०३ साउन २०८३, आइतबार

पाटन अस्पतालमा मेडिकल अक्सिजन प्लान्ट सञ्चालन

पाटन अस्पतालमा मेडिकल अक्सिजन प्लान्ट सञ्चालन

ललितपुरस्थित पाटन अस्पतालमा जडान गरिएको मेडिकल अक्सिजन प्लान्ट शुक्रवारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

नेपाल सरकार र ललितपुर महानगरको आर्थिक सहयोगमा पाटन अस्पतालमा जडान गरिएको प्लान्टको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे ।

भदौंदेखि नै परीक्षणमा रहेको प्लान्टलाई औपचारिक रूपमा शुक्रवारबाट सञ्चालनमा ल्याइएको हो । ३ करोड लागतमा जडान भएको प्लान्टका लागि महानगरले १ करोड गत माघ महिनामा हस्तान्तरण गरेको थियो । 

महानगर प्रमुख चिरीबाबु महर्जनले कोरोना संक्रमणको महामारी अझै बाँकी रहेकाले अक्सिजन प्लान्टको जडानले कोराना बिरामीको उपचार गर्न सहज हुने बताए । पाटन अस्पतालले कोरोनाको पहिलो र दोस्रो लहरमा बिरामीको उपचारमा गरेको कामको उनले प्रशंसा गरे ।

उनले भने, ‘त्यतिबेला म स्थानीय सरकारको प्रमुखको हैसियतले चिकित्साकर्मीको हौसला बढाउन अस्पताल आएको थिएँ, यहाँको अक्सिजन प्लान्ट बिग्रिएर जानकारी पाएपछि सहयोगको कुरा अघि बढाएको हुँ ।’

अस्पताललाई आवश्यक अन्य सहयोग महानगरले गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । उनले भने, ‘त्यत्तिबेला मर्चरी हाउसको पनि कुरा उठेको थियो तर अक्सिजन प्लान्ट आवश्यक भएर प्लान्टका लागि सहयोग गर्‍यौं, अब अर्को पटक चुनाव जितेर आएपछि मर्चरीको लागि सहयोग गर्छौं ।’

प्लान्टले दैनिक ५० लिटरको २२० सिलिन्डर अक्सिजन उत्पादन गर्ने अस्पतालका निर्देशक प्रा.डा. रवि शाक्यले जानकारी दिए । 

डा. शाक्यले मुलुकमा दोस्रो लहरको कोरोना भित्रिँदा आफूहरूले अक्सिजन अभावमा पाएको दुःख स्मरण गर्दै प्लान्टको सहयोगले कोभिडको सम्भावित तेस्रो लहरलाई समेत थेग्न सक्ने गरे ।

उनले भने, ‘महानगरले हाम्रो अस्पतालप्रति अभिभावकत्व ग्रहण गरेको देख्दा आवश्यक सहयोग पाउने अपेक्षा गरेका छौं ।’

प्रतिष्ठानका उपकूलपति डा. राजेशनाथ गोगंलले कोभिडको दोस्रो लहर रहँदा आफूहरूको सामथ्र्यले भ्याएसम्म बिरामीको सेवा गरेको जानकारी गराउँदै आगामी दिनमा जस्तोसुकै विपत सिर्जना भए तापनि प्लान्टले नै अक्सिजन पुग्ने जिकीर गरे ।

उनले भने, ‘ललितपुर भित्रको एक मात्रै महानगरले जनताको स्वास्थ्यप्रति संवेदनशील भएर गरेको उदारहणीय सहयोगले हामीलाई सेवामा खट्न ऊर्जा मिलेको छ ।’ 

अस्पतालका कोभिड फोकल पर्सन डा. आशिस श्रेष्ठले अस्पतालले बनाएको विपद् व्यवस्थापन योजनाका कारण आफूहरूले कोरोनाको जोखिमलाई व्यवस्थित गर्न सफल भएको बताए । कोरोनाको पहिलो र दोस्रो लहरमा अक्सिजन अभावले काम गर्न असजिलो भएको बताउँदै प्लान्ट जडानले महामारीसँग लड्न ऊर्जा दिएको प्रस्ट पारेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्