०३ साउन २०८३, आइतबार

यसपालि सरदरभन्दा बढी वर्षा हुने आकलन

बैशाख २४, २०७९
यसपालि सरदरभन्दा बढी वर्षा हुने आकलन
प्रतिकात्मक तस्वीर

यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी १८ जेठदेखि १४ असोजसम्मको ४ महिनाको मनसुन अवधिको समयलाई ध्यानमा राखेर यस्तो आकलन गरेको हो ।

विभागले नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने २ ध्रुवीय प्रणालीको हालको अवस्था, जलवायु प्रारूपको मनसुन अवधिको आकलन, युरोप तथा एसियामा गत हिउँद तथा प्रि–मनसुनको अवधिमा परेको हिउँ, अन्तरऋतु परिवर्तनशीलताका कारकलाई समेत मध्यनजर गरी सो आकलन तयार पारेको जनाइएको छ ।

विभागले विश्व मौसम संगठनको विश्वभर र क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूपको आकलन, विभागको आकलन गर्ने प्रविधि र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आकलनलाई समेत आधार मानेको जनाइएको छ ।

विभागले सन् २०२० देखि आफैं पनि मनसुनको अवधि र हिउँदको अवधिको मौसम आकलन गर्दै आएको छ ।

विभागकी वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले अहिलेको मौसमको अवस्था हेरेर पछि हुने अवस्थाको आकलन गरी यस्तो विवरण सार्वजनिक गरिएको बताइन् । उनले विगत ३० वर्षको मनसुनको समयको अवस्थालाई विश्लेषण गरेर यस्तो तथ्य निकाल्ने गरिएको बताइन् ।

उनका अनुसार ३३.३ प्रतिशतभन्दा तललाई सरदरभन्दा कम, सोदेखि माथि ६६.६ प्रतिशतसम्मलाई सरदर र त्योभन्दा माथि भएमा सरदरभन्दा बढी पानी पर्ने अवस्था रहेको मान्ने गरिन्छ ।

विभागले प्रदेश नम्बर १ को उत्तरी भूभाग, मधेस प्रदेशको अधिकांश भूभाग र बाग्मती प्रदेशको दक्षिणी भूभागबाहेक अन्य क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेको छ । ती क्षेत्रहरूमा बढी वर्षा हुने सम्भावना (३४ देखि ६५ प्रतिशत) रहेको विभागले जनाएको छ ।

विभागबाट प्राप्त विवरणअनुसार प्रदेश १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बाग्मती प्रदेशको दक्षिणी भूभागमा सरदर वर्षा हुने आकलन छ । त्यसको सम्भावना (३५ देखि ४५ प्रतिशत) अनुमान गरिएको छ ।

विभागले प्रदेश १ का तराईका भूभाग, बाग्मती प्रदेशका उत्तर–पूर्व, गण्डकी प्रदेशका दक्षिण भूभाग, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका उत्तर–पश्चिम र सुदूरपश्चिमका उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ ।

सुदूरपश्चिमको पूर्वी भूभाग कर्णाली प्रदेशका मध्य, गण्डकी प्रदेशका मध्यपश्चिम, १ नम्बर प्रदेशको मध्य भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना (४५ देखि ५५ प्रतिशत) रहेको विभागले जनाएको छ । गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिम भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना (३५ देखि ५५ प्रतिशत) रहेको छ ।

विभागका महानिर्देशक कमलराम जोशीले गत वर्षको मनसुनका अवधिमा जम्मा ६ वटा मौसम प्रणाली मात्रै सक्रिय भएकामा यसपटक भने धेरैजसो क्षेत्रमा सक्रिय हुने आकलन गरिएको बताए । उनले यसैअनुरूप पूर्व तयारी र प्रतिकार्य योजना बनाउन जरुरी रहेको बताए ।

जल तथा मौसम विज्ञान विभागकी उपमहानिर्देशक डा. अर्चना श्रेष्ठले यो वर्ष पनि सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको भन्दै बेलैमा सचेत रहन आग्रह गरिन् । उनले मौसम तथा बाढी पूर्वानुमानको सूचना दिने आ–आफ्नो क्षेत्रको कार्ययोजना बनाउन पनि सम्बन्धित निकायसँग आग्रह गरिन् । राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्