०२ साउन २०८३, शनिबार
स्थानीय चुनाव

मधेशको 'अघोषित राजधानी' बर्दिवासमा रोचक चुनावी भिडन्त- जोगिएला माओवादीको साख ?

बैशाख २७, २०७९
मधेशको 'अघोषित राजधानी' बर्दिवासमा रोचक चुनावी भिडन्त- जोगिएला माओवादीको साख ?

नेकपा माओवादीको ‘गढ’ भनेर चिनिने महोत्तरीको बर्दिवास नगरपालिकाको मेयरका लागि बहुपक्षीय प्रतिष्पर्धा देखिएको छ ।

प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका अतिरिक्त जेब्रा छापवाला स्वतन्त्र उम्मेदवारले पनि भड्किलो प्रचार गरेका छन् ।

प्रचारप्रसारको हिसाबले मेयरका अन्य तीन उम्मेदवारले भन्दा कांग्रेसका तर्फबाट बागी उठेका प्रह्लाद क्षेत्रीले बढी मेहनत गरेको स्थानीय बताउँछन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले चुनाव जितेको बर्दिवासमा यसपटक माओवादीबाट राजु खड्का चुनावी मैदानमा छन् ।

नेपाली कांग्रेसबाट चिरञ्जीवी हमाल र एमालेबाट टेकबहादुर बलम्पाकी चुनावी मैदानमा छन् । 

स्वतन्त्र उठेका क्षेत्री यसअघि मेयरमा उठेर दोस्रो पोजिसन रहेका थिए । पछि उनी प्रदेश सभा निर्वाचनमा उठेका थिए । कांग्रेसले टिकट नदिएपछि उनले बागी उठेर आक्रामक प्रचारप्रसार गरेका हुन् । 

पछिल्ला तीन निर्वाचनमा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल बर्दिवास समेटिएको निर्वाचन क्षेत्रबाट लगातार जीत हात पार्दै आएका छन् ।

बर्दिवास माओवादीको गढ भएकाले यसपटक पनि सहज जीत हासिल पार्ने माओवादी नेताहरू दाबी गर्छन् ।​

राम्रो काम गरेकाले हामीलाई दोहोर्‍याउँछन्ः राजु खड्का

राजु खड्का ।

बर्दिवासको मेयरका लागि माओवादी केन्द्रका उम्मेदवार राजु खड्काले यसअघिको कार्यकालमा राम्रो काम गरेका कारण यसपटक पनि माओवादीले जित्ने दाबी गरे । 

‘हिजो हामी जनकपुर र जलेश्वरतिर फर्किन्थ्यौं, अहिले वीरगञ्जसम्मका मानिसहरू माथितिर आकर्षित भएका छन् । यो हामीले गरेको विकासले गर्दा हो,’ खड्काले भने । 

यही विषयलाई नै एजेन्डा बनाएर माओवादी चुनावमा गएको छ । ‘विगतमा गरेका राम्रा कामलाई पूर्णता दिने र नयाँ काम नयाँ ठाउँबाट थालनी गर्न हामीले मतदातालाई कन्भिन्स गरेका छौं,’ खड्काले भने । 

माओवादीको बलियो संगठन र जनाधार, विगतको प्रतिबद्धता पूरा गरेको र भएका उम्मेदवारमध्ये जनताको नजरमा परेकाले यसपटक पनि चुनाव जित्ने उनले दाबी गरे । नेपाली कांग्रेसका तर्फबाट बागी उम्मेदवार रहेको तथा विगतमा तेस्रो स्थानमा रहेको एमाले विभाजन भएकाले पनि आफूहरूले सहज चुनाव जित्न सक्ने आकलन माओवादीको छ । 

बर्दिवासवासीले माओवादीको विकल्प चाहिरहेका छन् : टेक बलम्पाकी

टेक बलम्पाकी ।

बर्दिवासको मेयरका प्रत्यासी नेकपा एमाले उम्मेदवार टेक बलम्पाकी बर्दिवासवासीले यसपटक माओवादीको विकल्प खोजेकाले आफूहरूको जीत सुनिश्चित रहेको दाबी गर्छन् । 

यसअघि बर्दिवासमा एमाले तेस्रो पोजिसनमा रहेपनि यसपटक एमालेले चमत्कार गर्ने उनले दाबी गरे । बलम्पाकी माओवादी पृष्ठभूमिका नेता हुन्, पछि एमालेमा गएका हुन् । 

‘यो भन्दा अगाडिको ५ वर्षे कार्यकालबाट माओवादीसँग जनता रुष्ट छन्, काम लिएर गएका मान्छेसँग पनि राम्रो व्यवहार नगरेको र विकास बजेट पनि आफ्नो मान्छेको क्षेत्रमा लगेको भनेर मतदाता असन्तुष्ट छन्,’ बलम्पाकीले भने, ‘आर्थिक रूपमा पारदर्शी नभएको गुनासो समेत रहेकाले यसपटक माओवादीले जित्दैन, हामीले मेयर जित्छौं ।’ 

एमाले उम्मेदवार बलम्पाकी नगरपालिकाको पूर्वाधार विकास र सामाजिक न्यायको कुरा आफ्नो एजेन्डा रहेको बताउँछन् । 

‘हिजोको स्थानीय सरकारले के गर्‍यो भन्ने कुरा जनताले देखिराखेका छन् । अहिले बाटोघाटोको कुरा गरेका छन्, सामाजिक न्यायको प्रशासनिक कुरा छन्,’ उनले भने, ‘गर्भवती महिलाका लागि एम्बुलेन्सदेखि जनतालाई आधारभूत समस्या सम्बोधनमा लाग्ने छु ।’ 

बलम्पाकी नगरपालिकाको दीर्घकालीन विकासका लागि राजमार्गदेखि तलको क्षेत्रलाई कृषिको हब बनाउने, नगरपालिकाका क्षेत्रमा ढल निकासको काम तत्कालै शुरू गरिहाल्ने र वडा कार्यालयहरूलाई पिचले जोड्ने आफ्नो एजेन्डा रहेको बताउँछन् । 

यसपटक चिरञ्जीवीलाई जिताउनुपर्छ भन्ने पाएको छु : हमाल

चिरञ्जीवी हमाल ।

नेपाली कांग्रेसका तर्फबाट मेयरका प्रत्यासी चिरञ्जीवी हमाल बर्दिवासवासीले यसपटक कांग्रेसलाई जिताउन चाहेको दाबी गर्छन् । बर्दिवासको विकासमा गरेको योगदानका कारण आफूले जित्ने उनले दाबी गरे । 

‘बर्दिवासमा बस्ती बसाल्न मेरो पिताजीले काम शुरू गर्नुभएको थियो । २००८ सालदेखि नै हाम्रो परिवार बर्दिवासको विकासका लागि लागिपरेका कारण दलमा आस्था राख्ने बाहेकको भोट पनि मैले पाउँछु,’ हमालले भने । नीरबहादुर हमालले जंगल फडानी गरेर बर्दिवासमा बसोबास शुरू गरेका थिए । 

बर्दिवासको अव्यवस्थित बस्ती सल्टाउने आफ्नो मुख्य चुनावी एजेण्डा रहेको उनले बताए । 

‘यहाँको विकास र बर्दिवासलाई नमूना शहर बनाउने मेरो चुनावी नारा छ, सुकुम्वासी समस्या समाधान गरी अव्यवस्थित बसोबास सल्टाउने मेरो एजेन्डा छ,’ हमालले भने ।

कांग्रेसका तर्फबाट बागी उम्मेदवार उठे पनि त्यसले आफ्नो जीतमा फरक नपर्ने उनले दाबी गरे । 

‘बागी उम्मेदवारले पार्टीलाई कुनै असर गरेको छैन, कांग्रेसका सबै कार्यकर्ता हामीसँगै छन्,’ हमालले भने ।

के भन्छन् स्थानीय र मतदाता ?

काठमाडौंमा शिक्षण पेशामा आबद्ध बर्दिवासका स्थानीय मोहन केसी प्रदेश २ को अघोषित राजधानी रहेको बर्दिवास क्षेत्रको विकासका लागि योग्य र सक्षम मेयर नगरवासीले खोजिरहेको बताउँछन् ।

‘प्रदेश २ को सबैभन्दा सुरक्षित क्षेत्र र अघोषित राजधानी बर्दिवास हो,’ केसीले भने ।

मोहन केसी ।

बर्दिवासको विकासमा प्रतिनिधि सभा सदस्य गिरिराजमणि पोखरेलको योगदानका कारण अहिले पनि माओवादी बलियो रहेको केसीको दाबी छ । 

‘मुख्यगरी यहाँ माओवादी र कांग्रेसको प्रतिष्पर्धा हो । माओवादीको बलियो पकड भएको क्षेत्र र जनताले रुचाएका उम्मेदवार अगाडि सारेकाले माओवादीको सम्भावना बलियो छ,’ केसीले भने । 

बर्दिवास १ का कुमार खड्का माओवादी र स्वतन्त्रबीच मुख्य प्रतिस्पर्धा हुने ठान्छन् ।

‘माओवादी, कांग्रेस र एमालेका अतिरिक्त स्वतन्त्र उम्मेदवार पनि यहाँ बलियो छन्, अहिले कसले बाजी मार्छ भन्न सक्ने अवस्था छैन,’ खड्काले भने । 

कुमार खड्का ।

यसअघिको चुनावमा १ हजार १७ मतान्तरले पराजित भएका कांग्रेसका प्रह्लाद क्षेत्रीले पुनः टिकट नपाएको कुराले कांग्रेसमा असन्तुष्टि रहेको नेताहरू बताउँछन् । 

जेब्रा चिह्नवाला स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्रीको समर्थनमा हिँडेका विन्देश्वर महतो विकास प्रेमी नेता भएकाले क्षेत्रीले जित्ने दाबी गर्छन् । ‘यहाँ देख्नु भएन, जताततै जेब्रा देखिन्छ, उहाँ लोकप्रिय उम्मेदवार हो,’ महतोले भने । 

विन्देश्वर महतो ।

बर्दिवासमा भेटिएका रमेश थापाचाहिँ नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका चिरञ्जीवी हमाल पनि बलियो उम्मेदवार रहेको बताउँछन् । 

‘उहाँको बुवाले यहाँ बस्ती विकास गर्नु भएकाले हमालप्रति सहानुभूति राख्नेहरू पनि छन्,’ थापाले भने । 

यस्तो थियो विगतको नतिजा

२०७४ सालको स्थानीय निर्वाचनमा बर्दिवास नगरपालिकामा माओवादी केन्द्र विजयी भएको थियो । 

माओवादीका विदुर कार्कीले ९ हजार १ सय ८७ मतसहित विजयी हुँदा कांग्रेसका प्रल्हाद क्षेत्रीले ८ हजार १ सय ७० मत प्राप्त गरेका थिए । 

स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीको प्रचार अभियान ।

उपमेयरमा माओवादीकै कृष्णमाया गौतम ८ हजार ८ सय ३५ मतसहित विजयी हुँदा कांग्रेसकी तारा महतोले ७ हजार २२ मत प्राप्त गरेकी थिइन् । 

बर्दिवासमा रहेर लामो समय वामपन्थी राजनीति गरेका गोपी भण्डारी अहिले पनि माओवादी नै बलियो रहेको दाबी गर्छन् । विगतमा १ हजार मतान्तरले जितेको ठाउँमा अहिले पनि माओवादीको अग्रता कायम रहेको दाबी गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्