
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस एक्लैले बहुमत क्षेत्रमा जित हासिल गर्ने दाबी गरेका छन् ।
सहयोगी दलसमेत गरेर ७५ प्रतिशत क्षेत्रमा जित हासिल गर्ने उनको दाबी छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमवार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता महतले आन्तरिक मूल्यांकनको आधारमा बहुमत स्थानमा जित्ने दाबी गरेका हुन् । ‘कांग्रेसले मात्र एक्लै बहुमत ठाउँमा चुनाव जित्छौं, सहयोगी दलसहित ७५ प्रतिशत क्षेत्रमा चुनाव जित्छौँ,’ महतले भने ।
कांग्रेस प्रवक्ता महतले तालमेल भएका ठाउँमा गठबन्धन दलप्रति इमान्दार भएर काम गर्ने बताए । उनले देशको लागि जिम्मेवार नेतृत्व खोजेकोले कांग्रेसले चुनाव जित्ने उनको तर्क छ ।
‘उरन्ठ्याउलो कुरा गर्ने घरमूली भयो भने के हुन्छ ? देश पनि ठूलो परिवार हो, देशको नेतृत्व पनि जिम्मेवार पार्टीले गर्नुपर्छ,’ उनले भने, ‘चारवटा सहयोगी दलले विश्वास गरेर कांग्रेसको नेतृत्वमा सरकार बनेको हो, जनताले कांग्रेस रोज्छन् ।’