सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं १० मा कांग्रेस पार्टीको विरासत भत्काउने गठबन्धन (राप्रपा, नेकपा एमाले, माओवादी केन्द्र) को दाउ असफल भएको छ ।
यसपटकको स्थानीय चुनावमा पनि कांग्रेसले सहजै जित्ने प्रतिद्वन्द्वी पार्टीहरूको अनुमान थियो । सोही अनुरुप राप्रपा, नेकपा एमाले र माओवादी केन्द्रका नेताले कांग्रेसको उम्मेदवारलाई पराजित गर्न तीन दलीय गठबन्धन बनाएका थिए ।
राप्रपाका साझा उम्मेदवार टेकबहादुर तामाङलाई समर्थन गर्ने गरी ती दलहरुले वडा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी नै दर्ता गराएनन् । यसमा नेकपा एकीकृत समाजवादीको उम्मेदवारले पनि गठबन्धनलाई भित्री रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो ।
समग्रमा चार दल मिलेर पनि नेपाली कांग्रेसका उम्मेदवार अमृत खनाललाई पराजित गर्न गठबन्धन असफल भएको छ । खनालले एकसय मतान्तरले राप्रपाका निकटतम प्रतिद्वन्द्वी टेकबहादुर तामाङलाई पराजित गरेका हुन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र नेकपा माओवादीको समर्थन सहितको गठबन्धनको साझा उम्मेदवार टेकबहादुर तामाङले जम्मा ९ सय ४८ मत पाए । कांग्रेसबाट एक्लो उम्मेदवार बनेका खनालले भने एक हजार ४८ मत पाए ।
२०७४ को स्थानीय तहको चुनावमा पनि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भक्तबहादुर खड्काले निकटतम प्रतिद्वन्द्वी टेकबहादुर तामाङलाई एकसय १४ मतान्तरले पराजित गरेका थिए । भक्त बहादुरले छ सय ५९ मत प्राप्त गरेका थिए भने टेकबहादुर तामाङले पाँच सय ४५ मत प्राप्त गरेका थिए ।
राप्रपाबाट उम्मेदवार बनेका टेकबहादुर तामाङ यो सहित दोस्रो पटक वडा अध्यक्षमा पराजित भएका हुन् ।
भाइरल उम्मेदवार बने वडा अध्यक्ष
मतदातालाई खुट्टा ढोगेर पैसा बाडेको आरोप लागेका सिन्धुपाल्चोक मेलम्चीका भाइरल उम्मेदवार अमृत खनाल वडा अध्यक्ष निर्वाचित भएका हुन् ।
मेलम्ची नगरपालिका वडा नं १० मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका खनालले एकसय मतान्तरले निकटतम प्रतिद्वन्द्वी टेकबहादुर तामाङलाई पराजित गरेका हुन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपासहितको तीन दलीय गठबन्धनको साझा उम्मेदवार टेकबहादुर तामाङले जम्मा ९ सय ४८ मत पाएका थिए । यसमा नेकपा एकीकृत समाजवादीले पनि तीन दलीय गठबन्धनलाई मौन रुपमा समर्थन गरेको थियो । त्यस्तै नेपाली कांग्रेसबाट विजयी बनेका खनालले एक हजार ४८ मत प्राप्त गरेका थिए ।
स्थानीय चुनाव नजिकिदै गर्दा घरदैलो अभियानमा जाने क्रममा वडा अध्यक्ष खनालले आफ्नो फुपूको खुट्टा ढोगेर दक्षिणा दिदा प्रतिद्वन्द्वीहरुले मतदातालाई पैसा बाडेको आरोप लगाएर भाइरल बनाएका थिए । त्यसपछि तत्कालै खनालले उक्त विषय गलत भएको प्रष्टिकरण दिदैँ फुपू फरक वडाको मतदाता रहेको प्रमाणित गरेक थिए ।
उम्मेदवार नै नभएको पार्टीलाई भोट
मेलम्ची – १०, मा गठबन्धनको रुपमा राप्रपाका टेकबहादुर तामाङ उम्मेदवार बनेपनि उम्मेदवार नै नभएको गठबन्धन पार्टीले मत प्राप्त गरेको छ ।
१० नं वडामा नेकपा एमाले, माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (मक्सवादी, लेनिनवादी), मंगोल नेशनल अर्गनाइजेसनको वडा अध्यक्षको लागि उम्मेदवार नै छैनन् ।
उम्मेदवार नै नभएको नेकपा एमालेमा वडा अध्यक्षको लागि आठ मत प्राप्त भयो । त्यस्तै माओवादी केन्द्रलाई ३८ मत प्राप्त भयो, नेपाल कम्युनिष्ट पार्टी (मक्सवादी, लेलिनवादी) लाई दुई मत प्राप्त भयो, मंगोल नेसनल अर्गनाइजेसनलाई एक मत प्राप्त भएको थियो ।
उम्मेदवार रहेपनि गठबन्धनलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले १६ मत प्राप्त गर्यो । जनता समाजवादी पार्टीले छ मत प्राप्त गर्यो ।
मेलम्ची नगरपालिकाको निर्वाचन अधिकृत निमा घिमिरेले यस वडामा जम्मा १४ मत बदर भएको जानकारी दिइन् ।