
मेडिटेरियन परिकार विश्वभरकै स्वस्थबर्द्धक खाना मानिन्छ । सबैजसो खानाका परिकारका लागि चाहिने सामग्री ताजा मात्र प्रयोग गर्नु र पकाएर भण्डारण नगरिने हुँदा यी खालका खानाका परिकार धेरै देशमा लोकप्रियता बढ्दै जानु हो ।
भूमध्य सागरको आसपासमा रहेका सम्पूर्ण देशले यो खालका परिकारको आविष्कार गरेको मानिएको छ । जैतुनको तेल र कागतीको रस पर्याप्त मात्रमा प्रयोग गरिने यी देशको खानाको स्वाद र ताजापन नै भिन्न छ ।
तारेको खाना र घ्यू–तेल कम खान रुचाउने यी देशको खानाको रेसिपी सामान्य देखिएता पनि स्वादमा विविधता छ । धेरै देशले अँगाल्न थालेको मेडिटेरियन परिकार भारतमा धेरै सेलिब्रेटीले नियमित सेवन गर्छन् । यो खालको खाना शरीर फिटनेस राख्न धेरै सहयोगीसिद्ध मानिएको छ ।
यहाँ हामीले चर्चा गर्न लागेको परिकार पनि निकै स्वस्थबर्द्धक मेडिटेरियन खाना पिता पकेटको हो । जुन नेपालमा पनि पछिल्लो समय निकै चर्चामा छ ।

पिता पकेट बनाउन चाहिने सामग्रीः पिता ब्रेड ४ पिस, जुलिएन काटिएको भेडे खुर्सानी, टमाटर, प्याज, काँक्रो, अनार दाना, सलाद पत्ता, चुकन्दर सबै मिसाएर २५० ग्राम, कागतीको रस ३ चिया चम्चा, जैतुनको तेल २ चिया चम्चा, ह्याङ्ग कर्ड २ चिया चम्चा, चप पास्र्ली, धनियाँ, पुदिना २ चिया चम्चा, तहिनीसस १ चिया चम्चा, मोलासिस सस १ चिया चम्चा, नून स्वाद अनुसार ।
पिता पकेट बनाउने विधिः पिता ब्रेडलाई बीचमा काटेर हाफ मुन बनाउने र फट्याएर एक साइडमा राख्ने । पिता पकेट बनाउन मैदा, इस्ट, सुगर, नून, पानी, दूध हालेर ओभन या तावामा सहजै बनाउन सकिन्छ, जुन पूर्णरूपले फुलेको हुन जरुरी हुन्छ । माथि दिएका सब्जी र सस मिसाएर पिता ओअकेटमा १–१ गरेर भर्ने र सिंगल बाइटका रूपमा सर्भ गर्ने । सब्जीजस्तै चिकन या बिफर बफको पनि पिता पकेट बनाएर सर्भ गर्न सकिन्छ । पिता पकेटमा चिकन या पनिर सोर्मा बनाएर पनि सहज रूपमा सर्भ गर्न सकिन्छ ।