
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य बाबुलाल यादवले चुनावको मुखैमा पार्टी परित्याग गरेका छन् । यादवले शनिवार रुपन्देहीको भैरहवामा पत्रकार सम्मेलन गर्दै आफू अब एमालेमा नरहेको घोषणा गरेका हुन् ।
एमालेको सिद्धान्त, विचार मन परेर २०५४ सालदेखि पार्टीमा लागेको बताउँदै उनले केही नेताहरूको कारण आफूले पार्टी छाड्न बाध्य भएको बताए ।
उनले भने, ‘म पार्टीको नीति, सिद्धान्त मन परेर एमालेमा आबद्ध भएँ, कुनै नेता मन परेर वा कुनै लाभ लिन्छु भनेर आएको होइन । पार्टी विधि, विचार र सिद्धान्तअनुसार चलेन त्यही भएर बस्न मन लागेन ।’
आफूलाई रूपन्देही क्षेत्र नम्बर ४ (मर्चवार क्षेत्र) को इन्चार्ज बनाइए पनि नेतृत्वले मर्चवारको विषयमा आफूसँग कुनै छलफल नगरेको उनले गुनासो गरे । उनले भने, ‘पार्टीको काममा निरन्तर लागिपरेको थिएँ, तर म विरुद्ध नै भ्रामक प्रचार गरियो ।’
उनी आगामी स्थानीय तहको निर्वाचनमा सम्मरीमाई गाउँपालिका अध्यक्षका आकांक्षी थिए ।
गाउँपालिकाका कार्यक्रममा छलफल नगरिकन एकलौटी ढंगले अगाडि बढेको उनले दुखेसो पोखे ।
उनले भने, ‘गाउँपालिकाको नेतृत्वमा रहेर जनताको काम गर्न सक्छु भन्ने सोच हो, मेरो इच्छा सांसद बन्ने होइन, तर आकांक्षी हुँदाहुँदै छलफलसमेत गराइएन,’ उनले भने ।
अब आफू स्वतन्त्र बस्ने उनको भनाइ छ । चुनावको मुखमा पार्टीहरूमा असन्तुष्टि बढेपछि पार्टी छाड्ने क्रम बढदै गएको छ ।