०४ साउन २०८३, सोमबार
अर्थमन्त्रीको अपरिपक्वता

अर्थमन्त्रीको ध्यान भाषणमा मात्र, विकास खर्च ठप्प

मंसिर १४, २०७८
अर्थमन्त्रीको ध्यान भाषणमा मात्र, विकास खर्च ठप्प

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्माले गत असार २९ गते अर्थमन्त्रीको रूपमा जिम्मेवारी सम्हालेका थिए । 

मुलुककै अर्थतन्त्रको बागडोर सम्हाल्ने जिम्मेवारीमा पुगेका उनले शुरूदेखि नै आफू अर्थतन्त्रका बारे धेरै जानकार नरहेको भन्दै अध्ययन गर्ने र समस्या पत्ता लगाउने अनि दिगो समाधान गर्ने भाषण पिट्न थाले । 

उनले पछिल्लो समय जुनसुकै सार्वजनिक मञ्चमा गरिरहने एउटा भाषण हो, पूँजीगत खर्च बढाएर विकास निर्माणको काम अगाडि बढाउनुपर्छ ।

गत बिहीवार अर्थमन्त्रीले विभिन्न कार्यक्रमहरूमा सहभागी भए । तीमध्ये २ वटा कार्यक्रममा उनको मन्तव्य उस्तै थियो ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले पूँजीगत खर्च बढाएर विकास निर्माणलाई अगाडि बढाउनुपर्ने कुरा मात्र गरेनन्, निजी उद्योगीलाई राष्ट्र हितमा काम गर्न सम्झाए पनि । 

त्यसपछि उनले विकास निर्माणको काममा साधन स्रोतको अभाव नभएको बताउँदै त्यसको व्यवस्थापकीय कला भने अभाव रहेको सुनाए । 

उनको मूल भाषण पूँजीगत खर्च बढाउनेतर्फ नै थियो । 

दिउँसो अर्थमन्त्रालयको त्रैमासिक प्रगति समीक्षामा पनि अर्थमन्त्री शर्माले पूँजीगत खर्च बढाउनुपर्नेमा जोड दिए ।

उनले समीक्षा कार्यक्रममा बोल्दै पूँजीगत खर्च विद्यमान प्रणालीबाट उल्लेख्य रूपमा नभए नयाँ प्रणाली अपनाउनुपर्ने बताए । 

पूँजीगत खर्च उल्लेख्य रूपमा नबढेकोप्रति असन्तुष्टि समेत उनले जनाएको मन्त्री शर्माको सचिवालय बताउँछ । 

*****

अर्थमन्त्री शर्माको मन्त्रालयमा आएदेखिकै रटान बन्यो पूँजीगत खर्च बढाउने । तर मन्त्री आएको ५ महिना भयो, पूँजीगत खर्च अत्यन्तै निराशाजनक छ । 

आर्थिक वर्ष २०७८/७९ को ४ महिना पूरा भइसक्दा विकास खर्च जम्मा ५.७ प्रतिशत भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मंसिर ८ गतेसम्ममा २२ अर्ब १४ करोड ९ लाख रूपैयाँ मात्रै खर्च भएको छ ।

चालू आर्थिक वर्षमा ४ खर्ब ३९ अर्ब ६५ करोड ९ लाख रूपैयाँ पूँजीगत खर्च गर्ने सरकारी लक्ष्य छ । तर ४ महिना बितिसक्दा खर्चको हालत भने निकै लज्जास्पद रहेको महालेखा नियन्त्रकको कार्यालयका एक उच्च कर्मचारीले लोकान्तरसँग भने । 

अघिल्लो वर्ष पनि पूँजीगत खर्च त्यति राम्रोसँग हुन सकेको थिएन । यद्यपि अहिलेको हालतमा पनि थिएन ।

चालू आर्थिक वर्ष २०७७/७८ को मंसिर ८ गतेसम्ममा ८.४८ प्रतिशत पूँजीगत खर्च भएको थियो । 

सो आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रूपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखिएकोमा मंसिर ८ गतेसम्ममा ८.४८ प्रतिशत अर्थात २९ अर्ब ९२ करोड ८२ लाख रूपैयाँ मात्रै खर्च भएको थियो ।  

पूँजीगत खर्च भाषणले हुने हो ?  

अर्थमन्त्री शर्माले पूँजीगत खर्च बढाउने भाषण गरिरहँदा के गर्दा यो बढ्छ भन्ने सोच्न नसकेको अर्थ मन्त्रालयकै एक कर्मचारी बताउँछन् ।

पछिल्ला दिनहरूमा त झनै कर्मचारीमा जबरजस्ती भय सिर्जना गर्ने, आफूले भनेको हुनैपर्ने जस्ता व्यवहारदेखि कर्मचारी वृत्त नै आजित बनेको उनको दाबी छ ।

‘सिधा भन्न पनि नसकिने अवस्था छ सर, सम्भवतः नेपालको इतिहासमा सबैभन्दा बढी भाषण गर्ने अर्थमन्त्री उहाँ (जनार्दन शर्मा) नै हुनुहुन्छ,’ अर्थ मन्त्रालयका उच्च तहका एक कर्मचारीले लोकान्तरसँग भने, ‘भाषण मात्र गरेर पूँजीगत खर्च बढ्दैन । खर्च गराउने ठाउँमा काम गर्ने व्यक्तिभन्दा पनि आफ्नै मान्छे लैजाने उनको सोच हुन्छ । हेर्नुस् न, पछिल्लो समय भइरहेका काम पनि रोकिएका छन्, अनि कहाँ पूँजीगत खर्च हुन्छ,’ ती कर्मचारीले बताए ।  

पूँजीगत खर्च बढाउन नसक्दा बैकिङ क्षेत्रमा तरलता अभाव रहेको छ भने विकासका कामहरू ठप्प छन् ।

यसरी खर्च नै ठप्प हुँदा समेत अर्थमन्त्री शर्माले भाषण तथा सीमित चर्चा मात्रै चाहेको अर्थ स्रोत बताउँछ ।

पूँजीगत खर्च बढाउन के गर्ने ? 

पूर्व अर्थसचिव रामेश्वर खनालले पूँजीगत खर्च बढाउनका निम्ति अर्थमन्त्रालयले कामलाई नै मुख्य प्राथमिकतामा राख्नुपर्ने बताउँछन् । 

राजनीतिक अस्थिरताको निहुँमा पछिल्लो समय आयोजनाका कामहरू अगाडि नबढेको भन्दै उनले पूँजीगत खर्च गर्नमा बाधक अर्थमन्त्रालय आफैं भएको दाबी गरे । 

उनले भने, ‘आयोजनाहरू जहाँजहाँ काममा ढिलाइ भइरहेको छ, त्यहाँ काम कसरी हुन्छ छिटो गर्नुपर्छ, यसमा अर्थमन्त्रीले विशेष ध्यान र चासो दिनुपर्ने देखियो ।’

अर्थमन्त्रालय भन्छ– पुसबाट खर्च बढ्छ कि !

अर्थमन्त्रालयले भने अहिले चाडपर्वको समय भएका कारण पूँजीगत खर्च नभएको बताएको छ । 

अर्थमन्त्रालयका प्रवक्ता रितेश शाक्यले लोकान्तरसँग भने, ‘चाडपर्वको समयले पनि पूँजीगत खर्च हुन सकेन । फेरि यसपटक राजनीतिक कारण समय केही लम्बिएको हो ।’

उनले पुसदेखि पूँजीगत खर्च बढ्ने अपेक्षा गरिएको समेत सुनाए । 

‘पुसबाट विकासका कामहरूले तीव्रता पाउने देखिन्छ, त्यसपछि खर्च बढ्छ,’ उनले भने ।

प्रवक्ता शाक्यले अहिले पूँजीगत खर्च हुन नसक्दा तरलता अभाव भइरहेको तथा विकासका काम पनि अगाडि बढ्न नसकेकोमा अर्थ मन्त्रालय जानकार रहेको सुनाए । 

उनले पुसबाट भने खर्च बढ्ने र तरलता प्रवाह हुनेमा विश्वस्त हुन आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्