
समाजिक सञ्जालमा यतिबेला एउटा तस्वीर निकै भाइरल बनेको छ ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. १० मा नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षको उम्मेदवार बनेका अमृत खनालको तस्वीर भाइरल बनेको हो ।
तस्वीरमा खनालले हजार रुपैयाँको नोट राखेर एक महिलाको खुट्टा ढोग्दै गरेको देख्न सकिन्छ ।
फोटो हेरेर तीव्र आलोचना भइरहेका बेला खनालले भने आफूले फुपूलाई ढोगेर गरेको आदरलाई अनावश्यक प्रचार गरिएको बताएका छन् ।
चुनावी अभियान लिएर अगाडि बढ्ने क्रममा खनाल आफ्नी फुफूको घरमा पुगेका थिए ।
फुफूले टीका लगाएर आशीर्वाद दिएपछि सामान्य शिष्टाचार पूरा गर्दै पैसा राखेर खुट्टा ढोगेको उनको प्रस्टीकरण छ ।
हिन्दू संस्कारअनुसार खाली हात ढोग्ने चलन छैन, खनालले भने त्यसपछि दिदीलाई दक्षिणा दिएको हुँ ।
खनाल भन्छन्– 'हिन्दू संस्कारअनुसार खाली हात ढोग्ने चलन छैन, सोही कारण दिदीलाई दक्षिणा दिएको विषयलाई विपक्षीले प्रोपागाण्डा बनाए । मेरो दिदीको मतदाता नामावली मेरो वडमा छैन । दिदीको मेलम्ची नगरपालिकाको ९ नं. मा घर पर्छ, म १० नम्बरमा उम्मेदवार बनेको छु । यसमा विपक्षीले भ्रम छर्ने काम मात्र गरेका छन् ।'

हुन पनि यसलाई विपक्षीले चुनावी एजेन्डा नै बनाएर प्रचार गरिरहेका छन् ।
उनले सो विषय बाहिर आएपछि सामाजिक सञ्जाल फेसबूकमार्फत पनि स्पष्ट पारिसकेका छन् ।
फेसबूकमा खनालले लेखेका छन्-
'आफ्नो संस्कृति, हिन्दू परम्पराअनुसार फुपूको खुट्टा ढोगेपछि दक्षिणा दिने चलन परापूर्वकालदेखि नै चलिआएको हो । चुनावको समयमा यसलाई भ्रम छर्न विभिन्न आरोपका साथ विपक्षीले प्रोपागाण्डा बनाउनु नौलो कुरा र नौलो विषय हुँदै होइन । कांग्रेस एकमात्र यस्तो पार्टी हो जसले आफ्नो धर्म, संस्कृति, परम्पराको संरक्षण र सम्मान गर्दै आएको छ । म मेलम्ची वडा नं. १० मा कांग्रेस पार्टीबाट उम्मेदवारको रूपमा चुनावी अभियानसहित घरदैलो कार्यक्रमा फुपूको घर पुग्दा आशीर्वाद लिएको हुँ । फुपूले आशीर्वाद दिएपछि मेरो परम्पराअनुसार खुट्टा ढोग्दै दिदीलाई दक्षीणा दिनु गलत हो ? मेरो परम्पराले फुपूले टीका लगाइदिएपछि खालि हात राख्दैन । तपाईं आफ्नो घरको परम्परा र संस्कृति सम्झनुहोस् । म एक हिन्दू धर्मप्रति आस्था राख्ने व्यक्तिका लागि के यो गलत परम्परा हो ? आफ्नो फुपूबाहेक अन्यत्र कतै पैसा दिएको प्रमाण दिनसक्छ कसैले ? साथै, मेरो फुपू मेलम्ची नगरपालिका वडा नं १० को मतदाता नभएको पनि जानकारी गराउँछु । यसलाई भ्रम छरेर गतल सूचनाको आधारमा तथ्यहीन समाचार सम्प्रेषण नर्गनुहुन सम्पूर्ण सञ्चारमाध्यमा हार्दिक अनुरोध गर्दछु ।'
खनालले आफू मतदाताको प्रिय भएको बताउँदै राजनीतिका नाममा हिन्दू धर्मप्रतिको आस्थालाई गलत प्रयोग नगर्न समेत आग्रहसमेत गरेका छन् ।