
कोरोना भाइरस संक्रमणको तेस्रो लहरसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमणको ग्राफ उकालो लागेको छ ।
कोरोना बढेसँगै सीमा नाका भएर ओहोरदोहोर गर्नेहरूको भीड समेत बढेको छ तर स्वास्थ्य सुरक्षा संवेदनशीलता अपनाइएको छैन ।
भारतीय सीमावर्ती बजारमा किनमेल गर्ने नेपालीको घुइँचो लाग्दै आएको छ । त्रिनगर–गौरीफन्टा नाका भएर दैनिक हजारौं नेपाली किनमेलका लागि सीमावर्ती बजार पुग्दै आएका छन् । कैलाली–कञ्चनपुरका नागरिक किनमेलका लागि नजिकैको भारतीय बजार वनगाउँ जान्छन् ।
सीमावर्ती भारतीय बजार जाँदै गरेका कैलालीको घोडाघोडी नगरपालिकाको सुख्खडका डीके धामीले भने, ‘कोरोना छ भन्ने त थाहा छ तर के गर्नु ? त्यहाँ सस्तो पाइन्छ । त्यसैले त्यहीँबाट सामान किन्छौं ।’
उनी मात्रै होइन, सीमा नाका भएर दैनिक सयौं नेपाली किनमेलको लागि भारतीय बजार पुग्दै आएका छन् ।
सुदूरपश्चिमको त्रिनगर–गौरीफन्टा नाका, गड्डाचौकी र खक्रौलासँगै अन्य अवैध नाका भएर पनि दैनिक रूपमा किनमेलका लागि सीमावर्ती भारतीय बजार पुग्ने क्रम कम हुन सकेको छैन । दैनिक उपभोग्य सामग्री खरिद गर्नेदेखि सीमा बजारबाट बिक्रीका लागि सामान ओसार्ने काम हुँदै आएको छ ।
धनगढीकी बिना मगरले भनिन, ‘यहाँ १ किलो सामान पाउने पैसाले भारतीय बजारमा २ किलो आउँछ । त्यसैले यता महंगो हुने भनेर भारत जान लागेका हौं ।’
भारतमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि रोजगारीबाट फर्किने नेपालीको पनि नाकामा भीड हुने गरेको छ ।
स्वास्थ्य सुरक्षाप्रति संवेदनशीलता नअपनाउँदा सीमा नाकामा झनै जोखिम रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

त्रिनगर गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदले भारतबाट आउनेहरूको मात्रै कोरोना परीक्षण भइरहेको तर यहाँ सामान्य रूपमा आवतजावत गर्नेहरू धेरै भएकाले भारतबाट आउनेहरूसँगै सवारीसाधनमा आउजाउ गर्दा जोखिम निम्तिएको बताए ।
यसैबीच, प्रदेशको सबैभन्दा बढी जोखिम कैलाली र कञ्चनपुर जिल्लामा देखिएको भन्दै स्थानीय प्रशासन कार्यालयले पुस २८ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । हाल विद्यालय तथा शैक्षिक संस्थामा पठनपाठन बन्द गराइएको छ तर बजारमा भने भीडभाड हुँदै आएको छ ।
एकै स्थानमा भौतिक रूपमा २५ जनाभन्दा बढी व्यक्ति जम्मा हुन नपाउने, कुनै पनि प्रकारका सभा, मेला र जात्रा समेत गर्न नपाउने स्थानीय प्रशासनले आदेश जारी गरेको छ तर कार्यान्वयन नहुँदा जोखिम बढेको छ ।
‘६० प्रतिशतले संक्रमण बढ्दैछ’
सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप श्रेष्ठले पछिल्लो १ हप्तायता संक्रमण उच्च दरमा वृद्धि भएको जानकारी दिए ।
उनले भने, ‘पुस २७ गतेदेखि संक्रमण उच्च दरमा बढिरहेको छ । ४० प्रतिशतको दरले बढेको देखिन्छ । माघ ३ गतेसम्मको परीक्षण रिपोर्ट हेर्दा अहिले ६० प्रतिशतले बढेको देखिन्छ । आज १५६ जनाको पीसीआर परीक्षण गर्दा ५९ जनामा संक्रमण देखियो तर सुरक्षा संवेदनशीलता छैन ।’
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीको पछिल्लो तथ्यांक अनुसार १ हजार ४२९ जनाको परीक्षण गर्दा २८३ जनामा संक्रमण देखिएको छ भने १ जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ । सुदूरपश्चिममा हालसम्म कोरोना संक्रमण भई ६१५ जनाको मृत्यु भएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सीमा नाकामा भारतबाट आउनेहरूको अनिवार्य एन्टीजेन विधिबाट परीक्षण हुँदै आएको र परीक्षणको दायरा बढाउँदै लगिएको बताए ।
क्रमिक रूपमा होटल, सरकारी तथा गैरसरकारी कार्यालयमा पनि उच्च सतर्कता अपनाउँदै काम गर्न निर्देशन जारी गरेको उल्लेख गर्दै प्रजिअ थापाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्नेमा जोड दिए ।