३१ जेठ २०८३, आइतबार

कोरोना महामारीमा सरकारको उधारो काम, होल्डिङ सेन्टर निर्माणमा ढिलाइ

माघ १८, २०७८
कोरोना महामारीमा सरकारको उधारो काम, होल्डिङ सेन्टर निर्माणमा ढिलाइ

सुदूरपश्चिम कोरोना महामारीको उच्च जोखिममा छ तर रोकथाम लगायत सरकारी तयारी निकै सुस्त छ ।

सुदूरपश्चिमलाई भारतसँग जोड्ने प्रमुख सीमानाका गौरीफन्टानजिक कैलालीको धनगढीस्थित बडहरा जंगलको बीचमा क्वारेन्टीन सहितको १ हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माण थालिएको छ ।

तर निर्माण कम्पनीको बहानाबाजीका साथै सरकारले पनि समयमा बजेट निकासा नगरिदिँदा कोरोना नियन्त्रणको तयारी सुस्त देखिएको छ । थपिएको म्याद गुज्रिँदा पनि हालसम्म काम पूरा हुन सकेको छैन ।

होल्डिङ सेन्टर निर्माणको जिम्मा नेपाली सेनाले लिए पनि निर्माण कार्य झन्–झन् ढिला हुँदै गएको छ । गत भदौ मसान्तभित्र निर्माण सम्पन्न गराउने गरी नेपाली सेनाले गत असार ३ गते संघीय सरकारसँग ठेक्का सम्झौता गरेको थियो । नेपाली सेनाले २८ करोड ८१ लाख रुपैयाँमा हनुमान कन्सट्रक्सनसँग निर्माणको ठेक्का सम्झौता गरेको छ ।

महामारीबीच सेनाले नेतृत्व लिएकाले छिटोछरितो ढंगले निर्धारित समयमै काम सम्पन्न हुने स्थानीयले आशा गरे पनि काम सुस्त गतिमा हुन थालेपछि आमजनतामा निराशा थपिएको छ ।

धनगढी उपमहानगपालिका–३ का वडाध्यक्ष बलबहादुर ऐरले निर्माण जारी रहे पनि केही समय वर्षातले गर्दा प्रभावित हुन पुगेको बताए तर अरु अवस्थामा निर्माण कम्पनीको विभिन्न बहानाबाजी गर्दै आएको बताए ।

सरकारी तयारीकै क्रममा सामुदायिक वन क्षेत्रभित्र रहेका सिसमका रूख र बुट्यान फँडानी गरेर पूर्वाधार निर्माणमा सहयोग गरेको र सबै पक्षले तयारीमा लाग्नुपर्ने उनले बताए ।

‘सरकारको तयारी शून्य छ’

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार होल्डिङ सेन्टर निर्माण भइरहेको कैलाली जिल्ला कोरोनाको ‘रेड जोन’मा पर्छ । सुदूरपश्चिममा कोरोनाका सक्रिय संक्रमित १ हजार बढी छन् । 

सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा. शेरबहादुर कमरले हालको महामारीको अवस्थाको तुलनामा सरकारी तयारी शून्य अवस्थामा रहेको बताए ।

उनले भने, ‘संक्रमणको दर उच्च विन्दुमा पुगेको छ । समुदाय स्तरमा फैलिएको छ । होल्डिङ सेन्टरको कोठा बनाएर मात्रै हुन्छ ? हेर्नु न त्यही होल्डिङ सेन्टर पनि समयमा बनेको छैन । महामारी भन्ने चीज वर्षातको अवस्था, बजेटको अवस्था अनुसार कम बढी हुने हो र ? तयारी त सरकारले गर्नुपर्‍यो नि ! स्वास्थ्यको मापदण्ड अनुसार जनशक्ति व्यवस्थापनमा पनि समयमा ध्यान दिनुपर्छ । सरकारको तयारी धेरै सुस्त भयो ।’

सरकारले बजेट निकासामा ढिलाइ गर्‍यो : निर्माण व्यवसायी

भदौ मसान्तभित्र सम्पूर्ण काम पूरा गर्ने शर्तमा नेपाली सेनाले सरकारसँग ठेक्का सम्झौता थियो । सम्झौतालगत्तै निर्माण कम्पनीले असार तेस्रो हप्तादेखि काम शुरू गरेको भए पनि हालसम्म लगभग आधाजसो काम अधुरै छ ।

निर्माण कम्पनीले निर्माण कार्य ७५ प्रतिशत पूरा भएको तर सरकारकै कमजोरीका कारण निर्माणमा ढिलाइ भइरहेको दाबी गरेको छ ।

निर्माण कम्पनीका इन्जिनीयर विक्रम गैरेले सरकारले समयमा बजेट निकासा नदिँदा काम प्रभावित भइरहेको बताए ।

उनले भने, ‘हामीले ७५ प्रतिशत काम पूरा गरेका छौं । काम तीव्र गतिमा भइरहेको छ तर पुसमा म्याद थपे पनि कामअनुसार बजेट निकासा भएको छैन । हालसम्म ५० प्रतिशत मात्रै बजेट निकासा भएको छ । बजेट निकासा भए हामी फागुनभित्रै सम्पन्न गर्नसक्छौं तर सरकारबाटै ढिलाइ भइरहेको छ ।’

होल्डिङ सेन्टर निर्माणस्थलमा हालसम्म सडक स्तरोन्नति, विद्युत् र खानेपानी उपलब्ध नभएकाले केही अप्ठ्यारो पर्नसक्ने उनले बताए । धनगढी उपमहानगरपालिकाले सडक, विद्युत् र खानेपानीको प्रबन्ध गर्ने भनेको उनले बताए ।

निर्माण कार्यको रेखदेख तथा अनुगमन गरिरहेको कैलालीको तेघरीस्थित भवानी दल गणका गणपति रवि केसीले काम जारी रहे पनि बजेट निकासामा केही ढिलाइ भएको स्वीकार गरे । सरकारले केही बजेट निकासा दिइसकेकाले अरु केही समयमा भुक्तानी दिएर होल्डिङ सेन्टर सञ्चालनमा समेत ल्याइने जानकारी दिए । हालसम्म ३०० जना अट्ने संरचना तयार भएको र केही हप्ताभित्रै ५०० जना अट्ने संरचना तयार हुने दाबी गरे ।

गणपति केसीले विद्युत्, खानेपानी, सडकको लागि सम्बन्धित निकायसँग पनि पहल जारी रहेको बताए ।

धनगढी भन्सारको मोहना पुलदेखि करीब १ किलोमिटर टाढा रिङरोडसँग जोडिएको बडहरामा होल्डिङ सेन्टर निर्माण भइरहेको छ । निर्माण कम्पनीका प्राविधिकका अनुसार करीब २४ हजार वर्गमिटर क्षेत्रफलमा ५९ वटा ब्लकहरू निर्माण गर्न लागिएको छ । २० वटा ब्लक क्वारेन्टीनका लागि प्रयोग हुनेछन् । जहाँ हरेक ब्लकमा शौचालय, किचन, डाइनिङ रूमको समेत व्यवस्था हुने बताइएको छ ।

सेन्टरमा सुरक्षाकर्मीहरू बस्ने प्रबन्ध पनि हुने डिजाइन गरिएको छ । होल्डिङ सेन्टरभित्र हरेक बेडमा अक्सिजन आपूर्ति गर्ने उपकरणहरू जडान गरिने योजना रहेको इन्जिनीयर गैरेले बताए । ‘मेडिकल टोली खटनपटनको व्यवस्था हुने सबै पूर्वाधारहरू तयार गर्ने डिजाइन हो,’ उनले भने । 

निर्माण कम्पनीले कैलाली र कञ्चनपुरसहित मुलुकका ७ स्थानमा १/१ हजार बेड क्षमताका होल्डिङ सेन्टर निर्माण गरिरहेको छ तर निर्माणको कार्य सबैभन्दा ढिलो कैलालीमै रहेको बताइएको छ ।

होल्डिङ सेन्टर सञ्चालनमा आएपछि संक्रमण फैलिएका बेला भारतबाट स्वदेश आएका सबैलाई होल्डिङ सेन्टरमा राखेर कोरोना जाँच तथा उपचार गर्न सहज हुने सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्की बताउँछन् ।

पहिलो र दोस्रो चरणमा फैलिएको कोरोना महामारीले सुदूरपश्चिमलाई निकै अत्याएको थियो । त्यसबेलाको अप्ठ्यारोबाट पाठ सिक्दै आगामी दिनमा पूर्वाधारको समस्या झेल्नु नपरोस् भन्ने सोचेर कैलालीसँगै कञ्चनपुरमा १०० बेडको सुविधायुक्त कोभिड अस्पताल निर्माण गरेर सञ्चालन गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्