३० जेठ २०८३, शनिबार
स्थानीय चुनाव

चुनावी रिपोर्टिङका क्रममा रेशम चौधरीको घरमा पुग्दा ...

चुनावी रिपोर्टिङका क्रममा रेशम चौधरीको घरमा पुग्दा ...
रेशम चौधरीकी आमा

टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका कारण ५ वर्षदेखि डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीलाई जेलबाट निकाल्नेलाई भोट दिने उनको परिवारले बताएको छ । 

२०७४ सालको संसदीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका निलम्बित सांसद रेशमलाई जसले जेलबाट निकाल्छ उसैलाई भोट दिने रेशमकी आमा सुर्पी चौधरी थरुनीले बताएकी छन् ।

लोकान्तरको टोली स्थलगत रिपोर्टिङ गर्ने क्रममा टीकापुरको जगतपुरस्थित चौधरीको निवास पुगेको छ । कैलालीको गर्मीमा अटो लिएर टीकापुरबाट १ घण्टाको यात्रामा पुगिने ग्रामीण बस्ती चहार्दै लोकान्तर टोली रेशमको घर पुगेर उनकी आमालाई भेटेको छ ।

नेकपा एमाले, नेपाली कांग्रेस लगायतका पार्टीहरू ‘आमा भोट दिनुहोला’ भन्दै आउने गरेका र छोरालाई जेलबाट निकाल्ने पार्टीलाई भोट दिन्छु भन्ने गरेको उनले बताइन् ।

रेशमकी आमा सुर्पीले लोकान्तरसँगको भेटमा भनिन्, ‘यस पटक त अरु कसैलाई भोट दिउँ जस्तो लागेकै छैन । घरको जेठोबाटो र आफूहरूको सहारा छोरालाई जेल पठाएका छन्, जसले रेमशलाई छुटाउँछु भन्छ उसैलाई भोट दिने हो ।’

‘छोराको नेतृत्वमा बनेको नागरिक उन्मुक्ति पार्टी छ भन्ने थाहा छ तर जसले रेशमलाई जेलबाट निकाल्छु भन्छ उसैलाई भोट दिने हो,’ उनले भनिन् ।

नागरिक उन्मुक्ति पार्टीले ढकिया चुनाव चिह्न लिएर प्रमुख राजनीतिक पार्टीसरह टीकापुरमा प्रचारप्रसार गरिरहेको छ । रेशमकी पत्नीको अध्यक्षतामा भर्खरै उदाएको नयाँ पार्टीको समेत टीकापुरमा चुनावी सरगर्मी तातेको छ । स्थानीय चौधरी र थारु समुदायसँग बढी भिजेको यो पार्टी अरु पार्टीको मत काटेरै यसपटक मेयर जित्दै दाउमा लागेको छ ।

सुर्पीले लोकान्तरसँग भनिन्, ‘चुनाव लागेसँगै विभिन्न पार्टी भोट माग्न आइरहेका छन् । यसपटक कसलाई भोट दिनेभन्दा पनि कसरी जेठो छोरा जेलबाट बाहिर निस्केला भन्नेमै चिन्ता छ ।’

सुर्पी चौधरीले थपिन्, ‘घर व्यवहार सबै उसैले धानेको थियो । ४ जना छोराहरूमा माइलो र साइलो काठमाडौंतिरै छन् । कान्छो भने घरतिर छ । उ पनि आफ्नो सुरमा काम गर्ने गरेकाले बुढेसकालमा बुढाबुढी मात्रै बसिरहेका छौं ।’

रेशमका बुवा लालवीर चौधरी भने दिनभर घरबाहिर निस्कन्छन् । सुर्पीले भनिन्, ‘चुनावी अभियानतिर पनि जान्छन् होला, कता जान्छन्, बिहान निस्केको व्यक्ति एकैपटक बेलुका आउनुहुन्छ ।’

चौधरीले गुनासो गर्दै भनिन्, ‘सन्तानकै शिक्षादीक्षाको लागि भएकै खेत बेच्दै पढाएँ । अहिले त्यही सन्तानले दुःख पाइरहेका छन् ।’ चौधरीले देवरका छोराछोरीदेखि आफ्नालाई शिक्षादीक्षा दिन आम्दानीको स्रोत नभएकाले जग्गा बेच्दै घरखर्च चलाउँदै गरेको पनि बताइन् । ‘परिवारका अरु व्यक्ति पढाइ सकेर कतै न कतै आवद्ध भएका छन्, आफ्नो छोराले काम गर्ने र परिवारका लागि योगदान गर्ने बेलामा उसको कमाइ खान पाइएन,’ उनले भनिन् ।

सुर्पीले लोकान्तर टोलीसँग गुनासो गर्दै भनिन्, ‘हाम्रो थारु समुदायमा जेठो छोराको नाममा देउता राखिएको हुन्छ । परिवारमा हर्ष हुँदा, नयाँ व्यक्ति जन्मिँदा पूजा गर्ने गरिन्छ । त्यस्तो पूजाका लागि जसको नाममा देउता राखिएको छ, सोही व्यक्ति चाहिन्छ । हाम्रो घरमा पनि पूजा लगाउने भनेको अरुले गर्न नहुने । देउता राख्ने व्यक्ति चाहिँ आउन नपाउने हुँदा पूजा नै गर्न पाइएको छैन ।’

रेशम चाैधरीको घर

टीकापुरमा पहिलो पटक एफएम खोल्ने नै उनै रेशम भएको उनकी आमा सुर्पीले बताइन् । ‘शुरूका दिनमा संघर्ष गर्दै बिस्तारै स्थापित हुँदै गरेको छोराको व्यवसाय थियो । बुहारीको दाइ बितेको खबर आएर काठमाडौं गएको बेला दुस्मन लागेर मेरो छोरालाई फसाए,’ सुर्पीले गहभरी आँसु पार्दै भनिन्, ‘हामी सानो परिवारको र बाहिर तिरको चासो नहुने व्यक्ति भएकाले अरु विषयमा त्यति चासो लाग्दैन ।’

‘चुनाव लागेकाले एमाले, कांग्रेस, स्वतन्त्र उम्मेदवार सहितका व्यक्तिहरू आउँछन्, म त राजनीति धेरै बुझ्दिनँ, कसैले यहीँ भोट हाल्नुपर्छ भनेर पनि भनेका छैनन्,’ उनले भनिन् ।

रेशमकी पत्नी र छोरा टीकापुरमा रहेको घरमा बस्दै आएका छन् । अहिले टीकापुरमा उनको नयाँ पार्टीले अध्यक्ष सहितको प्यानल उठाएको छ भने कैलालीका सबै स्थानीय तहमा उनको पार्टी चुनावमा होमिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्