२७ असार २०८३, शनिबार

राष्ट्रिय सभागृहमा दलका प्रतिनिधिको हविगतः आफ्नाे चिन्हभन्दा लाैराेमा बढी चासाे

जेठ ४, २०७९
राष्ट्रिय सभागृहमा दलका प्रतिनिधिको हविगतः आफ्नाे चिन्हभन्दा लाैराेमा बढी चासाे

काठमाडौं महानरपालिकाको मतगणना ५ दिनदेखि राष्ट्रिय सभा गृहमा जारी छ । मतगणना शुरू भएदेखि नै स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन)को दबदबा अहिले पनि उस्तै छ ।

शुरूदेखि नै अगाडि लागेका बालेनले ४७ हजार मत गनिसक्दा १८ हजार मत कटाइसेका छन् । दोस्रोमा रहेका नेकपा एमालेका केशव स्थापितले ९ हजार ५ सय र नेपाली काँग्रेसकी सिर्जना सिंहले ८ हजार ५ सय मत कटाएकी छन् ।

स्थापित र सिंहले पाएको कुल मत जोड्दा पनि बालेन अगाडि हुन थालिसकेका छन् । उनको यो रफ्तार रोकिने छाँटकाँट देखिँदैन् । अहिले काठमाडौंका भित्री र बाहिरी दुवै बस्तीकाे मतगणना भइरहेकाे छ । दलका प्रतिनिधिहरू भित्री बस्तीमा पुगेपछि आफ्ना उम्मेदवारको भोट बढ्ने अपेक्षा गरिरहेका छन् ।

काठमाडौंको वडा नम्बर १, २, ३ र ५ को मत परिणाम आएसकेको छ । परिणाम आएको वडाध्यक्षमा सबैमा एमालेका उम्मेदवारहरूले जितेका छन् । तर, त्यही क्षेत्रमा मेयरको उम्मेदवारमा भने बालेन धेरै अगाडि छन् । 
अहिले वडा नम्बर ६, ७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाको मतगणना जारी छ । ८ देखि २७ नम्बर वडाको मत गणना हुन बाँकी छ । त्यसलाई दलका नेताहरूले आफ्नो कोर क्षेत्र भएको दावी गरिरहेका छन् ।

मतगणना स्थलमा सबै दलका उम्मेदवारका प्रतिनिधिहरूको मुख मलिन छ । प्रत्येक २ भोट गन्दा एउटा लौरोमा स्वस्तिक छाप लागेकै छ । त्यो भन्दा पनि प्रमुख पदमा लौरो र अन्य पदमा पार्टीका उम्मेदवारलाई परेको मतले दलका प्रतिनिधिलाई तनाव थपिरहेकाे छ ।

‘लौरो भन्दा पनि अरु केही सुनिदैन त । प्रमुखमा भोट गतिलै काटेछ,’ वडा नम्बर ७ काे गणनामा बसेका दलका प्रतिनिधिले एक आपसमा काने खुशी गर्दै थिए । ‘कति लौरोमा हालेका हुन् हाम्राले पनि अचम्मै पारे,’ अर्का प्रतिनिधिले भन्दै थिए ।

मतगणना स्थलमा एमालेका प्रतिनिधि मलिन अनुहारमा देखिन्थे । पहिलो भोट लौरो दोस्रोदेखि सबै सूर्य हुँदा उनीहरूको नाक खुम्चिन्थ्यो । कांग्रेसका प्रतिनिधि अझ खिन्न देखिन्थे । पहिलो लौरो दोस्रो सूर्य र तेस्रोदेखि सबै रुख आउँदा उनीहरूको अनुहारमा मलिनता छचल्किन्थ्याे ।

दलका प्रतिनिधिहरू मतगणनास्थल बाहिर पनि उत्तिकै खिन्न देखिन्छन्। ‘लौरोले सबै बिताए छ । भोट मज्जैले काटेछ,’ एक आपसमा  कुराकानी हुने गरेका छन् ।

बालेनका समर्थक भने सभागृह बाहिर नतिजाको व्यग्र प्रतीक्षामा बसिरेका छन् । भित्र बालेनलाई भोटको बर्षा भइरहँदा बाहिर रहेका समर्थकले कति भोट आयो भन्दै आफ्नो मोबाइलको स्क्रीन स्क्रोल गरिरहेका हुन्छ्न् ।

२१ औं शताब्दीमा आइपुग्दा पनि नतिजाको लागि मतगणनास्थल बाहिर बसेर कुर्नु परेको नुवाकोटका कृष्ण भण्डारीले बताए । 'विदेशमा निर्वाचनको मत परिणाम १ दिनमै आउँछ । नेपालमा पनि त्यस्तै प्रणाली लागू हुनुपर्छ', भण्डारीले भने, ‘अहिलेको जमानामा पनि बाहिर बसेर कुर्नु परेको छ त्यो पनि मतपरिणाम अनलाइनमा हेरेर थाहा पाउनु पर्छ ।’

देशमा दलका नेताहरूले राजनीतिलाई पेशा बनाएकाले विकृति मौलाएको उनकाे भनाइ छ । त्यसलाई चिर्नका लागि युवा आउनु आवश्यक भएकाले समर्थन गर्न आएको भण्डारीले बताए ।

‘नेताले काम नगरेर दुःख दिए । अब युवा आएर देश बनाउनुपर्छ र हामी जस्ता युवालाई विदेश जान नपर्ने व्यवस्थाको शुरुआत हुनुपर्छ । त्यसैले बालेनलाई सर्पोट गर्न आएको हुँ,’ कोरियाबाट भर्खर फर्केका भण्डारीले भने ।
स्याङ्जा चापाखर्कका दिवस गैरे पनि युवा जोश भएका बालेनले काठमाडौंमा केही नयाँ काम गर्न सक्छन् भन्ने लागेर समर्थनमा आएको बताए ।

बालेनले जिते भने नेताहरूले आफूले गरेको गल्तीको महसुस हुन्छ । त्यसपछि आगामी निर्वाचनमा युवाहरूले भाग लिन उत्साहित हुने पनि उनको बुझाइ छ ।

‘बालेनले युवाहरू आउनुपर्छ भन्ने सन्देश पनि दिन्छन् । त्यसले गर्दा बूढा, भ्रष्टचार गरेर खाना पल्केका नेताहरू सुध्रिन्छन् कि भन्ने लाग्छ,’ गैरेले लोकान्तरसँग भने ।

'एउटा–एउटा काल खण्डमा नेताहरूले केही गर्छन् कि भनेर भोट दिँदै जिताउँदै आएकै हो । अहिलेसम्म पनि देशमा परिवर्तन हुन नसकेकाे र महानगरबाट युवाले देश हाँक्ने अवस्था बनाेस भनेर युवालाई समर्थन गर्न आएको हुँ',  पाल्पा रामपुरका महेन्द्र भण्डारीले भने ।

‘१० औं दलका सयौं नेताहरूलाई जितायौंं हामीले के पायौं खै ? सबैले आफ्नो खल्ति भर्ने भन्दा केही गरेनन्,’ भण्डारीले भने, ‘बालेनले केही गर्छन् कि भन्ने आशा गरेका छौं ।’ बालेनलाई काम गर्न नदिएको खण्डमा युवाहरूले अभियान नै चलाएर काम गराउने उनको दावी छ ।

‘बालेनले पक्कै जित्छन्, जितेर कसैले काम गर्न दिएनन् भने हामी युवाहरू हल्केलामा दही जमाएर बसेका छैनौ, खबरदारी गर्न अघि सर्छौं,’ भण्डारीले लोकान्तरसँगको कुराकानीमा भने, ‘बालेनको जितले युवाहरू नयाँ जोश लिएर आएको सन्देश जानेछ ।’ युवाहरू देश निमार्णको लागि बालेन पहिलो खुड्किलो भएकाले आगामी निर्वाचनमा अरू युवाहरू अगाडि आउने उनको विश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्