
केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले गरेका संवैधानिक नियुक्ति विरुद्ध परेका रिटहरू संवैधानिक इजलासमा पेशी चढेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको 'कन्फ्लिक्ट अफ इन्ट्रेस्ट'का विषयमा प्रश्न उठेपछि लामो समयदेखि सुनुवाइ हुन नसकेका मुद्दाहरू जबरा निलम्बनमा रहेका बेला पेशीमा चढेका हुन् ।
संवैधानिक नियुक्तिका मुद्दाहरू पेशी चढेको संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, ईश्वर खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन् ।
वरिष्ठताका आधारमा इजलास गठन गरिए पनि शीर्ष ५ भित्र पर्ने न्यायाधीशद्वय मीरा खड्का र विश्वम्भर श्रेष्ठ इजलासमा छैनन् ।
न्यायाधीशद्वय खड्का र श्रेष्ठ अनुपस्थित रहेको सर्वोच्च स्रोतले बतायो ।
ओमप्रकाश अर्यालसहितका अधिवक्ताहरूले संवैधानिक नियुक्ति बदर हुनुपर्ने मागसहित रिट दायर गरेका छन् ।