माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
माघ ११, २०७८
उत्तर कोरियाले सन् २०२२ शुरू भएदेखि ६ पटक क्षेप्यास्त्र परीक्षण गरिसकेको छ । यसक्रममा उसले हाइपरसोनिक, ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्रहरू परीक्षण गरेको जानकारी दिएको छ ।
विगतमा व्यापक संख्यामा क्षेप्यास्त्र परीक्षण गर्ने गरेको उत्तरले बीचमा केही समय परीक्षण रोकेको थियो । सन् २०१७ पछि उत्तरले अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र वा आणविक हतियारको परीक्षण गरेको छैन ।
विशेषगरी अमेरिकासँग वार्ताको पहलका क्रममा उत्तरले परीक्षणबाट ‘ब्रेक’ लिएको थियो । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले तीनपटक भेटेर शिखरवार्ता गरेका थिए । तर उक्त वार्ताहरू कुनै पनि निष्कर्षमा पुग्न सकेनन् ।
अमेरिकासँगको वार्ता निष्कर्षविहीन बने पनि उत्तरले परीक्षण रोकिरहेको थियो । यसबीचमा किमले उत्तर कोरियाको अर्थतन्त्र कमजोर बनेको स्वीकार गर्र्दै जनतासामु रोएर अमेरिकालाई पनि प्रतिबन्ध हटाउनका लागि संकेत दिएका थिए ।
तर अमेरिकाले किमलाई बेवास्ता गरेपछि गत बिहीवार उत्तर कोरियाले आणविक तथा लामो दूरी क्षेप्यास्त्रहरूको परीक्षणमा आफैंले लगाएको रोक हटाउने चेतावनी दिएको थियो । सत्तारूढ दल वर्कर्स पार्टीको हालै सम्पन्न पोलिटब्युरो बैठकले उत्तर कोरियामाथि अमेरिकाको शत्रुतापूर्ण व्यवहार तीव्र बन्दै गएको र यसलाई बेवास्ता गर्न नसकिने निष्कर्ष निकाल्दै क्षेप्यास्त्र परीक्षण जारी राख्ने निर्णय लिएको हो ।
अमेरिकाले दुई साताअघि उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएपछि उत्तरको सत्तारूढ दलले क्षेप्यास्त्र परीक्षणको गति बढाउने निर्णय लिएको देखिन्छ । उत्तरले लगातार क्षेप्यास्त्र परीक्षण गरिरहेकाले अमेरिकाले ६ जना उत्तर कोरियाली अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको बताएको छ ।
त्यसो त अमेरिकाका राष्ट्रपति जो बाइडनले पदभार सम्हालेलगत्तै उत्तर कोरियालाई वार्ताको टेबलमा ल्याएर आणविक बम तथा क्षेप्यास्त्र त्याग्नका लागि फकाउन कोशिश गरेका हुन् । तर उनले यसमा आशा गरेअनुसारको सफलता पाउन सकेका छैनन् ।
सफलता नपाएपछि अमेरिकी संस्थापन पक्षले पहिलेदेखि नै अपनाउने गरेको कठोर नीति बाइडनले अवलम्बन गरेका हुन् । अमेरिका र दक्षिण कोरियाबीचको सैन्य गठबन्धनलाई केन्द्रमा राख्ने उक्त नीतिले उत्तरलाई प्रतिबन्धमार्फत नै वार्ताका लागि बाध्य बनाउने सोच राख्छ । तर प्रतिबन्धले अमेरिकी अभीष्ट पूरा नभएको र उल्टो उत्तरले थप क्षेप्यास्त्र परीक्षण गरिरहेको संसारले देखेको छ ।
खासमा बाइडन प्रशासनले उत्तर कोरियाका विषयमा गम्भीरता नै नदेखाएको वर्ल्ड पोलिटिक्स रिभ्युमा भ्यान ज्याक्सनले आरोप लगाएका छन् । सन् २०२१ को अप्रिल ३० मा ह्वाइट हाउसकी प्रेस सचिव जेन पिसाकीले उत्तर कोरियाका विषयमा महिनौंसम्म नीतिगत समीक्षा गरेको जानकारी दिएकी थिइन् ।
तर यसको विस्तृत जानकारी उनले सञ्चारकर्मीहरूलाई उपलब्ध नगराएर प्रशासन यसमा गम्भीर नरहेको संकेत दिइन् । समीक्षामा उपयोगी नीति केही नभएकाले बाइडन प्रशासन त्यसको विस्तृत विवरण दिन हिचकिचाएको ज्याक्सनको निष्कर्ष छ ।
हुन त अमेरिकाको संस्थापन पक्षले उत्तर कोरियालाई गम्भीरतापूर्वक लिन नहुने धारणा राख्ने गरेको छ । उत्तरले विगतमा पनि प्रतिबन्ध फुकुवाका लागि बार्गेनिङ गर्ने गरेको अनि आणविक हतियार जस्ता केन्द्रीय रणनीतिक विषयहरूमा सम्झौता गर्न ऊ इच्छुक नरहेकोे धारणा अमेरिकीहरूमाझ प्रबल छ । त्यसैले उत्तरलाई वार्ताको टेबलमा ल्याउन अमेरिका गम्भीर देखिँदैन ।
अमेरिकालाई आफूप्रति गम्भीर बनाउनका लागि नै किमले क्षेप्यास्त्र परीक्षणमा जोड दिएको देखिन्छ । अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले जनवरी १३ मा एमएसएनबीसीलाई दिएको अन्तर्वार्तामा उत्तर कोरियाले ध्यानाकर्षण गर्नका लागि क्षेप्यास्त्र परीक्षण गरिरहेको बताए । अमेरिकाले निःशर्त वार्ताका लागि गरेको प्रस्तावको जवाफ उत्तरले क्षेप्यास्त्र परीक्षणमार्फत फर्काएको उनको धारणा छ ।
अमेरिकाले उत्तर कोरियालाई पूर्ण निःशस्त्रीकरण गरिनुपर्ने बताउँदै आएको छ । तर आणविक क्षेप्यास्त्रको बलमा शासन टिकाइरहेका किमले जतिसुकै प्रतिबन्धको सामना गर्नुपरे पनि कुनै हालतमा हतियार त्याग्ने छैनन् । अमेरिका र उत्तर कोरियाको वार्ता हुन नसक्नुमा यही अडान भाँजो बनेको छ ।
ओरिएन्टल इकोनोमिस्ट नामक वेबसाइटमा डेनियल स्नाइडरले उत्तरको क्षेप्यास्त्र परीक्षणका विषयमा एउटा रिपोर्ट तयार पारेका छन् । त्यसमा उनले अमेरिकाको परराष्ट्र मन्त्रालयका पूर्व उपसचिव इभान्स रिभियरको भनाइ उद्धृत गरेका छन् । रिभियरका अनुसार, उत्तरले आफ्ना क्षेप्यास्त्रहरू दिनप्रतिदिन झन् झन् अत्याधुनिक र खतरनाक बन्दै गएको सन्देश दिएर अमेरिकालाई प्रतिबन्ध फुकुवाका लागि तर्साउन खोजेको हो ।
उत्तरका क्षेप्यास्त्रले अमेरिकाका सैन्य साझेदारहरू जापान र दक्षिण कोरियाका क्षेप्यास्त्रप्रतिरोधी प्रणालीलाई समेत बेकामे बनाउन सक्ने क्षमता हासिल गरिसकेको कतिपय विश्लेषकको भनाइ छ । त्यही क्षमताका आधारमा उत्तरले आफूमाथिको प्रतिबन्ध खुकुलो बनाउनका लागि दबाब दिन खोजेको हुनुपर्छ । तर त्यसले खासै काम गरेको देखिँदैन किनकि माथि उल्लेख भएअनुसार अमेरिकाले उत्तरमाथि ताजा प्रतिबन्ध लगाइसकेको छ ।
क्षेप्यास्त्र परीक्षणमार्फत जापान, दक्षिण कोरिया र अमेरिकालाई सन्देश दिनुका अलावा उत्तरले आफ्नै जनतालाई पनि राजनीतिक सन्देश दिन खोजेको ३८ नर्थ नामक वेबसाइटमा भ्यान डिएपन लेख्छन् । दक्षिण कोरियाको भन्दा आफूहरूको क्षेप्यास्त्र अत्याधुनिक र सशक्त रहेको अनि क्षेप्यास्त्र परीक्षणमार्फत देशको शक्ति थप बढेको सन्देश दिएर किमले आफ्नो शासनको औचित्य उत्तर कोरियालीहरूमाझ साबित गर्ने कोशिश गरेका हुन् ।
उत्तर कोरियाले हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरेको दाबी गरेकाले उसलाई गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ । हाइपरसोनिक क्षेप्यास्त्रले शत्रु मुलुकको क्षेप्यास्त्रनिरोधी प्रणालीलाई सजिलैसँग छल्न सक्छ किनकि यो रेडारमै आउँदैन । चीनले यस्तै किसिमको क्षेप्यास्त्र परीक्षण गर्दा अमेरिकाको मुटु हल्लिएको थियो र बाइडनले त्यस हतियारको प्रतिरोधी प्रणाली विकसित गर्न निर्देशन दिइसकेका छन् ।
त्यसो त उत्तरले हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको विषयमा अमेरिकी अधिकारीहरूले आशंका व्यक्त गरेका छन् ।
तर उत्तरका क्षेप्यास्त्रका विषयमा दक्षिण कोरिया सचेत हुनुपर्ने भोइस अफ अमेरिकाको वेबसाइटमा सुङवोन बाइक र क्रिस्टी लीले तयार पारेको रिपोर्टमा अंकित पान्डाले बताएका छन् ।
‘किम जोङ उन यान्ड द बम्ब ः सर्भाइभल यान्ड डिटरेन्स इन नर्थ कोरिया’ पुस्तकका लेखक पान्डाका अनुसार, दक्षिण कोरियाले उत्तरमाथि प्रथम आक्रमण (प्रिएम्पटिभ स्ट्राइक) गर्न नमिल्ने गरी उत्तरले अत्याधुनिक क्षेप्यास्त्र बनाएको छ । यस्तो आक्रमण भएमा कोरियाली प्रायद्वीप तहसनहस हुने संकेत उनले गरेका छन् ।
दक्षिण कोरियाले पनि गत सेप्टेम्बर महिनामा पनडुब्बीबाट ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेर आफूलाई हलुका रूपमा नलिन उत्तरलाई सन्देश दिएको थियो । तर उत्तरको अत्याधुनिक हतियारका सामु दक्षिणको हतियार त्यति प्रभावशाली देखिएको छैन ।
आफ्नो हतियार बलियो भएकैले गर्दा उत्तरले अमेरिकाको ध्यान आफूप्रति आकृष्ट गर्न सकिने सोच लिएको हुन सक्ने बेलायती भूराजनीतिक विश्लेषक टम फाउडी लेख्छन् । अमेरिकाले चीन र रुससँग शत्रुतापूर्ण सम्बन्ध राखिरहेकाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तरमाथिको प्रतिबन्धका विषयमा एकमत बनाउन सक्दैन ।
चीनका अधिकारीले उत्तर कोरियामाथिको प्रतिबन्ध प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन् । यसरी सुरक्षा परिषद्का स्थायी सदस्यहरूबीच मतभेद हुँदा आफूलाई फाइदा पुगेको र क्षेप्यास्त्र परीक्षणरूपी शक्तिप्रदर्शनको बलमा आफूले प्रतिबन्धमा छुट पाउन सक्ने मौका आएको विश्वास किमले लिएका छन् ।
त्यसैले उनी देशमा आर्थिक संकटका बावजूद क्षेप्यास्त्र परीक्षणमा जोड दिइरहेका छन् । यति गर्दा पनि अमेरिकाको ध्यान खिचिएन भने किमले अमेरिकाको मुख्यभूमिसम्म पुग्ने अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गर्न सक्छन् ।
रुससँग युक्रेनका विषयमा तनाव चर्किरहेको अनि चीनलाई हिन्द प्रशान्त क्षेत्रमा घेराबन्दी गर्नका लागि विभिन्न कदम चालिरहेको बाइडन प्रशासनले तत्कालका लागि उत्तर कोरियामा ध्यान देला जस्तो देखिँदैन । उत्तरले हाल गरिरहेको परीक्षणले अमेरिकालाई सीधै जोखिम नतेर्स्याएकाले पनि अमेरिका उदासीन भएको हुनसक्छ ।
हुन पनि उत्तरले कोरियाली प्रायद्वीपको क्षेत्रलाई मात्र दायरा बनाएर क्षेप्यास्त्र परीक्षण गरिरहेको छ । तर उत्तरको परीक्षणले अमेरिकाका साझेदारहरू जापान र दक्षिण कोरियालाई जोखिम पुग्ने आभास पाएमा अमेरिकाले कूटनीतिक कदम चाल्न सक्छ ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...