छलफल कार्यक्रममा मिल्लेले अहिलेको विश्व त्रिध्रुवीय भएको बताए । अमेरिका, चीन र रुसका तीन ध्रुवहरू शक्तिशाली रहेको उनको भनाइ छ । प्रविधिको क्षेत्रमा अहिलेको भन्दा बढी प्रगति गरेर अमेरिकाले विश्व प्रभुत्व कायम राख्न सक्ने उनले बताए ।
विशेषगरी चीनले तेर्स्याएको चुनौतीका विषयमा मिल्ले बढी चिन्तित देखिएका छन् । साइबर क्षमता र अन्तरिक्षमा अमेरिकालाई पछि पार्ने धुनमा चीन लागिपरेको कुरालाई गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ छ ।
हुन पनि चीनले विगत चार दशकमा अकल्पनीय प्रगति गर्दै आफूलाई विश्वशक्तिका रूपमा उभ्याएको छ । अहिले ऊ संसारको दोस्रो ठूलो अर्थतन्त्र हो र स्थल, जल तथा वायुक्षेत्रमा उसको सैन्य क्षमता निकै बढेको छ भने अन्तरिक्ष तथा साइबर क्षेत्रमा पनि ऊ अग्रणी मुलुक बनिसकेको छ ।
मिल्लेको यो भनाइ चीनले केही महिनाअघि गरेको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणको प्रतिक्रियामा आएको हो । मिल्लेले शीतयुद्धको समयमा अमेरिका र सोभियत संघबीच चलेको प्रतिस्पर्धालाई स्मरण गर्दै चीनको पछिल्लो परीक्षणलाई स्पुतनिक क्षणसँग तुलना गरे ।
सन् १९५७ मा सोभियत संघले पहिलो कृत्रिम भूउपग्रह स्पुतनिक अन्तरिक्षमा पठाउन सफल भएको थियो । उक्त खबरले अमेरिकीहरूलाई स्तब्ध बनाएको थियो किनकि उनीहरू अन्तरिक्षमा आफू पहिले पुग्ने सपना देखिरहेका थिए । उक्त घटनाबाट पाठ सिक्दै अमेरिकीहरूले अन्तरिक्ष यात्राका लागि व्यापक तयारी गरी त्यसको १२ वर्षपछि चन्द्रमामा पहिलोपटक मानिसलाई अवतरण गराउन सफलता पाएका थिए ।
अमेरिका र सोभियत संघको त्यस प्रतिस्पर्धाले महाशक्तिहरूबीच हतियार तथा अन्तरिक्षयात्राको दौडको युग शुरू गरेको थियो । अहिले चीनको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणले त्यसैगरी हतियारको दौड शुरू गर्ने आशंका विज्ञहरूले गरेका छन् ।
त्यसैगरी रुसले पनि पहिलोपटक पनडुब्बीबाट प्रक्षेपण गरिएको हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको दाबी अक्टोबर महिनामै गरेको थियो । त्यही क्षेप्यास्त्र युद्धपोतबाट समेत प्रक्षेपण गरेको दाबी रुसले त्यसको केही महिनाअघि गरेको थियो ।
चीन र रुसको सफल परीक्षणले आहत भएको अमेरिकाले गरेको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण भने विफल भएको छ । अक्टोबर महिनामा उक्त परीक्षण गर्ने क्रममा बूस्टर स्ट्याकले काम नगरेकाले हाइपरसोनिक ग्लाइड बडी प्रक्षेपण गर्न नसकिएको भनी अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले बयान जारी गरेर जानकारी दिएको थियो ।
चीन र रुस यसरी अगाडि बढिरहँदा अमेरिकी सेनाले आधारभूत परिवर्तन ल्याउनुपर्ने मिल्लेको भनाइ छ । त्यसो नहुँदा अबको १० वा २० वर्षमा अमेरिकाले युद्ध हार्ने मिल्लेले चेतावनी दिए ।
यसरी मिल्लेले अमेरिका, चीन र रुसबीच त्रिध्रुवीय युद्धको परिदृश्यका पृष्ठभूमि देखाएका छन् । अमेरिकालाई प्रविधिको क्षेत्रमा पछि पार्ने चीनको प्रयाससँगै रुसले पनि तेल, ग्यास र आणविक हतियारको बलमा देखाइरहेको शक्तिले अमेरिकाको विश्व प्रभुत्वलाई चुनौती दिइरहेको हो । अबको विश्व अमेरिकी नेतृत्वको एकध्रुवीय नभई बहुध्रुवीय बनेको छ भन्ने तथ्यलाई अमेरिकाले पचाउन नसकेको मिल्लेको अभिव्यक्तिबाट स्पष्ट हुन्छ ।
हुन पनि अमेरिकाले चीन र रुसलाई पहिलेपहिले क्षेत्रीय शक्ति भन्ने गरेको थियो । तर अहिले चीनले हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेपछि चीन अमेरिकाको पहिलो नम्बरको चुनौती बनेको मिल्लेले बताए ।
विश्व व्यवस्थामा यसरी तीव्र परिवर्तन आएर बहुध्रुवीयताको विकास भइरहेको सत्य हो तर मिल्लेको यो भनाइलाई हतियार उद्योगको आकांक्षासँग पनि जोडेर हेर्नुपर्ने हुन्छ । अमेरिकी सेनाले आफूलाई थप आधुनिकीकरण गर्नुपर्ने भनी मिल्लेले परोक्ष रूपमा उच्च प्रविधिका हतियार किन्नका लागि अमेरिकी सरकारलाई जोड दिएका हुन् ।
सन् २००१ को ट्विन टावर आक्रमणपछि आतंकविरुद्धको युद्धमा हातहतियार आपूर्ति गरेर अकूत पैसा कमाएको हतियार उद्योग अर्को विशाल स्तरको युद्धको खोजीमा छ । सर्बियाली पत्रकार नेबोस्जा मालिचका अनुसार, उक्त युद्धमा अत्याधुनिक प्रविधिका हतियार बेच्न नपाएर हतियार उद्योग छटपटाएको थियो किनकि त्यो महाशक्तिविरुद्धको युद्ध नभई गुरिल्ला तहको गैरराज्य शक्तिहरूविरुद्धको युद्ध थियो । त्यस्ता शक्तिहरूविरुद्ध अत्याधुनिक हतियार प्रयोग गर्न पाउने गुञ्जायस थिएन ।
तर अहिले चीनको चुनौतीले गर्दा अमेरिकालाई अत्याधुनिक महंगो हतियारमा लगानी गर्न बहाना मिलेको छ ।
चीनले लगातार आणविक हतियारहरूको संख्यामा वृद्धि गरेको भनी अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले अघिल्लो साता एउटा प्रतिवेदन प्रकाशित गरेको छ । सन् २०३० सम्ममा चीनसँग एक हजार आणविक वारहेड हतियार हुने अनुमान पेन्टागनको छ र सन् २०५० सम्म उसले अमेरिकाको विश्वव्यापी प्रभावलाई पछि पार्ने प्रतिवेदनमा उल्लेख छ ।
त्यसैले अमेरिकाले पनि आणविक हतियारको दौडमा पछि नपर्नका लागि थप लगानी गर्नुपर्ने पेन्टागनको प्रतिवेदनको आशय हो । पूर्वाधार विकासका लागि १२ खर्ब डलर बराबरको विधेयक पारित गर्न अनेकौं माथापच्ची गरेको अमेरिकी संसद्ले हतियार खरिदका लागि चाहिँ सजिलै मान्नेछ किनकि हतियार उद्योगको पकेटमा रहेका अमेरिकी सांसदहरूका लागि जनताको भलाइ भन्दा पनि अमेरिकाको हतियार शक्तिमा बढी लगाव छ ।
त्यसो त अमेरिकाले चिनियाँ अत्याधुनिक हतियारको प्रतिरक्षाका लागि प्रणालीहरू विकसित गर्नुपर्ने बाध्यतालाई पनि नकार्न मिल्दैन । चीनको हाइपरसोनिक क्षेप्यास्त्रले अमेरिकी रक्षाप्रणालीलाई बेकामे तुल्याइदिने भनी विज्ञहरूले अनुमान गरिरहँदा अमेरिकाले रक्षा प्रणालीमा खर्च गर्नैपर्ने भएको छ । चीनले आणविक हतियारको पहिलो प्रयोग नगर्ने (नो फ्र्स्ट युज) भनी आश्वस्त तुल्याएको भए पनि युद्धको परिस्थितिमा त्यसको प्रयोगलाई नकार्न सकिँदैन ।
त्यसो त अमेरिकाले आक्रमणका लागि समेत आफ्ना आणविक हतियारहरूलाई लगातार अद्यावधिक गरिरहेको छ । ग्लोबल टाइम्समा ल्यु स्वानचुन र क्वो युआनदानले तयार पारेको रिपोर्टमा उल्लेख गरिएअनुसार, अमेरिकाले अत्याधुनिक माइन्युटम्यान तेस्रो अन्तर्महादेशीय क्षेप्यास्त्र बनाइरहेको छ ।
त्यस्तै उसले ओहायो क्लास पनडुब्बीको साटो अर्को पुस्ताको कोलम्बिया क्लास पनडुब्बी बनाउन थालेको छ । अनि उसले नयाँ बमवर्षक विमान बी–२१ स्टेल्थ बम्बर पनि विकसित गरिरहेको छ । उसले एफ–३५ लडाकू विमानमा बी६१–१२ ट्याक्टिकल न्युक अर्थात् आणविक हतियार पनि जडान गर्दैछ ।
हतियारमा यसरी निरन्तर लगानी बढाइरहेको अमेरिकालाई यतिले मात्र नपुग्ने भएकाले थप लगानी गर्नका लागि मिल्लेका भनाइले थप बहाना दिएको छ । त्यसो त पेन्टागनले हाइपरसोनिक प्रणाली विकास गर्नका लागि अर्को वर्ष ३.८ अर्ब डलर बजेट छुट्ट्याउने भएको सीएनएनको समाचारमा उल्लेख छ ।
यसरी महाशक्तिहरूबीच हतियारको दौड शुरू हुनुले विश्व बहुध्रुवीयता बनिसकेको संकेत दिनुका साथै महाशक्तिहरूबीच युद्धको परिस्थिति पनि निर्माण हुँदै गएको अशुभ लक्षण देखाएको छ ।