०५ साउन २०८३, मंगलबार
महिला शसक्तिकरणको नमूना

सुवेदी परिवारका तीनै जना छोरी सरकारी जागिरमा

फागुन २४, २०७८
सुवेदी परिवारका तीनै जना छोरी सरकारी जागिरमा

धनकुटाका सीताराम सुवेदीका तीन छोरी जन्मिएपछि उनको चाहना थियो सबैलाई सरकारी सेवामा प्रवेश गराउने । उनी आफै पनि सरकारी विद्यालयको शिक्षक भएका कारण आफ्ना छोरीहरू सरकारी सेवामै प्रवेश गरून भन्ने चाहान्थे । 

महेन्द्र आधारभूत विद्यालयकाका प्रध्यानाध्यापक थिए सुवेदी । अहिले उनले चाहेअनुसार नै छोरीहरू तीर्थ, बन्दना र रन्जना निजामती सेवामा रमाइरहेका छन् ।

सुवेदीले तीनै जना छोरीहरुलाई सामुदायिक विद्यालयमा पढाएका थिए । विद्यालय तहमै उनीहरूको पढाई अब्बल थियो । 

जेहेन्दार विद्यार्थीहरू उच्च शिक्षा अध्ययन र कमाइका लागि विदेशिने चलनजस्तै बनेको बेला तीर्थ, बन्दना र रञ्जनाले निजामती सेवा रोजे ।   

सुवेदीकी जेठी छोरी तीर्थ कुमारीले दुई वर्षअघि लोक सेवाको परीक्षा उत्तिर्ण गरेर शिक्षातर्फ प्राविधिक सहायक पदमा कार्यरत छिन् । उनको पोस्टिङ मोरङको सुन्दरहरैचा नगरपालिकामा छ ।

त्यसअघि सरकारी शिक्षकको रूपमा कार्यरत उनले स्नातकोत्तरसम्मको अध्ययन गरेकी छिन् ।

माहिली छोरी बन्दना सुवेदी सिञ्चाई विभाग ललितपुरमा लेखापाल छिन् । उनी २०७२ सालमा लोक सेवाको परीक्षा उत्तिर्ण गरेर निजामती सेवा प्रवेश गरेकी हुन् । उनले पनि स्नातकोत्तरसम्मको अध्ययन सकेकी छन् ।

कान्छी छोरी रञ्जना सुवेदी २०७५ सालदेखि सरकारी सेवामा प्रवेश गरेकी हुन् । उनी अहिले इटहरी उप–महानगरपालिकामा योजना शाखामा कार्यरत छिन् । 

तीर्थ, बन्दना र रन्जनाले धनकुटाको मुगामा रहेको महेन्द्र आधारभुत विद्यालयमा पाँच कक्षासम्म अध्ययन गरेका थिए । उनीहरूले प्रवेशिका परीक्षा (एसएलसी) भने गोकुण्डेश्वर माध्यमिक विद्यालय बाट उत्तिर्ण गरेका हुन् ।

तीनै जना छोरीहरु निजामती सेवामा रमाइरहँदा त्यसको खुशी भने सुवेदीले धेरै समय साट्न पाएनन् । गत वर्ष कोभिड–१९ संक्रमणको कारण सुवेदीको निधन भयो ।

बुबाको प्रेरणाकै कारण निजामती सेवामा प्रवेश गरेको रञ्जनाले बताइन् । ‘बुबा विद्यालयको शिक्षक हुनुहुन्थ्यो । उहाँको चाहना पनि छोरीहरू सरकारी सेवामै प्रवेश गरून भन्ने थियो । बुबा शिक्षक भएको कारण पनि घरमा शैक्षिक वातवरण थियो । लोकसेवा उत्तिर्ण गर्न हामीलाई त्यसले सहयोग गर्‍यो’, रञ्जनाले भनिन् ।

तर, आफूहरूको खुशी धेरै समय बुबासँग साट्न नपाएकोमा उनीहरू दुखित छन् । 

‘बुबा आमाले दुःख गरेर पढाउनुभयो तर, अहिले हाम्रो खुशी बुबासँग साट्न पाएका छैनौ’, उनले भनिन् ।

तीन दिदीबहिनीबीच कसले छिटो सरकारी जागिरमा नाम निकाल्ने भन्ने प्रतिस्पर्धा हुने गरेको विगत उनीहरु सम्झन्छन् । अहिले पनि कसले छिटो प्रमोशन पाएर माथिल्लो तहमा बढुवा हुने भन्ने प्रतिस्पर्धा हुने गरेको उनीहरु बताउँछन् । 

तीर्थ र बन्दनाको विवाह भइसकेको छ । उनीहरूका श्रीमान पनि निजामती सेवामै छन् ।

salt training

कमेन्ट गर्नुहोस्