
कोभिड–१९ सङ्क्रमणका बेला महामारी नियन्त्रणका लागि नेपालमा जारी बन्दाबन्दीका समयमा यहाँ अलपत्र परेका आफ्नो देशका नागरिकको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै नेपालस्थित अमेरिकी दूतावासले नेपाल पर्यटन बोर्डलाई सम्मान गरेको छ ।
दूतावासको टाउन हलमा आज आयोजित भर्चुअल कार्यक्रममा दूतावासले बोर्डलाई सम्मान गरेको हो । बन्दाबन्दीको कठिन समयमा बोर्डले उद्धार उडानमार्फत आफ्नो देशका पर्यटकलाई स्वदेश फिर्ता गर्न सहयोग गरेको र त्यो कार्यको अमेरिकी जनता र दूतावासले उच्च मूल्याङ्कन गरेको उल्लेख गर्दै बोर्डलाई उक्त सम्मान प्रदान गरिएको दूतावासले जनाएको छ ।
कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले नेपाल र अमेरिकाबीच लामो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको आर्थिक सामाजिक विकासमा अमेरिकाले सधैँ सहयोग गर्नेसमेत बताए ।
दूतावासको सम्मानपछि प्रतिक्रिया दिँदै बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले कोभिडका समयमा नेपालले गरेका कार्यबाट बोर्डले सम्मान पाउनु नेपाली पर्यटन क्षेत्रका लागि खुसीको कुरा भएको बताए ।