२२ असार २०८३, सोमबार

शीतकालीन ओलम्पिकको सफल आयोजन, चीनको सफ्ट पावरमा वृद्धि

शीतकालीन ओलम्पिकको सफल आयोजन, चीनको सफ्ट पावरमा वृद्धि
तस्वीर स्रोत : AFP

बेइजिङमा आयोजना भइरहेको शीतकालीन ओलम्पिकको आज अन्तिम दिन हो । 

राजनीतिक विवाद तथा कोभिडको डरको छायाँमा परेको भए पनि ओलम्पिक शुरू भएपछि कुनै बाधाअवरोध विना यो सम्पन्न हुन लागेको छ । 

चीनले दोस्रोपटक ओलम्पिक आयोजना गरेको हो । सही व्यवस्थापनका साथ चीनले ओलम्पिक सम्पन्न गरेर आफूलाई शीतकालीन खेलको केन्द्रका रूपमा उभ्याउन सफल भएको छ । सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीलाई यस आयोजनले सफलताको नयाँ उचाइ दिएको छ । 

‘विभिन्न विवादका कारण यो ओलम्पिक निकै राजनीतिक बनेको थियो,’ अस्ट्रेलियाको मेलबोर्नमा रहेको भिक्टोरिया विश्वविद्यालयमा ओलम्पिक रिसर्च नेटवर्कका सहनिर्देशक रिचर्ड बाकाले बताए । 

‘तर ओलम्पिक राजनीतिक बाधाअवरोध विना नै सम्पन्न भयो किनकि चीनले सबै कुरा राम्ररी नियन्त्रणमा राख्यो ।’

चीनको मानवअधिकारका विषयमा आपत्ति जनाउँदै अमेरिकाले ओलम्पिकको कूटनीतिक बहिष्कार गराउन खोज्यो । विशेषगरी सिन्च्याङ प्रान्तमा वीगर मुसलमानहरूमाथि दमन गरिएको आरोप उसले लगायो । अनि कोरोनाको ओमिक्रोन भेरिएन्टको संक्रमणले पनि तर्सायो । 

बेइजिङविरुद्ध नबोल्न विदेशी खेलाडीहरूलाई चिनियाँ अधिकारीले चेतावनी दिएका थिए । त्यसबाहेक कृत्रिम हिउँमा शीतकालीन ओलम्पिक आयोजना गरिएको भनी वातावरणीय चिन्ता पनि व्यक्त गरिएको थियो । 

तर रुसी खेलाडीले प्रतिबन्धित औषधि प्रयोग गरेको आरोप यस ओलम्पिकको सबभन्दा विवादास्पद विषय रह्यो । पन्ध्र वर्षीया फिगर स्केटर कमिला भालिएभा विवादको केन्द्रमा रहिन् । 

ओलम्पिक चल्दै गर्दा एक दिन बेस्सरी हिउँ परेको थियो । 

अनि चीनकी टेनिस खेलाडी पङ श्वाई पनि ओलम्पिककी प्रमुख विषय बनिन् । उनी ओलम्पिकमा घरिघरि झुल्किइन् । 

गत नोभेम्बर महिनामा उनले चीनका पूर्व उपप्रधानमन्त्रीविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । तर पछि उनले बेइजिङमा रहेको फ्रान्सेली खेल पत्रिका लक्विपेसँग कुराकानी गर्दै यस विषयको बुझाइमा समस्या रहेको बताइन् । उनको सुरक्षाको चिन्ता अहिलेसम्म पनि व्यक्त गरिएको छ । 

राजनीतिक विवाद

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष टमस बाखले यो अत्यन्तै सफल ओलम्पिक समारोह भएको बताए । 

‘बेइजिङमा खेलाडीहरू निकै खुशी छन्,’ बाखले भने । 

‘उनीहरू आयोजनास्थलबाट पूर्ण सन्तुष्ट छन्, ओलम्पिक भिलेजमा पनि उनीहरूले चित्त बुझाएका छन् । दिइएको सेवामा पनि उनीहरू सन्तुष्ट छन् । तीव्र गतिमा फैलिने ओमिक्रोन भेरिएन्टले निम्त्याएको कठिन परिस्थितिमा समेत क्लोज्ड लूपअन्तर्गत खेलाडीहरूलाई उपलब्ध गराइएको सुरक्षा सन्तोषजनक रह्यो,’ उनले थपे । 

आयोजकहरूले ओलम्पिकमा राजनीति पसाएकोलाई चाहिँ बाखले आलोचना गरे । एक महिला प्रवक्ताले सिन्च्याङका विषयमा झूटो कुरा भनिएको भन्दै सार्वजनिक निन्दा गरेकी थिइन् । 

शीतकालीन ओलम्पिकमा कोभिडबाट सुरक्षित राख्ने क्लोज्ड लूप बबलले तीन हजारजना खेलाडी तथा ६५ हजार अन्यलाई समेटेको थियो । महामारी चलिरहेको बेलामा आयोजित खेलकुद समारोहमा यस्तो नियन्त्रण अभूतपूर्व थियो र यसको स्मरण लामो समयसम्म रहनेछ । 

नियन्त्रणका कारण मानिसहरूलाई टिकट बेचिएको थिएन अनि एकदमै कम संख्यामा दर्शकहरूलाई बस्न दिइएको थियो । उनीहरूले भौतिक दूरी कायम गर्नुपर्ने थियो । त्यसले गर्दा आयोजनास्थलहरूमा त्यति रमाइलो वातावरण चाहिँ थिएन । 

सफलताको सूचक

चिनियाँ कम्युनिस्ट पार्टीले यस आयोजनालाई सफल मानेको छ । 

व्यापक स्रोत तथा जनशक्तिका साथ पार्टीले कोभिड नियन्त्रणमा राख्यो । एकदलीय शासन प्रणाली र जिरो कोभिड नीति संसारका लागि उदाहरणीय रहेको भाष्य प्रस्तुत गर्न पार्टीलाई यस आयोजनले बल दिएको छ ।

ओलम्पिक बबलमा चार हप्ताको अवधिमा लगभग ४५० वटा पोजिटिभ केस देखिए तर सकिने बेलातिर आइपुग्दा दैनिक नयाँ संक्रमण शून्य थियो । 

चीनले वीगर समुदायमाथि गरेको भनिएको दमन र हङकङ तथा तिब्बतमा बढाइएको नियन्त्रणको विषय खेलाडीहरूले उठाएनन् । अमेरिका र उसका साझेदारहरूले गरेको कूटनीतिक बहिष्कारको कुनै असर देखिएन । 

ग्रीष्मकालीन र शीतकालीन ओलम्पिक दुवै आयोजन गर्ने एक मात्र शहर बेइजिङले आयोजनमा कुनै समस्या आउन दिएन । राष्ट्रपति सी चिनपिङले सुरक्षित र भव्य आयोजन गरिने प्रतिज्ञा गरेका थिए र त्यसलाई पूरा गराइछाडे । 

‘यो भव्य आयोजन त हैन तर कठिन परिस्थितिमा यति ठूलो कार्यक्रम सफलतापूर्वक गर्नुको श्रेय उनीहरूलाई दिनुपर्छ,’ वाशिङटन विश्वविद्यालयमा चीनविशेषज्ञ डेभिड बाखमानले बताए । 

चिनियाँ जनताको मन भव्य आयोजनमार्फत जित्न चीन सरकार सफल भएको बाखमानको भनाइ छ । 

शीतकालीन खेलको केन्द्र ?

चीनको नयाँ पुस्तामा आफ्नो सान्दर्भिकता साबित गर्ने चिन्ता कम्युनिस्ट पार्टीले सधैं लिने गर्छ । उसले देशभक्तिका साथै आधुनिक समयको सान्दर्भिकतालाई पनि ओलम्पिकमार्फत प्रस्तुत गर्न पायो । अमेरिकामा जन्मेकी र चीनका लागि खेल्ने फ्रीस्टाइल स्कियर आइलिन कु त्यसको प्रतिनिधि बनिन् । 

‘यी मन्त्रमुग्ध बनाउने नाटक हुन् र गजबका प्रस्तुतिहरू देखिए । अनि प्रतिस्पर्धाको प्रकृति आफैंले जति राम्रो कथा अरू केहीले भन्दैन,’ बाखमानले बताए । 

चीनले दोस्रोपटक ओलम्पिक आयोजना गरेको हो । सही व्यवस्थापनका साथ चीनले ओलम्पिक सम्पन्न गरेर आफूलाई शीतकालीन खेलको केन्द्रका रूपमा उभ्याउन सफल भएको छ । सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीलाई यस आयोजनले सफलताको नयाँ उचाइ दिएको छ । 

चीनले विश्वभरि सफ्ट पावर देखाउने महत्त्वाकांक्षा राखेकोमा कु त्यसको सशक्त अनुहार बनेकी छन् । 

चिनियाँ आमाकी सन्तान कु अमेरिकी नागरिक थिइन् तर ओलम्पिकका लागि उनले चीनको नागरिकता लिइन् । चीनले जितेको नौवटा स्वर्ण पदकमध्ये दुईवटा उनको नाममा रह्यो । 

ओलम्पिकका आयोजकहरूले प्रायः धेरै पदक जितिरहेका हुन्छन् । चीनले शीतकालीन ओलम्पिकमा यसअघि पाएको भन्दा निकै बढी सफलता सजिलै पायो ।

चीन अब शीतकालीन खेल राष्ट्रको पंक्तिमा दरिएको भनी चीनमा बताउने गरिएको छ । त्यस्ता राष्ट्रलाई धनी मुलुक भनी बुझ्ने गरिन्छ । 

सीले चीनको पुनरुत्थानका लागि जोड दिइरहेकोमा ओलम्पिक आयोजनले त्यसलाई थप बल प्रदान गरेको छ । विगतका युद्ध, राजनीतिक अव्यवस्था र आर्थिक सुस्तताबाट चीन अब कम्युनिस्ट पार्टीको नेतृत्वमा उम्किसकेको छ ।

एएफपी समाचार संस्थाले प्रकाशित गरेको ड्यान मार्टिन र पिटर स्टेब्बिंग्सको रिपोर्टलाई लोकान्तरका लागि विन्देशदहाल अनुवाद गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्