
सूचना प्रविधि कम्पनी रिङगेजले ठूलो समुदाय वा लक्षित वर्गलाई एकैपटक फोन सन्देश पठाउन सकिने प्रविधिको विकास गरेको छ ।
एकैपटक ठूलो समुदायमा पठाउन सकिने यस्तो सन्देश दुई हजार जनासम्मलाई पठाएर सफल परीक्षणसमेत भइसकेको रिङगेजका कार्यकारी अध्यक्ष दिपेश रेग्मीले बताए ।
सन्देशलाई एकैपटक ठूलो समुदायमा पठाउने अभ्यास भइरहेको भए पनि अब भने फोनमा कलबाटै भ्वाइस सन्देश दिन सकिने प्रविधिको विकास भएको हो ।
यसको प्रयोगबाट विभिन्न राजनीतिक पार्टी, वित्तीय संस्था, सरकारी निकाय, सामाजिक कार्य, व्यक्तिगत सभा समारोहको निम्तासहितमा बहुउपयोगी हुने रेग्मीको दाबी छ ।
भ्वाइसको माध्यमबाट गरिने यस्तो सञ्चार सजिलो, छिटो र प्रभावकारी हुने रिङगेजले बुधवार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो ।
यो प्रविधिको प्रयोगका लागि भ्वाइस ब्रोडकास्टिङ, अटोमेटेड बल्क कलिङ, फोन सर्भे, प्रयोगकर्ताबाट लिइएको प्रतिकृयासहितको अभ्यास गरिएको थियो ।
एउटै सूचना र जानकारी धेरैलाई दिइने यस्तो प्रविधिको प्रयोगबाट मोबाइलमा फोन आउँछ र त्यसलाई रिसिभ गर्दा ३० सेकेण्डदेखि ५ मिनेटसम्मको भ्वाइस सन्देश लिन सकिन्छ ।
यस्तो सन्देश आकस्मिक प्रयोजन सूचना, सार्वजनिक सरोकारको जानकारी, चुनावी अभियान तथा प्रचारसहितमा उपयोगी हुने रिङगेजले जानकारी दिएको छ ।
यस्तो सेवा राजनीतिक व्यक्ति शेखर कोइराला, प्रकाशमान सिंह, गगन थापा, विमलेन्द्र निधि, प्रकाशशरण महत, दीलेन्द्र बडु, योगेश भट्टराईसहितले लिइसकेका छन् । यसअघि यो भ्वाइस सेवाको प्रयोग भेटेरिनरी युनियनको चुनावमा, माडवारी सेवा समितिको चुनावमा, नेपाल पत्रकार महासंघको चुनावमा, नेपाली कांग्रेस, नेकपा एमालेको महाधिवेशन, नाडा चुनाव, नेपाल इन्जिनियरिङ एशोसिएसन र नेपाल बार एशोसिएसनको चुनावका लागि प्रयोग भइसकेको छ ।
रिङगेज एक वर्ष अगाडि स्थापना भएको एक आईटी कम्पनी हो । यसले विभिन्न १० वटा उद्योगका ५०० जनालाई सेवा दिइसकेको छ ।
२४ घण्टा नै लिन सकिने यसको सेवा सम्बन्धित वर्गलाई दिने सूचना वा जनकारीको लागि प्रयोग गर्ने गर्छ । यसको सेवा सुगमदेखि दुर्गम क्षेत्रका गाउँसम्म प्रभावकारी हुने उल्लेख छ ।