
जोगी भातको पौराणिकता धेरैलाई थाहा नहुन सक्छ । यो परिकार नेपालको मौलिक र परापूर्वकालदेखिको लोक खाना हो । जोगी भात सामान्यतया चामल, दाल, सब्जी, घ्यु, बेसार आदि इत्यादि मिसाएर पकाइन्छ ।
नेपालको प्रायः सबै भूभागमा जोगी सन्तहरूको बसोबास रहेको छ । जोगीले घरघरमा गएर भिक्षा मागेका सामग्रीलाई एकैठाउँमा मिसाएर पकाउने हुनाले यही समुदायबाट यो परिकारको जन्म भएको पौराणिकता छ ।
रातभर फेरि लगाएर होस् या दिनभर घरघरमा मागेर ल्याएको खाद्य सामग्री एउटै भाडामा मिसाएर पकाउने यो संस्कारलाई अहिले ठूलाठूला होटल या रेस्टुरेन्टको मेनुमा राख्न थालेका छन् । खान पनि स्वादिष्ट, बनाउन सजिलो र स्वास्थ्यका हिसाबले पनि फाइदाजनक भएका कारण अहिले धेरैको घरको चुल्होमा जोगी भात पाक्न थालेको छ ।
जोगी भात बनाउन चाहिने सामग्रीः चामल ५०० ग्राम, रातो या कालो दाल १५० ग्राम, पालक या रायो साग सानो १ मुठा, हरियो केराउ ७० ग्राम, आलु १८० ग्राम, गाजर ६० ग्राम, नेपाली घ्यु ६० ग्राम, काटेको प्याज २ पिस, मसिनो गरी काटेको अदुवा, लसुन २० ग्राम, बेसार १ चिया चम्चा, नून स्वादअनुसार, पानी ६५० एमएल, ताजा धनियाँ सजावटका लागि ।
जोगी भात पकाउने विधिः बाक्लो खालको कसौडी या डेक्ची तताएर घ्यु हाल्ने र एकछिनमा काटेको प्याज, अदुवा, लसुन हाली भुट्ने । केही समयपछि बेसार हालेर चलाउने । ताछेर काटेको आलु, गाजर, पखालेको दाल र चामल हाली चलाउने । केहीबेर पानी, पालक, हरियो केराउ, स्वादअनुसार नून हालेर उमाल्ने । पानी सुक्न–सुक्न लाग्ना साथ राम्ररी ढकन लगाएर राम्ररी मधुरो आँचमा पकाउने । जोगी भात पाक्ना साथ हरियो धनियाँ हालेर तातोतातो सर्भ गर्ने । जोगी भातको साइडमा सिलौटोमा पिसेको गोल्भेडाको अचार पनि दिन सकिन्छ ।