सुदूरपश्चिम प्रदेशका निवर्तमान प्रदेश प्रमुख गंगाप्रसाद यादव दिपावली र छठ पर्व मनाउन एक साताअघि गृह जिल्ला सप्तरी पुगेका थिए ।
मंगलबार साँझ राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको नयाँ प्रदेश प्रमुखहरूको नामावली सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि मात्रै उनले आफू पदमुक्त भएको जानकारी पाए ।
चाडबाड बिदामा रहेका बेला पदमुक्त भएका यादव अब सुदूरपश्चिम नफर्किने मनस्थितिमा छन् ।
६८ वर्षीय यादवले वैशाख २४ गते सुदूरपश्चिम प्रदेश प्रमुखको पदभार ग्रहण गरेका थिए ।
त्यसो त सक्रिय राजनीतिबाटै प्रदेश प्रमुख बनाइएका उनी सरकार परिवर्तनसँगै आफ्नो पदावधि सकिनेमा निश्चित थिए । दिनगन्ती गरेरै बसेको बताउँछन्, उनी । तर अन्तिम मितिबारे भने अनविज्ञ थिए ।
उनी केपी शर्मा प्रधानमन्त्री हुँदा प्रदेश प्रमुखमा नियुक्त भएका थिए । सुदूरपश्चिमको नयाँ प्रदेश प्रमुखमा बाजुराका देवराज जोशी चयन भएका छन् ।
यसरी सरकार परिवर्तन भएपिच्छे प्रदेश प्रमुख फेरिनु दुर्भाग्य भएको उनले बताए ।
‘जुन सरकार आयो, त्यसैको प्रदेश प्रमुख हुन्छ । यो राजनीतिक पद्धतिको रूपमा विकास भइसकेको छ । त्यसैमा आफू पनि परियो । यो देशको लागि दुर्भाग्य हो । यहाँ त कोही एक महिना पनि बस्न पाउँदैनन् ।’
राजीनामा दिन गएको थिएँ
बेला न कुबेला हुने राजनीतिक नियुक्ति र पदमुक्त गर्ने प्रथाबाट आजित भएका यादव केपी ओली प्रधानमन्त्रीबाट पदमुक्त हुनेबित्तिकै राजीनामा दिने तयारीमा थिए, तर रोकिए ।
उनले भने, ‘म त राजनीति गर्ने मान्छे हो । यो राजनीतिक नियुक्ति त्यस्तै हो । केपी ओलीज्यू प्रधानमन्त्रीबाट पदमुक्त भएलगत्तै राजीनामा दिन भनेर काठमाडौं गएका थिएँ । तर साथीभाइले नदिन सुझाव दिएपछि दिन कुरेर बसेको हुँ ।’
उनले ६ महिना सुदूरपश्चिम बसाइ आफ्नो लागि सुखद रहेपनि सोचेको काम गर्न नसकेको बताए ।
उनले भने, ‘बसाइ राम्रो भयो । सबैको सहयोग पाइयो । त्यहाँको वातावरण राम्रो छ । प्रदेश सरकारको राम्रो सहयोग पाएँ । मैले पनि संविधानको परिधिभित्र रहेर काम गरेँ । तर केही काम गर्न खोजेको थिएँ, समयले मौका पर्न सकिएन ।’
पदमुक्त भएपछिको शेष जीवन सक्रिय राजनीतिमा बिताउने समेत उनको भनाइ छ ।
उनको खुलापन र सादगी छविले उनमा संवैधानिक मर्यादाको भाव नै झल्किँदैन । जुन कारण आफ्नो लामो राजनीतिक जीवनको क्रममा उनी जनतामाझ छाएका छन् ।
को हुन् उनी ?
२०२२ सालमै उनी वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
२०२८ सालमा राप्रपानिकट युवक संगठनको जिल्ला सभापति भएका सोही वर्ष गोरखा दक्षिणबाहु पदक समेत प्राप्त गरेका थिए ।
२०३३ सालमा प्रधानपञ्च र २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि उनी सप्तरीकै जुगनिया गाविस अध्यक्ष भएका थिए ।
२०५९ मा राप्रपा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य भएका हुन् ।
राप्रपाबाटै संविधान सभा सदस्य (२०७०) बनेका उनी उपसभामुखसम्मको उच्च ओहोदामा बसिसकेका छन् ।
उनी पछि एमालेमा प्रवेश गरेका थिए ।