०६ साउन २०८३, बुधबार

पाल्पामा अन्य पालिकाको मतगणना सकिँदा स्थगित भएको रम्भामा अझै शुरू भएन

पाल्पामा अन्य पालिकाको मतगणना सकिँदा स्थगित भएको रम्भामा अझै शुरू भएन

पाल्पाका १० मध्ये ९ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक हुँदा एक स्थानीय तहको मतगणना भने स्थगित छ । 

रम्भा गाउँपालिकामा शनिवारदेखि स्थगित मतगणना बुधवार दिउँसोसम्म पनि शुरू हुन नसकेको हो । 

रम्भा–५ ताहुँको गतगणनाको क्रममा ७४ फर्जी मत भेटिएपछि गणना कार्य स्थगित भएको थियो । सत्तारुढ गठबन्धनका विभिन्न दलहरूले विज्ञप्ति जारी गर्दै सार्वजनिक नतिजाप्रति असहमति जनाउँदै पुनः मतदानको माग गरेका छन् । 

मतगणनास्थलमा गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो । स्थगित गतगणना सुचारु गर्न प्रयास गरिएपछि सफल नभएको रम्भा गाउँपालिकाका निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए । 

उनका अनुसार जिल्लास्तरीय, पालिकास्तरीय निर्वाचन संयन्त्रसँगको छलफलमा पुनः मतगणना गर्ने सहमति भए पनि गठबन्धन दलका प्रतिनिधिले पुनः मतदानको माग राख्दा निष्कर्ष निस्कन नसकेको हो । 

निर्वाचन आयोगले पनि पुनः गणना गर्न भनेको भण्डारीले बताए । 

मतगणना शुरू गर्ने विषयमा दलहरूसँग छलफल भइरहेको उनले बताए । 

‘गठबन्धन दलका प्रतिनिधिहरूले पालिकास्तरीय कर्मचारीबाट भएको गणना मान्य हुने छैन भनेको हुँदा बाहिरका कर्मचारी राख्ने तयारी भएको छ,’ रम्भाका निर्वाचन अधिकृत भण्डारीले भने, ‘तर गठबन्धन दलका प्रतिनिधिबाट भने पुनः मतदानकै माग छ । अब आयोगले जे निर्णय गर्छ त्यसैको प्रतीक्षामा छौं ।’

salt training

कमेन्ट गर्नुहोस्