०३ साउन २०८३, आइतबार

लुम्बिनी प्रादेशिक अस्पतालमा सेवासुविधा थपिँदै

लुम्बिनी प्रादेशिक अस्पतालमा सेवासुविधा थपिँदै

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सुविधासम्पन्न हुने दिशामा अगाडि बढेको छ ।

अस्पतालले सेवासुविधा थप र सर्वसुलभ बनाउँदै लगेको छ । 

अस्पताल परिसरभित्रै हालै निर्माण सम्पन्न भएको विशाल भवनमा समेत आफ्नो विस्तारित सेवा शुरू गरेर सेवाग्राहीलाई सेवा प्रवाह गरिरहेको छ । प्रादेशिक अस्पतालभन्दा नाक खुम्चाउने बिरामीहरूको रोजाइँमा अस्पतालको उपचार सेवा पर्न थालेको छ । 

आफ्नो १०० दिने कार्यप्रगतिबारे बिहीवार जानकारी दिँदै मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले अस्पताललाई नमूना र जनताको सहज उपचार पाउने अस्पतालको रूपमा विकास हुँदै गएको बताए । 

उनले आफ्नो १०० दिनमा १९ वटा महत्त्वपूर्ण काम भएका फेहरिस्त समेत प्रस्तुत गरे । अस्पतालले हालै विस्तारित सेवा सञ्चालनमा ल्याएको छ ।

अब अस्पतालमा दैनिक ५ जना बिरामीले शल्यक्रिया सेवा रातिको समयमा पनि लिन सक्नेछन् । पेइङ वार्ड पनि सञ्चालनमा आएको छ । १० शय्याको पेइङ सञ्चालनमा आएको छ । यसलाई छिट्टै २२ शय्यामा विस्तार गरिने डा. ढकालले बताए । 

कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानसँग एमडीएमएस अध्ययन र अध्यापनको निम्ति सम्झौता गरिएको छ । बढ्दो मुटु रोगका विरामीलाई मध्यनजर गर्दै सुविधासम्पन्न मुटु रोग विभाग स्थापना प्रक्रिया अगाडि बढाई ‘क्याथ ल्याब’का लागि टेन्डर गरिएको छ ।

न्यूरो सर्जरीलाई व्यवस्थित गर्दै २४सैं घण्टा ४ शय्याको न्यूरो एचडीयू सेवा विस्तार गरिएको छ ।  ट्रमा सेन्टर रूम स्थापना, इमरजेन्सी वार्डलाई ३५ शय्यामा विस्तार, क्यासलेस डिस्चार्ज काउन्टर, पेपरलेस डिस्चार्ज सिस्टम तथा इमरजेन्सी काउन्टर बनाइएको ढकालले बताए ।

कोरोना महामारीको सहज व्यवस्थापनका लागि कोरोनाका सबै बिरामीका लागि एउटै भवन सञ्चालनमा ल्याइएको छ । बिरामीको भिजिटिङ कार्य, डायलाइसिस सेवालाई १२ बाट १७ वार्डमा विस्तार, अक्सिजन प्लान्ट स्थापना, दाँतको उपचारको जाँच गर्न सीबीसीटी सञ्चालन, न्यूरो विभागमा ईईजी सेवा विस्तार, स्त्री रोगको ओपीडी र ईसीजी विस्तार, इन्डोस्कोपी हप्तामा ४ पटक लगायतका सेवा थप भएका छन् । 

अस्पतालमा दैनिक १ हजार बिरामी उपचारका लागि आउने गरेका अस्पतालको तथ्यांकमा छ । ६ शय्याको आईसीयूलाई ४० शय्यामा विस्तार गर्ने अस्पतालको योजना छ । क्यान्सर रोग विस्तार, अनलाइन टिकटिङ, टेलिमेडिसिन सेवा पनि सञ्चालन गर्न पहल थालिएको छ । 

अस्पतालमा अहिले ५२० शय्या सञ्चालनमा छन् । ७० चिकित्सकसहित अस्पतालमा ७२० जना कर्मचारी कार्यरत छन् । अस्पतालमा अहिले कोरोना चेकजाँचका लागि बिरामी बढे पनि भर्ना हुने दर भने नबढेको अस्पतालले जनाएको छ ।

‘पीसीआर जाँच बढेको छ । इमर्जेन्सीमा बिरामी आएका छन् तर जटिल संक्रमण भएका बिरामी बढेका छैनन्,’ डा. ढकालले भने । 

मुलुक संघीय शासन प्रणालीमा गएपछि अस्पताल प्रदेश मातहत आएको हो । लुम्बिनी अञ्चलका १२ जिल्ला, गण्डकीका बागलुङ, स्याङ्जा र पर्वतका बिरामीहरूको लागि पायक पर्ने अस्पताल हो । अस्पताल उपचारका लागि आउने सबैजसो बिरामीहरूको उपचारमा समेत थप सहज भएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्