३० असार २०८३, मंगलबार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्यका लागि मतदान शुरू, ६ जना चुनावी मैदानमा

माघ १२, २०७८
सुदूरपश्चिममा राष्ट्रियसभा सदस्यका लागि मतदान शुरू, ६ जना चुनावी मैदानमा

राष्ट्रिय सभा सदस्यका लागि सुदूरपश्चिम प्रदेशमा मतदान शुरू भएको छ । रिक्त रहेको ३ जना राष्ट्रिय सभा सदस्यका लागि धनगढीमा मतदान शुरू भएको हो ।

राष्ट्रिय सभा निर्वाचन २०७८ को निवाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत  प्रेमराज भट्टका अनुसार बिहान ९ बजेदेखि शुरू भएको मतदान साँझ ३ बजेसम्म जारी रहने भएको छ ।

मतदानका लागि मतदान केन्द्र स्थल सुदुरपश्चिम प्रदेश सभा स्थलमा २ वटा मतदान केन्द्र तोकिएको छ ।

मतदान केन्द्र (क) मा (५२) जना प्रदेश सभा सदस्यहरुले मतदान गर्ने छन् । भने मतदान केन्द्र (ख) मा १७५ जना स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन् ।

५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष गरी २२७ जनाले मतदान गर्ने भएका हुन् । 

सुदूरपश्चिमका लागि ६ जनाले उमेदवारी दिएका छन् । सत्ता गठबन्धनको तर्फबाट खुल्लातर्फ नेपाली कांग्रेसका नारायण मिश्र (कैलाली), दलिततर्फ माओवादी केन्द्रका जगत पार्की (डडेलधुरा) र महिलातर्फ एकीकृत समाजवादीका गरिमा शाह (कैलाली) चुनावी मैदानमा छिन् ।

त्यस्तै अर्केतर्फ नेकपा एमालेले सत्तारुढ गठबन्धन विरुद्ध उम्मेदवारी दिएको छ । एमालेबाट महिलातर्फ सन्तोष कुमारी शर्मा थापा (कैलाली), दलिततर्फ नरेश बिक (बैतडी) र खुल्लातर्फ डिल्लीराज भट्ट (डोटी)ले उम्मेदवारी दिएका छन् ।

प्रदेशसभामा ५२ जनामध्ये एकीकृत समाजवादी पार्टीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टी (राजपा) का र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को एक/एक जना प्रदेशसभा सदस्य छन् ।

प्रदेशसभा सदस्यमा तेस्रो स्थानमा रहेको कांग्रेस स्थानीय तहमा भने पहिलो स्थानमा छ । १७५ मतदातामध्ये सुदूरपश्चिममा कांग्रेसका ७४ मतदाता रहेका छन् भने एमालेका ७१ जना छन् । त्यस्तै माओवादीका १७ जना र एकीकृत समाजवादीका १३ जना मतदाता रहेका छन् ।

एक जना प्रदेश सभा सदस्य बराबर ४८ र स्थानीय तहका एक जना प्रमुख तथा उपप्रमुख बराबर १८ मतभार रहने व्यवस्था रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्