
तालाबन्दी गर्न सुरक्षा निकायले रोकेपछि प्रदर्शनकारीले सप्तरीको सप्तकोशी नगरपालिका कार्यालय तोडफोड गरेका छन् ।
नगर प्रमुख उत्तम गौतमले आज एक विज्ञप्ति जारी गरी महिला नगर प्रहरीमाथि हातपात र ढुङ्गामुढा गरी कार्यालयको सिसा, सवारी साधन, कम्प्युटर, डिजिटल सूचना बोर्डलगायत कार्यालयका समान तोडफोड भएको जानकारी दिए।
कार्यालय तोडफोड गर्ने तथा जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई भौतिक चोट पु¥याउने घटनाप्रति नगरपालिकाले विज्ञप्तिमार्फत खेद व्यक्त गरेको छ । सङ्घर्षमा उत्रिएको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले बिहीबार नगरपालिकामा गरेको तालाबन्दी शुक्रबार खोलेपछि आज पुनः ताला लगाउन जाँदा घटना भएको हो ।
प्रदर्शनकारीहरूले सप्तकोसी नगरपालिकाको कोभिडको खर्च र आन्तरिक लेखा परीक्षणको विवरण, राष्ट्रिय मावि फत्तेपुरको भवन निर्माणको ठेक्का प्रक्रिया र अङ्ग्रेजी माध्यम कक्षा सञ्चालन खर्च व्यवस्थापनको विवरण उपलब्ध गराउनुपर्ने र आर्थिक वर्ष २०७८/७९ मा नगरभित्रका सम्पूर्ण ११ वटै वडाका योजना कार्यान्वयन हुनुुपर्ने माग राख्दै ताला लगाएका थिए । माग सम्बोधन नगरी नगरपालिकाले आफूखुशी ताला खोलेर द्वन्द्व निम्ताएको सङ्घर्ष समितिको भनाइ छ ।
नगर प्रमुखले वार्ताका लागि पटकपटक बोलाए पनि नआएपछि नागरिक समाज, प्रहरी प्रशासनको रोहबरमा निर्णय गरी ताला खोलेको बताए । सेवा प्रवाह अवरोध हुँदा नागरिकलाई नै मर्का परेकाले सबैको निर्णयबाट ताला खोलिएको उनले बताए ।